स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशालामा वृक्षारोपण

-


     पोखरा क्लिक     
     कार्तिक ६ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ७ कात्तिक,

स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशालामा वृक्षारोपण गरिएको छ। कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा गरिएको वृक्षारोपणले दिवंगत गुरुङप्रतिको माया, सम्मान र आत्मीयतालाई प्रकृतिसँग जोडेको छ।

मानिसको भौतिक शरीर हामीमाझ नरहे पनि उसले छोडेर गएका सम्झना, माया र आत्मीयता सधैँ जीवित रहने सन्देशसहित गरिएको वृक्षारोपणले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको महत्त्वसमेत उजागर गरेको छ। स्वर्गीय गुरुङको सम्झनामा रोपिएका बिरुवा हुर्कंदै जाँदा उहाँप्रतिको सम्झना पनि जीवन्त रहने विश्वास गरिएको छ। वृक्षारोपणका क्रममा कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङले वातावरण संरक्षण आजको आवश्यकता भएको बताउनुभयो। पछिल्लो समय प्राकृतिक विपत्ति बढ्दै गएकाले यसको न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। वातावरण जोगाउनु भनेको वर्तमानलाई सुरक्षित राख्नुका साथै भावी पुस्ताको भविष्य संरक्षण गर्नु पनि भएको उहाँको भनाइ थियो। कार्यक्रममा ध्रुव गुरुङ, विनोद गुरुङ र रूपा गुरुङले पनि वृक्षारोपण गर्नुभएको थियो।

खेलकुद विकास कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सरस्वती गुरुङले प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, सद्भाव र जिम्मेवारीलाई व्यवहारमा उतार्ने नेपालीहरूको योगदानको प्रशंसा गर्नुभयो। उहाँले सामाजिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रमा प्रवासी नेपालीले पुर्‍याउँदै आएको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै देशको विकास, सामाजिक रूपान्तरण र समृद्धिका लागि सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो। कोने घोथाने घोण्डे तमु समाज यूकेले नेपालमा पुर्‍याउँदै आएको सामाजिक, सांस्कृतिक तथा धार्मिक योगदानको उचित कदर र सम्मान हुनुपर्ने उहाँको भनाइ थियो। स्वर्गीय दीपक गुरुङको स्मृतिमा गरिएको वृक्षारोपणले वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र भावी पुस्ताका लागि हरियाली प्रवर्द्धन गर्न प्रेरणा दिने उहाँले बताउनुभयो। कार्यक्रममा युवा नेता विक्की गुरुङ, अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित लगायतको उपस्थिति रहेको थियो।



This will close in 20 seconds