पोखरामा यस वर्ष पनि दुई करोडको फूलको कारोबार हुने, पानी परेकाले उत्पादनमा कमी आउन सक्नेमा व्यवसायी चिन्तित

-


     पोखरा क्लिक     
     कार्तिक १५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १५ कात्तिक,

तिहारलाई लक्षित गरी पोखरा क्षेत्रमा यस वर्ष पनि करिब दुई करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार हुने भएको छ । पोखरामा व्यावसायिक रूपमा फूलखेती विस्तार हुँदै गएसँगै स्थानीय उत्पादनले बजारको ठूलो हिस्सा ओगट्न थाले पनि पछिल्ला दिनमा परेको वर्षाका कारण फूल उत्पादनमा केही कमी आउन सक्ने भन्दै व्यवसायीहरू चिन्तित हुनु भएको हो ।

पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार यस वर्ष पोखरा क्षेत्रमा करिब दुई सय रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा फूलखेती गरिएको छ । तिहार पर्वलाई लक्षित गरी यस वर्ष पनि दुई करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार हुने अनुमान गरिएको उहाँले बताउनुभयो । स्थानीय फूल उत्पादनलाई प्रोत्साहन गर्दै पोखरालाई फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले महानगरपालिकाले यस वर्ष पनि फूलखेती गर्ने किसानलाई बीउ तथा मल्चिङ (प्लास्टिक) खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको कडरियाले पोखराक्लिकलाई जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा क्षेत्रमा हाल १६५ जना किसान व्यावसायिक रूपमा फूलखेतीमा संलग्न छन् । यस वर्ष पोखरामा फूल उत्पादन समग्रमा राम्रो भए पनि केही दिनदेखि लगातार परेको पानीले खुला आकाशमुनि लगाइएका फूलमा असर पर्न सक्ने उहाँले बताउनुभयो ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) कास्कीका अध्यक्ष श्रीराम सुवेदीले पनि यस वर्ष पोखरा क्षेत्रमा कम्तीमा दुई करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार हुने अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार फ्यानमा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायीसमेत व्यावसायिक फूलखेतीमा संलग्न छन् । व्यवसायीहरूले न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ६ लाख रुपैयाँसम्म आम्दानी हुने गरी फूलखेती गर्दै आएका छन् । पोखरामा उत्पादित सयपत्री, मखमलीलगायतका फूल तथा मालाको बिक्रीलाई थप व्यवस्थित बनाउन र उपभोक्तालाई सहज रूपमा स्थानीय फूल उपलब्ध गराउने उद्देश्यले यस वर्ष पनि पोखरा रंगशालाको पूर्वोत्तर भागमा यही कात्तिक १८ देखि २३ गतेसम्म पुष्प व्यापार मेला आयोजना हुने अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । मेलामा विभिन्न जातका फूल तथा तयार गरिएका मालाहरू बिक्रीका लागि राखिने उहाँले बताउनुभयो ।

त्यस्तै, फ्यानका पूर्वअध्यक्ष एवं गोल्डेन नर्सरीका सञ्चालक दयाकुमार द्वाले पनि यस वर्ष पोखरामा फूल उत्पादन राम्रो भए पनि पछिल्लो समय परेको पानीले उत्पादनमा केही कमी आउन सक्ने बताउनुभयो । विशेषगरी प्लास्टिकको छानाभित्र लगाइएका फूलमा कम असर परे पनि खुला आकाशमुनि लगाइएका फूल वर्षाका कारण प्रभावित भएको उहाँको भनाइ छ । उहाँका अनुसार कुनै समय फूलका लागि भारतमा निर्भर हुनुपर्ने पोखरा क्षेत्र पछिल्ला केही वर्षयता स्थानीय उत्पादनमा आत्मनिर्भरतातर्फ अघि बढेको छ । हाल पोखराको फूल बजारमा करिब ७० प्रतिशत स्थानीय उत्पादनले हिस्सा ओगट्ने गरेको छ भने बाँकी ३० प्रतिशत फूल छिमेकी जिल्ला तथा पालिकाबाट आउने गरेको छ । पछिल्लो समय विदेशबाट फूल आयात गर्नुपर्ने अवस्था निकै कम हुँदै गएको उहाँले बताउनुभयो । तिहारमा सयपत्री र मखमली फूलको माग उच्च हुने भएकाले उत्पादनमा सामान्य कमी आउँदा पनि बजारमा माग र आपूर्तिको सन्तुलन प्रभावित हुन सक्ने व्यवसायीहरूको भनाइ छ ।



This will close in 20 seconds