
पोखरा,३१ भदौ,
पोखराका युवा व्यवसायी प्रदीप कोइराला व्यवसाय तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानका लागि ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’ अन्तर्गत ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’ बाट सम्मानित हुनुभएको छ । सिजन मिडियाको आयोजनामा काठमाडौँमा सम्पन्न कार्यक्रममा पोखरा बाराही ज्वयलर्सका प्रबन्ध निर्देशक रहनुभएका कोइरालालाई प्रथम राष्ट्रपति डा. रामवरण यादवले ट्रफी तथा सम्मानपत्र प्रदान गर्नुभयो । व्यवसायबाट रोजगारी सिर्जना गर्दै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेर अघि बढेको कोइरालाको उद्यमशील यात्रालाई सम्मान गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
सुन तथा गरगहना व्यवसायमा सन् २०१३ देखि सक्रिय कोइरालाले व्यवसायिक क्षेत्रसँगै रोजगारी सिर्जना, स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पु¥याउँदै आएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताउनुभयो । ग्राहकको विश्वास, गुणस्तरीय सेवा, पारदर्शिता र आधुनिक डिजाइनलाई प्राथमिकतामा राख्दै कोइरालाले पोखरा बाराही ज्वयलर्सलाई समयअनुकूल रूपमा अघि बढाउँदै आउनुभएको छ । उहाँको व्यवसायमा २४ जनाले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन्।
व्यवसायसँगै सामाजिक सेवामा पनि सक्रिय कोइरालाले फेवा डेन्टल क्लिनिकमार्फत दन्त स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएको छ। आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी निःशुल्क दन्त उपचार तथा स्वास्थ्य शिविर सञ्चालनमा समेत उहाँले सहयोग गर्दै आउनुभएको बताइएको छ ।
कोइरालाले मुगुको रारा क्षेत्रमा रहेको महादेव आधारभूत विद्यालयका विद्यार्थीलाई हरेक वर्ष शैक्षिक सामग्री तथा आर्थिक सहयोग गर्दै आउनुभएको छ । विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नुका साथै पोखरा उपत्यकाका विभिन्न सार्वजनिक स्थानमा विगत तीन वर्षदेखि निःशुल्क खानेपानीको व्यवस्था गर्दै आउनुभएको छ । सम्मानपछि कोइरालाले व्यवसायसँगै सामाजिक क्षेत्रमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा मिलेको बताउनुभयो । “ग्राहकको विश्वासलाई कायम राख्दै आगामी दिनमा व्यवसायको विकाससँगै समुदायप्रतिको सामाजिक उत्तरदायित्वलाई पनि निरन्तरता दिनेछु । ” उहाँले भन्नुभयो । सिजन मिडियाको आयोजनामा सम्पन्न ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’ को सातौँ संस्करणमा उद्योग, व्यवसाय, ऊर्जा, बैंकिङ, बीमा, पर्यटन, शिक्षा, पत्रकारिता, कला, उड्डयन, सामाजिक सेवा तथा उद्यमशीलतालगायत क्षेत्रमा योगदान पु¥याएका नेपाल तथा विभिन्न एसियाली मुलुकका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।




