पोखराको न्यूरोडमा मध्यराति स्कुटर दुर्घटना हुदा २८ वर्षीय आशिषको उपचारका क्रममा मृत्यु

-


     पोखरा क्लिक     
     कार्तिक ११ गते २०८३ मा प्रकाशित


पोखरा ११, कार्तिक,

पोखरामा स्कुटर दुर्घटनामा परी २८ वर्षीय एक युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–८, सभागृहचोक नजिक चिप्लेढुङ्गाबाट सभागृहचोकतर्फ जार्दै गरेको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा अन्नपूर्ण गाउँपालिका–१, ढिकुरपोखरी घर भई हाल पोखरा महानगरपालिका–६, लेकसाइड बस्दै आउनु भएको आशिष कुँवरको ज्यान गएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ ।

आज (बुधबार) बिहान करिब २ः५० बजे ग १६ प ६६१९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको थियो । स्कुटरको पछाडि सवार कुँवरको टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटनापछि बोल्नसमेत नसक्ने अवस्थामा रहनु भएको उहाँको तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो । चिकित्सकको निगरानीमा उपचार भइरहे पनि बिहान करिब ५ः३० बजे कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी विरेन्द्रकुमार पासवानले बताउनु भयो ।

स्कुटर चालक स्याङ्जाको आँधिखोला गाउँपालिका–२, चिलाउनेबास घर भई हाल पोखरा महानगरपालिका–८, न्युरोड बस्ने ४३ वर्षीय भोजराज सापकोटा रहेको उहाँले जनाउनु भयो । दुर्घटनापछि प्रहरीले स्कुटर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
सडकमा हुने सामान्य असावधानीले समेत गम्भीर दुर्घटना निम्त्याउन सक्ने यस घटनाले सवारी सञ्चालनमा सतर्कता अपनाउनुपर्ने आवश्यकतालाई पुनः स्मरण गराएको स्थानियले बताउनु भएको छ । विशेषगरी रातिको समयमा सवारी चलाउँदा गति नियन्त्रण, सडकको अवस्था र सुरक्षासम्बन्धी नियमको पालना गर्नु प्रहरीले आग्रह गरेको छ ।



This will close in 20 seconds