कास्कीमा नेकपाको राष्ट्रिय जागरण अभियान, सातवटै कमाण्डमा सञ्चालन गरिने

-


     पोखरा क्लिक     
     कार्तिक १५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १५, कार्तिक,

संगठन सुदृढीकरण र गुमेको जनविश्वास पुनःस्थापित गर्ने लक्ष्यसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले जिल्लामा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । यही कार्तिक २७ गतेदेखि सुरु हुने अभियान जिल्लाका सातवटै कमाण्डमा सञ्चालन गरिने नेकपा कास्कीले जनाएको छ ।

नेकपाले अभियानमार्फत जनतासंग जोडिदै पार्टीको पुरानो जनआधार फर्काउने, संगठनलाई चलायमान बनाउने र आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीलाई तयार पार्ने रणनीति लिएको नेकपा कास्कीका संयोजक रामजीप्रसाद बराल ‘जीवन’ले बताउनु भयो । अभियानमा स्थानीय नेताहरूले नेतृत्व गर्नुहुने भएको छ भने पार्टीका सबै जनवर्गीय संगठनलाई परिचालन गरिने उहाँले जनाउनु भयो । पार्टीप्रति निष्क्रिय रहेका सदस्यलाई पुनः संगठनमा जोड्ने तथा नयाँ पुस्तासहित विभिन्न समुदायका नागरिकलाई पार्टीमा आकर्षित गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको संयोजक बरालले जनाउनु भयो । ‘पार्टीको संगठनलाई पुनः बलियो बनाउँदै जनतासँगको सम्बन्ध स्थापित गर्न अभियान सञ्चालन गर्न लागेका हौँ । सात हजार सदस्यता नवीकरण गर्ने र एक हजार नयाँ सदस्य थप्ने लक्ष्य राखेका छौँ,’ बरालले भन्नुभयोे, ‘अभियानलाई आगामी स्थानीय तह निर्वाचनको तयारीका रूपमा पनि अघि बढाइनेछ ।’
यसैबिच, नेकपा कास्कीको सो अभियानको आईतबार नेकपाका गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले शुभारम्भ गर्नु भएको हो । उहाँले ‘चुपचाप घण्टीछाप’को भ्रमबाट मुक्त बनाउन अभियान सार्थक हुने विस्वास व्यक्त गर्नुभयो । संविधान र व्यवस्थाको रक्षाका लागि पनि नेकपासहित पुराना पार्टीहरु पुनःजागृत हुन जरुरी रहेको बताउनु भयो ।

नेकपा गण्डकीका सहईञ्चार्ज श्रीनाथ बरालले निरकुंश घण्टी सरकारबाट देश र जनालाई मुक्त गर्न नेकपामा जागरण आवश्यक रहेको बताउदै पुराना लोकतान्त्रिक पार्टीको विकल्प वर्तमान घण्टी सरकार र उसको पार्टी हुन नसक्ने बताउनु भयो । नेकपा कास्कीका पूर्व ईञ्चार्ज राजकाजी गुरुङले हिजो भएका कमीकमजोरी सुधार्दै पार्टीलाई सुदृढ बनाउनु यो अभियानको मुख्य उद्धेश्य रहेको बताउनु भयो । कास्की सहईञ्चार्ज तेजकुमारी पौडेलले संकटमा फसेको देशलाई उन्मुक्ति गराई सरकारले गरेका गलत कदम र कामकारवाहीको भण्डाफोर गर्न आवश्यक भएको बताउनु भयो । अभियानअन्तर्गत जिल्लाका सातवटै कमाण्डमा स्थानीय नेताहरूको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन हुनेछन् । उहाँहरुले गाउँ, टोल र बस्तीस्तरसम्म पुगेर नागरिकसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गर्नेछन् । साथै, विभिन्न संघसंस्था, क्लब, आमा समूह, सामाजिक संस्था तथा समुदायसँग सम्बन्ध विस्तार गर्ने कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।

यसअघि नेकपा कास्कीले जिल्लामा करिब १२ हजार संगठित सदस्य रहेको दाबी गर्दै आएको थियो । तर पछिल्लो राजनीतिक घटनाक्रमपछि सदस्यता नवीकरण गर्नेको संख्या घटेर करिब दुई हजारमा सीमित भएको पार्टी स्रोतले जनाएको थियो । संगठनमा देखिएको यही शिथिलता अन्त्य गर्दै पुरानो संगठनात्मक अवस्था फर्काउने अभियानको प्रमुख उद्देश्य रहेको नेताहरूको भनाइ छ । कुनै समय कास्कीलाई तत्कालीन माओवादीको बलियो जनाधार भएको जिल्लाका रूपमा चिनिन्थ्यो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कास्कीका चार निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा तत्कालीन माओवादीले जित हासिल गरेको थियो । तर त्यसपछिका निर्वाचनमा पार्टीको जनमत क्रमशः कमजोर हुँदै गएको थियो ।
पछिल्लो निर्वाचनसम्म आइपुग्दा पार्टीले अपेक्षित मतसमेत प्राप्त गर्न नसकेपछि संगठन पुनर्गठन र जनतासँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेको छ । राष्ट्रिय जागरण अभियानलाई पार्टीको आत्मसमीक्षा, रूपान्तरण र संगठन पुनर्निर्माणको अवसरका रूपमा समेत लिइएको छ ।



This will close in 20 seconds