
पोखरा,
काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित प्रतिभा बिजनेस स्कुलमा सूचना प्रविधिमा स्नातक तह (बीआईटी) को पहिलो शैक्षिक सत्र सुरु भएको छ । ‘“बीआईटी यात्रा शुभारम्भ सिकाइ, नवप्रवर्तन र व्यावसायिक विकास” भन्ने नारासहित मंगलबार आयोजित कार्यक्रममा पहिलो ब्याचका विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरणसँगै शिक्षक तथा कर्मचारीका लागि प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले कार्यक्रमको शुभारम्भ गर्दै विद्यार्थीको शैक्षिक तथा व्यावसायिक भविष्य निर्माणका लागि विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले सूचना प्रविधिको क्षेत्रमा अघि बढ्न विद्यार्थीले अनुशासन, निरन्तर सिकाइ र व्यावहारिक ज्ञानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । प्राचार्य रविप्रसाद बरालले सूचना प्रविधिको तीव्र विकाससँगै विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक सीप, सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्ने उद्देश्यले बीआईटी कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गरी प्रमाणपत्र प्राप्त गर्ने लक्ष्यमा सीमित नराखी बदलिँदो प्रविधि र रोजगारीको विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्तिका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा सूचना प्रविधि विज्ञ डा.विदुर देवकोटा र निर्देशक किरण सापकोटाले विद्यार्थीलाई स्वागत गर्दै बीआईटी अध्ययनका क्रममा अनुशासन, निरन्तर सिकाइ, प्रविधिको सदुपयोग र व्यावसायिक संस्कारलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । कार्यक्रमको दोस्रो चरणमा विद्यार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । विभागीय प्रमुख भावना पौडेलले बीआईटीको पाठ्यक्रम, शैक्षिक प्रणाली, मूल्याङ्कन पद्धति तथा विद्यार्थीले पालना गर्नुपर्ने शैक्षिक अपेक्षाबारे जानकारी दिनुभयो । प्राचार्य बरालले ‘डेयर टु ड्रिम, ग्रो, एन्ड लिड’ विषयमा प्रेरणात्मक प्रस्तुति दिँदै विद्यार्थीलाई ठूलो सपना देख्न, निरन्तर सिक्न, चुनौतीको सामना गर्न र भविष्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गरे ।
अभिमुखीकरणको अन्त्यमा विद्यार्थी आर्जित पौडेलले विद्यार्थीका तर्फबाट मन्तव्य राख्दै कार्यक्रम विद्यार्थीकेन्द्रित र उपयोगी रहेकोमा खुसी व्यक्त गर्नुभयो । शिक्षक तथा कर्मचारीका लागि आयोजित प्रशिक्षणमा डा। विदुर देवकोटाले ‘व्यावसायिक सूचना प्रविधि शिक्षक बन्ने उपाय’ विषयमा प्रशिक्षण दिनुभयो । प्राचार्य बरालले ‘शैक्षिक अपेक्षा, भूमिका तथा जिम्मेवारी, विद्यार्थी सहयोग र संस्थागत संस्कृति’ विषयमा अभिमुखीकरण गराउनु भयो । प्रतिभा बिजनेस स्कुलले बीआईटी कार्यक्रममार्फत सूचना प्रविधिको क्षेत्रमा दक्ष, सिर्जनशील, व्यावहारिक र रोजगारमुखी जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ । विश्वविद्यालयसँगको सहकार्यमा कार्यक्रमलाई प्रविधि, नवप्रवर्तन, उद्यमशीलता र व्यावसायिक विकाससँग जोड्दै अघि बढाउने विद्यालयको योजना रहेको छ । कार्यक्रमको सञ्चालन भवानी पौडेलले गर्नु भयो भने सत्रको अध्यक्षता सन्देश पौडेलले गर्नु भएको हो ।






