
पोखरा, २५ भदौ,
चीनको तिब्बती क्षेत्र हुँदै नेपालको रसुवा तथा भोटेकोशी क्षेत्रमा भाद्र १० गते आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रामबजार सोसाइटी यूकेले ५० हजार रुपैयाँ सहयोग गरेको छ। बाढीपहिरोमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा घरबारविहीन भएका परिवारलाई सहयोग पुर्याउने उद्देश्यले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
रामबजार सोसाइटी यूकेका सहयोगी सदस्यहरूबाट संकलित रु. ५० हजार राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी सोको जानकारी जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई गराइएको छ। राहत रकम हस्तान्तरणको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी गुरुङले विपद्को दुःखद् परिस्थितिमा विदेशमा रहेर पनि नेपाल र नेपालीप्रति माया, सद्भाव र जिम्मेवारी प्रदर्शन गर्दै राहत सहयोग गरेकोमा रामबजार सोसाइटी यूकेप्रति धन्यवाद व्यक्त गर्नुभयो।
सहयोग रकम जम्मा गरिएको जानकारी गराउने कार्यक्रममा रामबजार सोसाइटी यूकेका संस्थापक उपाध्यक्ष तथा पूर्वअध्यक्ष रूपक गुरुङ, सल्लाहकार डा. चन्द्रबहादुर गुरुङ, सहयोगी सदस्य सम्मरबहादुर श्रेष्ठ तथा हिरादेवी श्रेष्ठको सहभागिता रहेको थियो। रामबजार सोसाइटी यूके सन् २०१० मा बेलायतमा स्थापना भएको सामाजिक संस्था हो। संस्थाले नेपालमा आइपर्ने प्राकृतिक विपद् तथा विभिन्न सामाजिक कार्यमा निरन्तर सहयोग गर्दै आएको छ। विशेषगरी २०७२ सालको विनाशकारी भूकम्पका बेला समेत संस्थाले उल्लेखनीय तथा अतुलनीय सहयोग गरेको थियो।
नेपालमा आइपर्ने विपद्का समयमा विदेशमा रहेर पनि सहयोगको हात बढाउँदै आएको रामबजार सोसाइटी यूकेको यसपटकको सहयोगले रसुवा तथा भोटेकोशी बाढीपहिरोबाट प्रभावित परिवारको राहतमा थप योगदान पुग्ने विश्वास गरिएको छ। विपद्को समयमा पीडित नागरिकको साथमा उभिँदै मानवीय सेवाको भावनालाई निरन्तरता दिएकोमा रामबजार सोसाइटी यूके तथा सहयोगी सम्पूर्ण सदस्यहरूलाई धन्यवाद व्यक्त गरिएको छ।



