पोखरामा पर्यटक सुनसानमा पनि सीमित पर्यटकसँगै मनाइयो विश्व पर्यटन दिवस , “हामी धेरै कन्फर्ट जोनमा बसिरहेका छौँ, यसरी पार लाग्दैन” मेयर आचार्य (भिडियो सहित)

-


     पोखरा क्लिक     
     असाेज ११ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ११ असोज,

देशभर परेको अविरल वर्षा र प्राकृतिक विपत्तिका कारण पोखरामा पर्यटकको चहलपहल सुनसानजस्तै भएका बेला पनि सीमित पर्यटकसँगै विश्व पर्यटन दिवस मनाइएको छ । पोखरा आउने अधिकांश सडक मार्ग प्रभावित हुनुका साथै देशका विभिन्न स्थानमा भएको प्राकृतिक विपत्तिको असर पर्यटन क्षेत्रमा परेपछि पर्यटक आगमन घटेको हो ।

पर्यटकको संख्या न्यून भए पनि पर्यटन व्यवसायीले प्रतिकूल परिस्थितिमा पनि पोखरा सुरक्षित र पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिन विभिन्न कार्यक्रम सहित विश्व पर्यटन दिवस मनाएका हुन् । विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले आइतबार लेकसाइडमा आयोजना गरेको ‘विश्व पर्यटन दिवस मिनी सडक महोत्सव–२०८३’ सम्पन्न भएको छ । साँझदेखि राति १० बजेसम्म सञ्चालन भएको महोत्सवमा विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक तथा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम प्रस्तुत गरिएका थिए ।

महोत्सवका संयोजकले सहभागी तथा पाहुनालाई स्वागत गर्दै प्रतिकूल मौसमका बीच पनि कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए। महोत्सवका कारण केही हदसम्म भए पनि लेकसाइड क्षेत्रमा चहलपहल बढेको व्यवसायीहरूले बताएका छन् ।असोज ९ गतेदेखि लगातार परेको वर्षा आइतबार बिहान करिब १० बजेदेखि रोकिएर मौसम खुलेको थियो। लामो समयपछि मौसम खुलेसँगै घुम्न आएका पाहुनालाई पोखराले समेत स्वागत गरिरहेको अनुभूति भएको पर्यटन व्यवसायीहरूले बताएका थिए । महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको पर्यटकीय गतिविधि पोखरा–६ लेकसाइडमा मात्र केन्द्रित गर्न नहुने बताउनुभयो। पर्यटकले खोजेअनुसारको सेवा र सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उहाँले पर्यटकलाई आफूले दिन चाहेको सेवा नभई उनीहरूको इच्छा र आवश्यकता अनुसारको सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

“पोखरामा आउने पर्यटकलाई हामीले दिने सेवा होइन, उनीहरूको इच्छाअनुसारको सेवा उपलब्ध गराउन सक्नुपर्छ,” उहाँले भन्नुभयो। मेयर आचार्यले केही समयपछि पोखरामा विद्युतीय सवारीसाधन मात्रै सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। पोखरामा हाल सञ्चालनमा रहेका ७ सय ३२ माइक्रोबसलाई विस्थापन गर्दै सार्वजनिक सवारीसाधनमध्ये २ सय ३२ वटा विद्युतीय बस सञ्चालनको तयारी गरिएको उहाँले बताउनुभयो। पोखरालाई एक पटक आएर जाने नभई पटक–पटक आउन चाहने गन्तव्यका रूपमा ब्रान्डिङ गर्नुपर्नेमा जोड दिँदै मेयर आचार्यले पर्यटन क्षेत्रमा मार्केटिङ र लगानी बढाउनुपर्ने बताउनुभयो। “हामी धेरै कन्फर्ट जोनमा बसिरहेका छौँ, यसरी पार लाग्दैन,” उहाँले भन्नुभयो, “पोखराको पर्यटन विकासका लागि मार्केटिङ, लगानीलगायतका विषयमा केन्द्रित हुनुपर्छ।” पोखराको पर्यटनलाई लेकसाइडमा मात्र सीमित नराखी विश्वभरका नेपालीले आफ्नो घरठेगाना बताउँदा ‘पोखरा’ भन्ने गरी पोखराको पहिचान विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो । “पर्यटकीय स्थल लेकसाइड मात्र होइन, अमेरिकामा होस् वा युरोपमा, घर कहाँ हो भनेर सोध्दा पोखरा भन्ने अवस्था सिर्जना गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
मेयर आचार्यले पोखरामा सबै प्रकारका पर्यटकलाई स्वागत गर्नुपर्नेमा पनि जोड दिनुभयो। पाँचतारे होटलमा बस्ने पर्यटकदेखि होमस्टेमा बस्न रुचाउने पर्यटकसम्मलाई पोखराले सेवा दिन सक्नुपर्ने उहाँको भनाइ थियो। यसैगरी, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले देशको विषम परिस्थितिका बीच आयोजना गरिएको एकदिने मिनी सडक महोत्सवले पोखरा पर्यटनका लागि खुला र सुरक्षित रहेको सकारात्मक सन्देश दिएको बताउनुभयो । लगातारको वर्षाका कारण देशका अधिकांश राजमार्ग अवरुद्ध हुँदा पर्यटक घुमघाममा निस्कन नसकिरहेको अवस्थामा पनि महोत्सव आयोजना गर्नु प्रशंसनीय भएको उहाँले बताउनुभयो। पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस्ता अभियानमा सबै पक्षले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो।

विश्व पर्यटन दिवस २०२६ को मूल सन्देश ‘पर्यटनलाई पुनःपरिकल्पना गर्न डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता’ लाई आत्मसात् गर्दै आयोजना गरिएको महोत्सवमा पोखराको पर्यटन, स्थानीय कला–संस्कृति, मौलिक खानाका परिकार तथा आतिथ्य प्रस्तुत गरिएको थियो । महोत्सवको मुख्य उद्घाटन कार्यक्रम अम्मट क्षेत्रमा गरिएको थियो। त्यसपछि मुख्य स्टेजमा विभिन्न सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएका थिए। सेन्टर प्वाइन्ट चोकस्थित चौतारामा साँझ ५ बजेदेखि राति १० बजेसम्म गन्धर्व गायनलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो भने लेकसाइड स्ट्रिट नम्बर ४ र ५ बीचको क्षेत्रमा समेत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको रेवान पोखराका अध्यक्ष बसन्त गौतमले पोखराक्लिकलाई बताउनुभयो । महोत्सवका कारण सुनसानजस्तै रहेको लेकसाइड क्षेत्रमा केही हदसम्म चहलपहल बढेको व्यवसायीहरूको भनाइ छ। पर्यटक आगमन घटेको अवस्थामा पनि महोत्सवले पर्यटन व्यवसायी, स्थानीय कलाकार तथा पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग गरेको उनीहरूले बताएका छन् ।

यसैबीच, पोखरा पर्यटन परिषद्, नाट्टा गण्डकीलगायत पर्यटनसँग सम्बन्धित संघसंस्थाले पोखरा आएका पर्यटकलाई खादा तथा मालाले स्वागत गरेका थिए। फ्लाई दुबईमार्फत पोखरा आएका पाहुनालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर पर्यटन व्यवसायीले स्वागत गरेका थिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पछिल्ला दिनमा परेको भारी वर्षाका कारण पोखरा जोड्ने अधिकांश सडक मार्ग अवरुद्ध हुँदा पर्यटक आगमनमा प्रत्यक्ष असर परेको बताउनुभयो। भोटेकोशीमा आएको बाढी तथा देशका विभिन्न स्थानमा भएको प्राकृतिक विपत्तिको प्रभावसमेत पोखराको पर्यटन क्षेत्रमा परेको उहाँले जनाउनुभयो ।

“यस वर्ष विश्व पर्यटन दिवसको समयमा पोखरामा पर्यटकको चहलपहल अपेक्षाकृत कम छ,” उहाँले भन्नुभयो, “तर यस्तो अवस्थामा पनि पोखरा पर्यटकको स्वागतका लागि तयार छ भन्ने सन्देश दिन हामीले कार्यक्रमलाई निरन्तरता दिएका हौँ।” नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत जयशक्ति सराफले विश्व पर्यटन दिवसका अवसरमा आयोजना हुने यस्ता कार्यक्रमले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले पर्यटन विकास र प्रवद्र्धनका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो।