
दीननाथ बराल,
पोखरा, १५ कात्तिक,
सुत्केरी अवस्थामा पोषणयुक्त खानेकुराको अभाव, नवजात शिशुको लत्ताकपडाको चिन्ता र आर्थिक समस्याले धेरै विपन्न परिवारलाई पिरोलिरहेको हुन्छ । यस्तो अवस्थामा राज्यका निकायबाट अपेक्षित सहयोग नपाएका परिवारलाई लक्षित गर्दै नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले एउटा फरक सामाजिक अभियान अघि सारेको छ ।

अब कास्की क्षेत्र नम्बर १ भित्रका आर्थिक रूपमा विपन्न, गरिब तथा दलित समुदायका सुत्केरी आमाले पोषणका लागि एउटा लोकल कुखुराको भाले पाउने भएका छन् भने नवजात शिशुले मौसमअनुसार दुईदेखि तीन थान नयाँ कपडा पाउनेछन् । कांग्रेस कास्की क्षेत्र नम्बर १ ले एक वर्षसम्म सञ्चालन गर्ने गरी ‘आमा–शिशु साथ अभियान’ घोषणा गरेको हो । स्थानीय सरकारले सञ्चालन गर्ने खालको सामाजिक सहयोग कार्यक्रमलाई राजनीतिक दलको क्षेत्रीय समितिले आफ्नै पहल र स्रोतबाट नमुनाका रूपमा अघि बढाउन लागेको नवनिर्वाचित क्षेत्रीय सभापति सरोज केसीले पोखराक्लिकलाई बताउनुभयो ।
उहाँका अनुसार अभियान कुनै पार्टीका कार्यकर्ता वा समर्थकका लागि मात्र नभई कास्की क्षेत्र नम्बर १ भित्रका सबै योग्य विपन्न परिवारका लागि खुला हुनेछ । आर्थिक अवस्था कमजोर भएका तथा दलित समुदायका ३१ वर्षमुनिका सुत्केरी आमालाई विशेष प्राथमिकता दिइनेछ ।‘सुत्केरी हुनु कुनै पनि महिलाका लागि संवेदनशील अवस्था हो । त्यसमाथि आर्थिक अवस्था कमजोर भएका परिवारले बच्चा जन्मिएपछि पोषण र नवजात शिशुको आवश्यकतासमेत पूरा गर्न कठिनाइ भोग्नुपर्छ । त्यही अवस्थालाई मध्यनजर गर्दै हामीले यो अभियान सुरु गर्न लागेका हौँ,’ सभापति केसीले पोखराक्लिकसँग भन्नुभयो ।
बच्चा जन्मिएको ११ दिनभित्र खबर गरे २४ घण्टामै सहयोग
अभियानको कार्यविधिअनुसार बच्चा जन्मिएको ११ दिनभित्र सहयोगको आवश्यकता महसुस गरी सम्पर्क गर्ने परिवारलाई वास्तविक आवश्यकता र उपलब्ध स्रोतका आधारमा सम्भव भएसम्म २४ घण्टाभित्र सहयोग पुर्याइनेछ । सुत्केरी आमा अस्पतालमै रहेकी भए अस्पतालमै र घर फर्किसकेको अवस्थामा घरमै पुगेर सहयोग उपलब्ध गराउने योजना रहेको केसीले बताउनुभयो । ‘हामीले सहयोग माग्न आउने परिवारलाई कार्यालय धाउनुपर्ने वा अनावश्यक प्रक्रिया पूरा गर्नुपर्ने अवस्था बनाउने छैनौँ । सम्भव भएसम्म उहाँहरू जहाँ हुनुहुन्छ, त्यहीँ पुगेर सहयोग गर्ने हाम्रो प्रयास हो,’ उहाँले पोखराक्लिकसँग भन्नुभयो ।
सुत्केरी आमाको पोषणका लागि स्थानीय लोकल कुखुराको एउटा भाले उपलब्ध गराइनेछ । नवजात शिशुका लागि भने मौसमअनुसार उपयुक्त दुईदेखि तीन थान नयाँ कपडा दिइनेछ । आर्थिक रूपमा अत्यन्तै विपन्न अन्य परिवारलाई समेत आवश्यकताका आधारमा सहयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
सहयोग लिन कांग्रेस हुनुपर्ने छैन, नाम सार्वजनिक गर्न नचाहे पनि हुन्छ
यो अभियानको अर्को महत्वपूर्ण पक्ष राजनीतिक आबद्धतासँग जोडिएको छैन । सहयोग प्राप्त गर्न कांग्रेसको सदस्य, समर्थक वा शुभेच्छुक हुनुपर्ने कुनै सर्त राखिएको छैन । लक्षित परिवारले आफ्नो नाम सार्वजनिक गर्न नचाहेको अवस्थामा पनि सहयोग उपलब्ध गराइने केसीले बताउनुभयो ।
‘यो कांग्रेसका लागि मात्रै गरिएको कार्यक्रम होइन । कास्की क्षेत्र नम्बर १ भित्रका जोकोही विपन्न परिवारले आवश्यकता परेको अवस्थामा सहयोग पाउन सक्नुहुन्छ । उहाँहरूको राजनीतिक आस्था के हो भन्ने हामी हेर्दैनौँ । कसैले आफ्नो नाम सार्वजनिक गर्न चाहनुभएन भने पनि सहयोग गर्छौं,’ केसीले पोखराक्लिकसँग भन्नुभयो । राजनीतिक दलप्रति नागरिकको अपेक्षा निर्वाचनका बेला मत माग्ने र आश्वासन दिनेमा मात्रै सीमित हुनु नहुने उल्लेख गर्दै उहाँले नागरिकको दुःखसुखमा साथ दिनु पनि राजनीतिक तथा सामाजिक जिम्मेवारी भएको बताउनुभयो ।
पदाधिकारी र सदस्यको स्वैच्छिक योगदान, शुभेच्छुक तथा दाताबाट आर्थिक जोहो
एक वर्षसम्म सञ्चालन हुने अभियानका लागि आवश्यक आर्थिक स्रोत क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको स्वैच्छिक योगदानबाट जुटाइनेछ । त्यसका अतिरिक्त इच्छुक शुभेच्छुक तथा दाताहरूबाट समेत सहयोग संकलन गरिने केसीले जानकारी दिनुभयो । ‘यसका लागि पार्टीका पदाधिकारी र सदस्यहरूले स्वैच्छिक रूपमा योगदान गर्नुहुन्छ । इच्छुक शुभेच्छुक तथा दाताहरूबाट पनि सहयोग जुटाउँछौँ । संकलन भएको रकमदेखि खर्च र सहयोग पाउने परिवारसम्मको सबै हिसाब पारदर्शी राख्छौँ,’ केसीले पोखराक्लिकसँग भन्नुभयो ।
कार्यक्रमलाई पारदर्शी, निष्पक्ष र सेवामुखी बनाउन आवश्यक कार्यविधि तयार गरिनेछ । सहयोग प्राप्त गर्ने परिवारको अभिलेख राख्ने र कार्यक्रमको नियमित समीक्षा गर्ने निर्णयसमेत क्षेत्रीय समितिले गरेको छ ।
राहत वितरण मात्रै होइन, मातृ तथा शिशु स्वास्थ्यमा राज्यको ध्यानाकर्षण पनि
‘आमा–शिशु साथ अभियान’को उद्देश्य सुत्केरी आमालाई कुखुराको भाले र नवजात शिशुलाई कपडा वितरण गर्नुमा मात्रै सीमित छैन । मातृ तथा शिशु पोषण र आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउनु पनि अभियानको अर्को उद्देश्य रहेको छ ।
विशेषगरी आर्थिक अभावका कारण सुत्केरी अवस्थामा आवश्यक पोषणयुक्त खानेकुरा र नवजात शिशुका आधारभूत आवश्यकतामा समस्या भोगिरहेका परिवारलाई तत्काल राहत पुर्याउने प्रयासका रूपमा अभियानलाई अघि बढाइएको छ । राज्यका निकायले गर्नुपर्ने सामाजिक उत्तरदायित्वका काममा नागरिकस्तरबाट पनि सहयोग र सहकार्य गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको केसीको भनाइ छ ।
पार्टीको संगठनसँगै सामाजिक सेवामा जोड
यसैबीच, नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ मा नवनिर्वाचित क्षेत्रीय तथा प्रदेशसभा समितिका पदाधिकारीको पदस्थापन तथा शपथग्रहण कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई समयसापेक्ष विचार र कार्यशैलीसहित पुनः संगठित तथा बलियो बनाउनुपर्ने बताउनुभयो ।
पौडेलले पद प्राप्त गर्नु मात्रै सफलता नभई त्यसअनुसारको जिम्मेवारी निर्वाह गर्न सक्नु महत्वपूर्ण हुने बताउनुभयो । कांग्रेसले लोकतान्त्रिक समाजवादको विचारलाई वर्तमान समय र समाजको आवश्यकताअनुसार अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । बीपी कोइरालाले प्रतिपादन गरेको विचारलाई समयअनुकूल अवलम्बन गर्दै जनतासँग जोडिनुपर्ने उल्लेख गर्दै उहाँले कांग्रेस कमजोर हुनुपर्ने अवस्थामा नरहेको बताउनुभयो ।
‘हामी कमजोर हुनुपर्ने अवस्थामा छैनौँ । समाजमा बहुविचार छन् । बीपीले दिनुभएको विचारलाई अब समयअनुसार अवलम्बन गर्नुपर्छ,’ पौडेलले भन्नुभयो । उहाँले पार्टीभित्र एकता कायम गर्दै अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नवनिर्वाचित क्षेत्रीय सभापति सरोज केसीले कांग्रेसलाई संगठित, बलियो र एकताबद्ध बनाउनु आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।






