भोटेकोशी–त्रिशूली बाढी पीडितका लागि सिर्जना सेकेण्डरी स्कुलको पाँच लाख ५४ हजार सहयोग

-


     पोखरा क्लिक     
     भाद्र २४ गते २०८३ मा प्रकाशित


पोखरा,

रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पोखरा–८, सिर्जनाचोकस्थित सिर्जना सेकेण्डरी स्कुलले पाँच लाख ५४ हजार रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले विद्यालयले सञ्चालन गरेको अभियानमार्फत उक्त रकम संकलन गरिएको हो।

विपद्को समयमा मानवीय सहयोग आवश्यक रहेको भन्दै विद्यालय परिवारले विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासनको सहभागितामा राहत अभियान सञ्चालन गरेको जनाएको छ। विद्यालयका अनुसार संकलित रकममा विद्यार्थीको योगदान एक लाख ८७ हजार ९८२ रुपैयाँ रहेको छ। त्यस्तै, शिक्षक तथा कर्मचारीबाट एक लाख ५५ हजार ९४३ रुपैयाँ संकलन भएको छ भने विद्यालय प्रशासनले दुई लाख १० हजार ७५ रुपैयाँ थप गरेको छ। संकलित रकममध्ये तीन लाख २० हजार रुपैयाँ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीमार्फत बाढीपीडितको सहयोगका लागि हस्तान्तरण गरिनेछ। दुई लाख २० हजार रुपैयाँ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने विद्यालयले जनाएको छ। त्यस्तै, बाँकी १४ हजार रुपैयाँ नेपाल रेडक्रस सोसाइटी कास्की शाखामार्फत बाढीबाट प्रभावित नागरिकसम्म पुर्‍याइने बिद्यालयले जनाएको छ । बाढीमा ज्यान गुमाएका नागरिकप्रति विद्यालयले श्रद्धाञ्जलीसमेत अर्पण गरेको छ। विद्यालयले बाढीका कारण बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा उद्धारको कामना गर्दै घाइतेहरूको स्वास्थ्यलाभको प्रार्थना गरेको जनाएको छ।

विद्यालयका प्राचार्य डोलराज पाण्डेले शैक्षिक संस्था पठनपाठनमा मात्र सीमित नरही समाजप्रतिको आफ्नो दायित्वप्रति पनि सचेत हुनुपर्ने बताउनुभयो।विपद्को समयमा मानवीय संवेदनासहित एकअर्काको सहयोगमा अघि बढ्नु आवश्यक रहेको उल्लेख गर्दै उहाँले राहत अभियानमा विद्यार्थी, शिक्षक, कर्मचारी तथा प्रशासनको संयुक्त सहभागिताले सामाजिक एकताको सन्देश दिएको बताउनुभयो। ‘सानो–सानो सहयोग जुटाउँदै जाने हो भने ठूलो राहत कोष निर्माण गर्न सकिन्छ,’ प्राचार्य पाण्डेले भन्नुभयो। उहाँले विपद्का बेला सहयोग अभियानमा सहभागी हुने विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण विद्यालय परिवारप्रति आभार व्यक्त गर्नुभयो। विद्यालयले सञ्चालन गरेको यो अभियानले शिक्षण संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपद्का बेला पीडितको साथमा उभिन सक्ने उदाहरणसमेत प्रस्तुत गरेको छ।