
पोखरा,
नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा अघि नै खेल मैदानबाट सम्बन्धको एउटा बलियो आधार तयार भइसकेको तथ्य अब पुस्तकमार्फत सार्वजनिक हुने भएको छ। चिरपरिचित खेल पत्रकार तथा लेखक नवीन अर्यालले दुई देशबीचको खेल सम्बन्धको इतिहास, सहकार्य र प्रभावलाई समेटेर तयार पारेको नयाँ खोजमूलक कृति ‘नेपाल–जापान खेल सम्बन्ध’ आगामी शुक्रबार जापानको आइची–नागोयामा विमोचन हुँदैछ।
नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। तर, दुई देशबीचको सम्बन्ध त्यसअघि नै खेलकुदका माध्यमबाट जोडिएको लेखक अर्यालको अनुसन्धानले देखाएको छ। सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको पहिलो एसियाली खेलकुदबाट नेपाल र जापानबीचको खेल सम्बन्धले औपचारिक आकार लिन थालेको उनको निष्कर्ष छ। “नेपाल र जापानबीचको खेल सम्बन्ध सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको पहिलो एसियाली खेलकुदबाट सुरु भएको हो,” लेखक अर्यालले भन्नुभयो, “त्यसपछि कसरी दुई देशबीच खेलका माध्यमबाट सम्बन्ध विस्तार हुँदै गयो भन्ने विषयलाई पुस्तकमार्फत उजागर गर्न खोजेको छु।”
दुई वर्षको अनुसन्धान र अध्ययनपछि तयार भएको पुस्तकमा नेपाल–जापानबीचको खेल सम्बन्धका विभिन्न चरणलाई तथ्य, घटना र पात्रहरूमार्फत प्रस्तुत गरिएको छ। नेपालमा जुडो, कराते र सफ्ट टेनिसजस्ता खेलको प्रवेशदेखि भलिबल, जिम्न्यास्टिक र ब्याडमिन्टनको विकाससम्म जापानले पुर्याएको योगदानलाई पुस्तकमा विशेष रूपमा समेटिएको लेखकले बताउनुभएको छ। खेलकुदका माध्यमबाट जापानले नेपालसँग बनाएको सम्बन्ध केवल खेलाडी र प्रतियोगितामा सीमित नभएको पुस्तकले देखाउने प्रयास गरेको छ। नेपालको खेल पूर्वाधार, खेलाडीको क्षमता विकास तथा विभिन्न खेलको विस्तारमा जापानी पक्षबाट भएका सहयोग र सहकार्यका प्रसंगलाई समेत पुस्तकमा स्थान दिइएको छ। पुस्तकमा सन् १९७३ अर्थात् विसं २०३० सालमा जापानको चर्चित मोटर कम्पनी टोयोटाका अध्यक्ष सोइची साइतोको नेपाल भ्रमणदेखि टोयोटा कम्पनीले नेपाली खेलकुद क्षेत्रमा गरेको लगानीसम्मका प्रसंग समेटिएका छन्। यसले नेपाल–जापान सम्बन्धलाई सरकारी तहको कूटनीतिभन्दा बाहिर निजी क्षेत्र र खेलकुदसम्म कसरी विस्तार गरिएको थियो भन्ने पक्षलाई समेत उजागर गर्ने लेखकको भनाइ छ।
त्यसैगरी जापानी पर्वतारोहीहरूले नेपालको हिमाली क्षेत्रमा हासिल गरेका सफलताका पछाडि नेपाली शेर्पाहरूले पुर्याएको योगदानलाई पनि पुस्तकमा महत्वपूर्ण स्थान दिइएको छ। “जापानी पर्वतारोहीलाई नेपालको हिमालमा सफल बनाउन नेपाली शेर्पाहरूले गरेको योगदान पनि दुई देशबीचको सम्बन्धको महत्वपूर्ण पाटो हो,” अर्यालले भन्नुभयो, “खेल र पर्वतारोहणका माध्यमबाट बनेका यस्ता सम्बन्धलाई पनि पुस्तकमा समेट्ने प्रयास गरेको छु।” नेपालले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको ७५ वर्ष पूरा भएको अवसरसँगै पुस्तक विमोचनको समयलाई पनि अर्थपूर्ण मानिएको छ। पहिलो एसियाली खेलकुदको आयोजना भएको देश जापानमा, त्यसमाथि आगामी २०औँ एसियाली खेलकुद आयोजना हुन लागेको आइची–नागोयामै पुस्तक सार्वजनिक हुन लागेको हो। लेखक अर्यालका अनुसार एसियाली खेलकुदसँग जोडिएको महत्वपूर्ण शहरमा पुगेर नेपाल–जापान खेल सम्बन्धबारेको पुस्तक सार्वजनिक गर्नु आफैँमा ऐतिहासिक अवसर हो। पुस्तकले विगतको सम्बन्धलाई अभिलेखीकरण गर्नुका साथै आगामी दिनमा दुई देशबीचको खेल कूटनीतिलाई थप बलियो बनाउन सहयोग पुर्याउने उहाँको विश्वास छ।
“यो पुस्तक विगतको सम्बन्धलाई सम्झिने दस्तावेज मात्र होइन, आगामी दिनमा नेपाल र जापानबीचको खेल सम्बन्धलाई अझ सुदृढ बनाउन उपयोगी सामग्री बन्न सक्छ भन्ने मेरो विश्वास छ,” अर्यालले भन्नुभयो। अर्याल विगत २७ वर्षदेखि खेल पत्रकारितामा सक्रिय हुनुहुन्छ। यसअघि उहाँको पहिलो खोजमूलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ विसं २०८० मा प्रकाशित भएको थियो। पछिल्लो कृतिका लागि उहाँले दुई वर्षसम्म विभिन्न स्रोत, दस्तावेज र घटनाक्रमको अध्ययन तथा अनुसन्धान गर्नुभएको हो। ‘नेपाल–जापान खेल सम्बन्ध’को विमोचन शुक्रबार साँझ ५ बजे जापानको आइची–नागोया शहरस्थित दियालो रेस्टुरेन्टमा हुने जनाइएको छ। जापानले आगामी २०औँ एसियाली खेलकुद पनि आइची–नागोयामै आयोजना गर्दैछ। यसरी हेर्दा, नयाँ पुस्तकले नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धको इतिहासभन्दा केही पर पुगेर खेल मैदान, हिमाल, खेलाडी, संस्था र सहकार्यबाट बनेको दुई देशबीचको सम्बन्धको कथालाई दस्तावेजीकरण गर्ने प्रयास गरेको छ।




