नेपालका लागि राम्रो खेल्ने खेलाडी छनोट गर्न नसक्ने संघका पदाधिकारी, खेलकुदमा राजनीति कहिलेसम्म ? विश्व वरीयतामा रहेका र अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त अभिषेकलाई छोटो सूचनामा छनोट खेलमा बोलाइएपछि प्रश्न !

-


     पोखरा क्लिक     
     भाद्र ३० गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ३०, भदौ

नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय टेनिसमा निरन्तर प्रतिस्पर्धा गरिरहेका नेपाली खेलाडी अभिषेक बास्तोलालाई डेविस कप टोली छनोटका लागि पुनः छनोट खेलमा सहभागी हुनुपर्ने व्यवस्था गरेपछि नेपाल टेनिस संघको छनोट प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। अन्तर्राष्ट्रिय विश्व वरीयता, डेविस कपको प्रदर्शन र पछिल्लो अन्तर्राष्ट्रिय फर्मका आधारमा राष्ट्रिय टोली छनोट गर्नुपर्ने अवस्थामा विदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिरहेका खेलाडीलाई छोटो सूचनामा नेपाल बोलाएर पुनः छनोट खेल खेलाउन खोजिएको भन्दै बास्तोलाले असन्तुष्टि जनाएका छन्।

भियतनाममा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका बास्तोलाले सेप्टेम्बर १२ मा हुने डेविस कप छनोटबारे आफूले सेप्टेम्बर १० मा मात्र जानकारी पाएको बताएका छन्। भियतनाममा प्रतियोगिता सकिएपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारीमा रहेका उनलाई बीचमै राष्ट्रिय छनोटमा सहभागी हुन बोलाइएको हो। बास्तोलाको प्रश्न केवल आफू छनोट हुने वा नहुने विषयमा सीमित छैन। प्रश्न नेपालको राष्ट्रिय टोली छनोट प्रणाली कस्तो हुनुपर्छ भन्नेमा केन्द्रित छ। अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गरिरहेका, विश्व वरीयता हासिल गरेका र डेविस कपमा प्रमाणित प्रदर्शन गरेका खेलाडीलाई समेत प्रत्येक पटक सुरुदेखि नै छनोट प्रक्रियामा राख्नु कति व्यावहारिक र न्यायोचित हो भन्ने बहस अहिले नेपाली टेनिसमा उठेको छ।

‘नेपालमा धेरै राजनीति भयो। हामीजस्तो अन्तर्राष्ट्रिय वल्र्ड र्‍याङ्किङ भएको खेलाडीलाई फेरि छनोट खेल्नुपर्छ भन्नु कस्तो विडम्बना हो, मेरो वल्र्ड र्‍याङ्किङ हेरे हुन्छ,’ बास्तोलाले भनेका छन्। बास्तोलाको खेल जीवन र अन्तर्राष्ट्रिय सहभागितालाई हेर्दा उनी सामान्य राष्ट्रिय प्रतियोगिताका खेलाडी मात्र होइनन्। उनी नेपालबाट व्यावसायिक अन्तर्राष्ट्रिय पुरुष टेनिसमा निरन्तर प्रतिस्पर्धा गरिरहेका खेलाडी हुन्। एटीपी च्यालेन्जर टुर, आईटीएफ वर्ल्ड टेनिस टुर तथा एटीपी च्यालेन्जर तहका प्रतियोगितामा प्रतिस्पर्धा गर्न निश्चित अन्तर्राष्ट्रिय स्तर र खेल प्रदर्शन आवश्यक पर्छ। यस्तो स्तरमा पुगेर निरन्तर प्रतिस्पर्धा गर्ने नेपाली पुरुष खेलाडीका रूपमा बास्तोलाले आफूलाई स्थापित गरेका छन्।

विश्व वरीयतामा शीर्ष दुई हजारभित्र पर्ने खेलाडीलाई सम्बन्धित राष्ट्रका उच्चस्तरीय वा च्याम्पियन खेलाडीका रूपमा हेर्ने अभ्यास अन्तर्राष्ट्रिय खेलकुदमा सामान्य छ। त्यस्तो स्तरमा रहेका खेलाडीलाई हरेक राष्ट्रिय छनोटमा अन्य खेलाडीसँग समान प्रक्रियाबाट पुनः परीक्षण गर्नुभन्दा उसको विश्व वरीयता, अन्तर्राष्ट्रिय प्रदर्शन, राष्ट्रिय टोलीको रेकर्ड र पछिल्लो फर्मलाई आधार बनाउनु बढी वैज्ञानिक हुने तर्क खेलकुद क्षेत्रमा उठिरहेको छ। बास्तोलाको हकमा यो तर्क झन् बलियो देखिन्छ। उनी सन् २०१४ यता राष्ट्रिय छनोट खेलमा अपराजित रहेको, अधिकांश छनोट खेल सहज अन्तरले जितेको र हरेकपटक नेपालको नम्बर एक खेलाडीका रूपमा छनोट भएको दाबी गर्छन्। चारपटक एसियन गेम्समा नेपालको प्रतिनिधित्व गर्ने पहिलो नेपाली पुरुष टेनिस खेलाडीका रूपमा समेत उनको परिचय छ।

त्यसैगरी उनी एटीपी च्यालेन्जरमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी तथा एटीपी विश्व वरीयता प्राप्त गर्ने पहिलो र एकमात्र नेपाली पुरुष खेलाडी भएको तथ्यले उनको अन्तर्राष्ट्रिय स्तर देखाउँछ। उनको एटीपी विश्व वरीयता करिब १३०० को आसपास रहेको छ भने हालको अन्तर्राष्ट्रिय खेल प्रदर्शनले पनि उनी निरन्तर व्यावसायिक टेनिसमा सक्रिय रहेको देखाउँछ। डेविस कपमा उनको योगदान झनै महत्वपूर्ण छ। बास्तोलाको दाबीअनुसार उनले नेपालका लागि डेविस कप सिंगल्समा शतप्रतिशत जितसहित ६–० को अपराजित रेकर्ड बनाएका छन्। नेपाललाई इतिहासमै पहिलो डेविस कप खेल जिताउने खेलाडी पनि उनी नै हुन्। नेपालका लागि सात डेविस कप जित हासिल गरेका बास्तोला नेपाली टेनिसमा डेविस कपतर्फ सर्वाधिक सफल खेलाडीमध्ये एक हुन्।

यस्तो प्रमाणित अन्तर्राष्ट्रिय पृष्ठभूमि भएका खेलाडीलाई विश्वस्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गरिरहेको समयमा छोटो सूचनाका आधारमा नेपाल फर्किएर पुनः छनोट खेल्न बाध्य पार्ने निर्णयले खेलाडीको समय, लगानी र अन्तर्राष्ट्रिय खेल तालिकाप्रति संघ कति संवेदनशील छ भन्ने प्रश्नसमेत उठाएको छ। नेपाल टेनिस संघले सन् २०२४ मा एटीपी विश्व वरीयताको शीर्ष दुई हजारभित्र रहेका खेलाडीलाई सिधै छनोट गर्ने व्यवस्था गरेको थियो भन्ने विषय पनि अहिले चर्चामा आएको छ। उक्त व्यवस्था अस्तित्वमा रहेको भए त्यसलाई लागू नगरी अस्पष्ट ‘कम्युनिटी भ्वाइस’ वा खेलाडी तथा अभिभावकको दबाबलाई आधार बनाइएको हो भने संघले त्यसको स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ।

छनोट प्रक्रियामा अभिभावक वा अन्य सरोकारवालाको दबाब परेको भए त्यसको प्रकृति र निर्णय प्रक्रियामा त्यसको प्रभावबारे पनि संघले पारदर्शी रूपमा जानकारी दिनुपर्ने हुन्छ। कसैलाई व्यक्तिगत रूपमा आरोप लगाउनु वा प्रमाणबिना दोषी ठहर गर्नु उचित हुँदैन। तर निर्णय प्रक्रियामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ भने त्यसको जवाफदेहिता सम्बन्धित खेल संघले लिनुपर्ने हुन्छ। राष्ट्रिय टोली छनोट कुनै व्यक्तिको लोकप्रियता, दबाब वा व्यक्तिगत सम्बन्धका आधारमा नभई स्पष्ट र मापन गर्न सकिने मापदण्डका आधारमा हुनुपर्ने खेलाडी तथा खेलप्रेमीको अपेक्षा हो। विश्व वरीयता, अन्तर्राष्ट्रिय प्रतियोगिताको स्तर, डेविस कपको रेकर्ड, पछिल्लो फर्म र राष्ट्रिय टोलीमा दिएको योगदानलाई प्राथमिक आधार बनाइएमा छनोट प्रक्रिया विवादरहित र विश्वसनीय बन्न सक्छ।

नेपालका लागि खेल्दा बास्तोलाले पाएको उपलब्धि र योगदानको अर्को महत्वपूर्ण पक्ष आर्थिक हो। अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरेर नेपालको नाम विश्वस्तरमा पुर्‍याउँदै आएका खेलाडीले राष्ट्रिय टोलीबाट खेल्दा अपेक्षित आर्थिक प्रतिफलसमेत नपाएको उनको गुनासो छ। खेलाडीले आफ्नो व्यक्तिगत लगानीमा अन्तर्राष्ट्रिय करिअर निर्माण गर्दै देशको प्रतिनिधित्व गरिरहेको अवस्थामा राज्य र खेल संघले त्यस्ता खेलाडीको समय, श्रम र योगदानलाई अझ गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ।

नेपालले बास्तोलाको अनुपस्थितिमा डेविस कपमा अपेक्षित प्रदर्शन गर्न नसकेको उनको दाबी छ। विगतका नतिजालाई हेरेर राष्ट्रिय टोलीको बलियो संयोजन निर्माण गर्ने हो भने प्रमाणित रूपमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीलाई कसरी उपयोग गर्ने भन्ने विषय संघका लागि महत्वपूर्ण हुनुपर्ने देखिन्छ। बास्तोलाले राष्ट्रिय टोली छनोटमा विश्व वरीयता, अन्तर्राष्ट्रिय प्रदर्शन, डेविस कपको रेकर्ड र पछिल्लो फर्मलाई वस्तुगत आधार बनाउनुपर्ने माग गरेका छन्। नेपालका लागि खेल्ने आफ्नो प्रतिबद्धता भने कुनै पनि अवस्थामा परिवर्तन नहुने उनले स्पष्ट पारेका छन्।

अन्ततः विवाद अभिषेक बास्तोला छनोट हुन्छन् कि हुँदैनन् भन्नेमा मात्र सीमित छैन। यो विवादले नेपाली टेनिसको छनोट प्रणाली कति वैज्ञानिक, पारदर्शी र खेलाडीको अन्तर्राष्ट्रिय करिअरप्रति जिम्मेवार छ भन्ने ठूलो प्रश्न खडा गरेको छ। नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा जित दिलाउने खेलाडी तयार पार्ने हो भने उनीहरूलाई प्रोत्साहन गर्ने कि हरेकपटक आफ्नो क्षमता प्रमाणित गर्न बाध्य बनाउने, विश्व वरीयता र अन्तर्राष्ट्रिय नतिजालाई प्राथमिकता दिने कि अस्पष्ट दबाब र ‘कम्युनिटी भ्वाइस’लाई । नेपालका लागि राम्रो खेल्ने खेलाडीलाई छनोट गर्न नसक्ने अवस्था कहिलेसम्मरु खेलकुदमा राजनीति होइन, खेलाडीको प्रदर्शन र देशको हित कहिले पहिलो प्राथमिकतामा पर्ने ! यी प्रश्नको जवाफ अब नेपाल टेनिस संघले दिनुपर्ने समय आएको छ।

यसैबीच, नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थले भने बास्तोलाको विषयमा संघ स्वयं केही अन्योलमा परेको बताएका छन्। उनका अनुसार राष्ट्रिय खेलकुद परिषद्ले एसियन गेम्सका लागि बास्तोलालाई विश्व वरियताका आधारमा सिधै छनोट गरेको भए पनि डेविस कपका लागि छनोट प्रतियोगितामा सहभागी हुनुपर्ने प्रावधान राखिएको छ। खेलाडी तथा अभिभावकहरूबाट छनोट खेलमा सहभागी गराउन दबाब आएपछि संघले पनि डेविस कपमा छनोट प्रक्रियामा सहभागी हुनुपर्ने मान्यता बनाएको कायस्थले बताए।