
दीननाथ बराल,
पोखरा २८, कार्तिक,
कठिन परिस्थिति तथा विपन्न परिवारका बालकहरूलाई निःशुल्क आवासीय सुविधासहित फुटबल प्रशिक्षण प्रदान गर्दै आएको सहारा क्लब पोखराले तिहारको अवसरमा आयोजना गरेको देउसी–भैलो कार्यक्रमबाट ११ लाख ६८ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ । क्लबले सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरेको देउसी–भैलो कार्यक्रम २०८३ बाट कुल ११ लाख ६८ हजार ६१३ रुपैयाँ संकलन भएको क्लबले पोखराक्लिकलाई जनाएको छ ।

एकेडेमीमा आश्रित बालकहरूको आवास, भोजन, शिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षणलगायत एकेडेमीको नियमित सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुर्याउने लक्ष्यसहित देउसी–भैलो कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनु भयो । स्थापनाकालदेखि नै क्लवले देउसी–भैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले सहारा एकेडेमीमा रहेका बालकहरूको फुटबल प्रशिक्षण तथा समग्र व्यवस्थापनका लागि कार्यक्रम आयोजना हुँदै आएको बताउनुभयो। उहाँका अनुसार देउसी–भैलोबाट प्राप्त सहयोगले विपन्न तथा कठिन परिस्थितिमा रहेका बालकहरूको फुटबल प्रतिभा प्रस्फुटन गराउन र उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। क्लबका सहकोषाध्यक्ष विष्णु गुरुङको संयोजकत्वमा देउसी भैलो कार्यक्रम भएको हो ।

क्लबका अध्यक्ष थापाले कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था, व्यावसायिक प्रतिष्ठान तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। उहाँले क्लबका पूर्वअध्यक्ष, मानार्थ सदस्य, सल्लाहकार, आजीवन, साधारण तथा जुनियर सदस्य, विदेशमा रहेका क्लबका सदस्य एवं शुभेच्छुक र कलाकारहरूले पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। विशेषगरी आफ्नो अमूल्य समय, श्रम, कला, संस्कृति र सिर्जनामार्फत देउसी–भैलो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कलाकार तथा व्यक्तित्वहरूप्रति क्लबले विशेष धन्यवाद व्यक्त गरेको छ। कार्यक्रमबाट संकलित रकम सहारा एकेडेमीमा रहेका बालकहरूको आवास, भोजन, शिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण तथा एकेडेमीको सञ्चालन र व्यवस्थापनमा खर्च गरिने क्लबले जनाएको छ।





