
पोखरा,
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनको निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको दौडधुप बढेको छ। भदौ २० र २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदकी उम्मेदवार शोभा गौतम नेतृत्वको टिम यतिबेला उद्योगी व्यवसायीको घरदैलोमा व्यस्त छ।
व्यवसायीका समस्या सुन्ने, सुझाव लिने र आफ्नो योजना सुनाउने उद्देश्यसहित गौतम नेतृत्वको टोली विभिन्न व्यवसायीमाझ पुगिरहेको छ। चुनावी प्रचारका लागि मात्र नभई व्यवसायीले दैनिक भोगिरहेका समस्या र आगामी दिनमा संघबाट अपेक्षा गरेका विषय बुझ्न घरदैलो अभियानलाई प्राथमिकता दिएको टिमको भनाइ छ। घरदैलोमा पुग्दा व्यवसायीबाट पनि नयाँ नेतृत्वप्रति चासो र अपेक्षा व्यक्त भइरहेको गौतम पक्षको अनुभव छ। लामो समयदेखि व्यवसायीका साझा समस्या समाधानका लागि बलियो संस्थागत आवाज आवश्यक रहेको भन्दै व्यवसायीहरूले नेतृत्वले परिणाम दिनुपर्ने अपेक्षा राखेका छन्।
यही अपेक्षाबीच शोभा गौतमको उम्मेदवारी भने यस निर्वाचनको एउटा महत्वपूर्ण पक्ष बनेको छ। उनी निर्वाचित भए पोखरा उद्योग वाणिज्य संघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्नेछिन्। यसअघि संघमा महिला नेतृत्वको सहभागिता भए पनि अध्यक्षको जिम्मेवारी भने महिलाले सम्हाल्ने अवसर पाएका छैनन्। गौतमले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि संस्थागत परिवर्तन र समावेशी नेतृत्वको अभियानका रूपमा प्रस्तुत गरेकी छन्। संघमा उपसमितिदेखि कार्यसमिति, उपमहासचिव हुँदै महासचिवसम्मको जिम्मेवारी सम्हालेकी गौतमले आफ्नो अनुभवलाई अध्यक्षको भूमिकामा उपयोग गर्ने बताउँदै आएकी छन्।
गौतमको टिमको अर्को विशेषता भनेको अनुभव र नयाँ पुस्ताको संयोजन हो। वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदीजस्ता अनुभवी व्यवसायीदेखि उद्योग उपाध्यक्षमा युवा व्यवसायी सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुंगाना, कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ र उपमहासचिवमा यादव पोखरेल छन्। टिमले आफूलाई उद्योग, व्यापार, पर्यटन, महिला उद्यमशीलता र युवा व्यवसायी लगायत निजी क्षेत्रका विभिन्न क्षेत्र र पुस्ताको प्रतिनिधित्व गर्ने समावेशी टिमका रूपमा अघि सारेको छ।
टिमको एजेन्डामा उद्योगी व्यवसायीका वास्तविक समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने, स्थानीय उत्पादन, स्थानीय उद्यम र स्थानीय बजारलाई प्राथमिकता दिने विषय छन्। त्यस्तै युवा तथा महिला उद्यमशीलतालाई प्रोत्साहन, लगानीमैत्री वातावरण निर्माणका लागि सरकारसँग सहकार्य तथा पैरवी, पोखराको पर्यटन र आर्थिक सम्भावनालाई उद्योग व्यवसायसँग जोड्ने योजना पनि अघि सारिएको छ। बदलिँदो आर्थिक परिवेश र प्रविधिको विकाससँगै संघलाई पनि समयअनुकूल बनाउनुपर्नेमा टिमले जोड दिएको छ। संघलाई प्रविधिमैत्री, आधुनिक, पारदर्शी र प्रभावकारी संस्थाका रूपमा विकास गर्ने तथा साना, मझौला र ठूला सबै व्यवसायीको साझा आवाजका रूपमा स्थापित गर्ने प्रतिबद्धता उसको एजेन्डामा छ। युवा सहभागितालाई पनि टिमले आफ्नो महत्वपूर्ण आधार बनाएको छ। उद्योग उपाध्यक्षका उम्मेदवार सौगात थापाले अग्रजको अनुभवसँग युवाको ऊर्जा जोडेर संघलाई नयाँ उचाइमा पुर्याउनुपर्ने बताउँदै युवा व्यवसायीको आवाज नेतृत्व र निर्णय प्रक्रियासम्म पुर्याउने उद्देश्य राखेका छन्।
यही कारण गौतम टिमका लागि अहिलेको घरदैलो अभियान मत माग्ने माध्यम मात्र बनेको छैन। व्यवसायीका अपेक्षा सुन्ने र आफ्नो योजनामाथि विश्वास निर्माण गर्ने प्रयासका रूपमा पनि यसलाई हेरिएको छ। पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि चार जना प्रतिस्पर्धामा छन्। तर गौतमको उम्मेदवारीका कारण यसपटकको निर्वाचनमा महिला नेतृत्व र समावेशिताको प्रश्न पनि चुनावी बहसको महत्वपूर्ण हिस्सा बनेको छ। अबको केही दिनमा गौतम टिमले घरदैलोमा सुनेका व्यवसायीका समस्या र अपेक्षालाई मतमा रूपान्तरण गर्नुपर्नेछ। व्यवसायीले परिवर्तन खोजेका हुन् वा निरन्तरता, अनुभवलाई प्राथमिकता दिन्छन् वा नयाँ ऊर्जालाई त्यसको जवाफ निर्वाचनले दिनेछ।




