पोउवा संघको चुनावःफेन्सी तथा रेडिमेड व्यवसायी संघका ९ उम्मेदवार, मनोहरी पौडेल मात्र विजयी

-


     पोखरा क्लिक     
     भाद्र २४ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनमा उधोग वाणिज्य संघमा सवैभन्दा बढी सदस्य रहेको फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट विभिन्न पदमा उम्मेदवारी दिएका ९ जनामध्ये मनोहरी पौडेल मात्र विजयी भएका छन्। फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट पोखरा उधोग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा निर्वाचनमा अध्यक्षदेखि कार्यसमिति सदस्यसम्म विभिन्न पदमा आफ्ना ९ जना व्यवसायीलाई उम्मेदवार भएका थिए । तीमध्ये कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका पौडेलले निर्वाचनमा विजयी हासिल गर्दै संघको कार्यसमितिमा प्रतिनिधित्व सुनिश्चित गरेका हुन्।

फेन्सी तथा रेडिमेड व्यवसायी संघका तर्फबाट अध्यक्ष पदमा संघका पूर्व महासचिव बलराम आचार्य उम्मेदवार थिए। त्यस्तै वरिष्ठ उपाध्यक्षमा संघका आजीवन सदस्य टिकाराम सुवेदी, वाणिज्य उपाध्यक्षमा साधारण सदस्य भीम गौतम उम्मेदवार बनेका थिए। यसैगरी उपमहासचिव पदमा संघका अध्यक्ष यादव प्रसाद पोखरेल र उपमहासचिवमै साधारण सदस्य रामचन्द्र तिमिल्सेना उम्मेदवार थिए। कोषाध्यक्ष पदमा साधारण सदस्य जीवन प्रकाश श्रेष्ठ उम्मेदवार बनेका थिए। कार्यसमिति सदस्यतर्फ आजीवन सदस्य हरि प्रसाद अधिकारी, साधारण सदस्य नवीन नापित र साधारण सदस्य मनोहरी पौडेल चुनावी मैदानमा थिए।

शोभा गौतमको प्यानलमा समेत नपरेका पौडेल एक्लो विजयी बने

हालै अध्यक्षमा निर्वाचित शोभा गौतमको प्यानल समेत नपरेका पौडेलले स्वतन्त्र रूपमा सदस्यमा उमेदवारी दिएका थिए । फेन्सी तथा रेडिमेड व्यवसायीका आवद्व ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहे पनि निर्वाचन परिणाममा मनोहरी पौडेल मात्र निर्वाचित भएपछि फेन्सी तथा रेडिमेड व्यवसायी संघभित्र उनको विजयलाई विशेष चासोका रूपमा हेरिएको छ । पौडेलको विजयसँगै पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा फेन्सी व्यवसायी क्षेत्रको प्रतिनिधित्व भएको छ। व्यवसायीको हकहित, फेन्सी तथा कपडा व्यवसायको प्रवर्द्धन र व्यवसायमैत्री वातावरण निर्माणका विषयलाई कार्यसमितिमा प्रभावकारी रूपमा उठाउने अपेक्षा व्यवसायीहरूले गरेका छन्।

फेन्सी व्यवसायी संघबाट अध्यक्षसहित महत्वपूर्ण पदमा उम्मेदवारी परे पनि अन्य उम्मेदवारहरू निर्वाचित हुन नसक्दा निर्वाचन परिणाम संघभित्र विशेष चर्चाको विषय बनेको छ। नौ उम्मेदवारमध्ये एक जनाको विजयले संघको प्रतिनिधित्व र आगामी दिनमा व्यवसायीका मुद्दा उठाउने जिम्मेवारी पौडेलको काँधमा थपिएको छ। व्यवसायी तथा सामाजिक अभियन्ता,पत्रकार मनोहरी पौडेलले कार्यसमिति सदस्य पदमा उत्कृष्ट मत पाएसगै उनी प्रति व्यवसायी मतदाताहरुले निकै आशालाग्दो व्यक्त्तीका रुपमा हेरेका छन् ।

लामो समयदेखि व्यापार–व्यवसायसँगै सामाजिक तथा संस्थागत क्षेत्रमा सक्रिय पौडेल यसअघि पोखरा उद्योग वाणिज्य संघको मनोनीत कार्यसमिति सदस्यका रूपमा सफलतापुर्वक आफ्नो जिम्मेवारी पुरा गरेका थिए । संघका हरेक बैठकमा व्यवसायीहरुका समस्याहरु उठाउने गरेका पौडेल व्यवसायीका समस्या नजिकबाट बुझेका व्यक्त्ती हुन् । सरल अनि सयोगी पौडेलले संघलाई थप सक्रिय, व्यवसायीमैत्री र परिणाममुखी बनाउन व्यवसायीहरूले जिम्मेवारी दिएको बताएका छन् । व्यवसायीको हकहित संरक्षण, व्यावसायिक एकता र संघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ ।

पौडेलको विजयसँगै फेन्सी तथा रेडिमेड व्यवसायी संघले पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा आफ्नो आवाजलाई संस्थागत रूपमा प्रस्तुत गर्ने व्यक्ति प्राप्त गरेको छ। व्यवसायीहरूले निर्वाचित पौडेललाई व्यवसायीका साझा समस्या र मागलाई प्रभावकारी रूपमा उठाउन आग्रह गरेका छन्। बुद्व विशाल बजार व्यापारिक एशोसियसनका उपाध्यक्ष रहेका पौडेल पत्रकारितामा समेत सक्रिय छन् । उनी हाल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद् सदस्य हुन् । व्यवसाय, सामाजिक सेवा र सञ्चार क्षेत्रबाट प्राप्त अनुभवलाई उद्योग वाणिज्य संघमार्फत व्यवसायीको हितमा उपयोग गर्ने उनको भनाई छ ।