
पोखरा,
अपाङ्गता भएका व्यक्तिको मानसिक तथा शारीरिक विकाससँगै मनोरञ्जन, आत्मविश्वास र सामाजिक सहभागिता बढाउन खेलकुदलाई प्राथमिकता दिनुपर्नेमा पोखरामा आयोजित एक छलफलका सहभागीहरूले जोड दिएका छन्। अपाङ्गता भएका व्यक्तिका लागि विशेष रूपमा खेल्न सकिने बोसिया लगायतका खेलको पहुँच विस्तार गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका हुन्।

उनीहरूले यस्ता खेलले अपाङ्गता भएका बालबालिका, युवा तथा वयस्कको शारीरिक सक्रियता बढाउनुका साथै मानसिक स्वास्थ्य, आत्मविश्वास र सामाजिक घुलमिलमा समेत सकारात्मक प्रभाव पार्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेलले अपाङ्गता भएका व्यक्तिका लागि बोसियाजस्ता खेल अत्यन्त प्रभावकारी हुने बताइन्। उनका अनुसार यस्ता खेलले शारीरिक तथा मानसिक विकासमा सहयोग गर्नुका साथै मनोरञ्जन र सामाजिक सहभागिताको अवसरसमेत प्रदान गर्छ। “अपाङ्गता भएका व्यक्तिका लागि यस्ता खेल निकै प्रभावकारी हुन्छन्। उनीहरूको मानसिक तथा शारीरिक विकास र मनोरञ्जनका लागि पनि खेल आवश्यक छ,” पौडेलले भनिन्।

छलफलमा सहभागीहरूले बोसियाबारे अझै पनि धेरै व्यक्ति तथा संस्थालाई पर्याप्त जानकारी नभएको बताएका थिए। ललिता ढुंगानाले आफूले सात वर्षसम्म काम गरे पनि बोसिया खेलबारे हालै मात्र जानकारी पाएको बताइन्। होम भिजिटरका रूपमा काम गर्दै आएकी उनले अपाङ्गता भएका व्यक्तिका लागि यस्तो खेलको पहुँच विस्तार गर्न सके निकै राम्रो हुने धारणा राखिन्। कार्यक्रम संयोजक विकास कुँवरले बोसिया खेलबारे सुने पनि आफू आबद्ध मस्तिष्क पक्षघात संरक्षण समूहमा अहिलेसम्म खेल सञ्चालन नगरिएको बताए। अब भने अपाङ्गता भएका बालबालिका तथा युवाका लागि खेल सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ। “यो खेलले थेरापीको काम पनि गर्छ। अपाङ्गता भएका बालबालिका तथा युवाको मानसिक र शारीरिक क्षमता बढाउन सहयोग पुग्ने भएकाले अब हामी पनि यो खेल सञ्चालन गर्छौँ,” कुँवरले बताए।
मस्कुलर डिस्ट्रोफी भएका पूर्ण बीकेले पनि आफूले अपाङ्गता भएका व्यक्तिका लागि बोसियाजस्तो खेल खेल्न सकिनेबारे जानकारी नपाएको बताए। खेलबारे जानकारी पाएपछि यस्ता गतिविधि समय–समयमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै, साथी संसार नेपालकी खुमकुमारी रानाले अपाङ्गता भएका व्यक्तिका लागि खेल सञ्चालन गर्दा सहभागीको रुचि र इच्छालाई समेत प्राथमिकता दिनुपर्ने बताइन्। यसअघि खेलकुदका कार्यक्रम सञ्चालन गरे पनि बोसियाबारेको छलफलबाट आफूहरूले धेरै नयाँ कुरा सिकेको उनले बताइन्।
इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयका अध्यक्ष निर्मल थापाले विद्यालयमै बोसियालगायतका खेल सञ्चालन गर्न आफूहरू तयार रहेको बताए। विद्यालयका कक्षागत तथा वार्षिक कार्यक्रममा समेत यस्ता खेललाई समेट्न सकिने उनको भनाइ छ। खेलका लागि आवश्यक सामग्री तथा बल उपलब्ध भए विद्यालयले आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। विद्यालयका उप—प्रधानाध्यापक बलबहादुर श्रेष्ठले खेलकुदको सामाजिक तथा शैक्षिक महत्व रहेको बताउँदै विद्यालयको आगामी वार्षिक क्यालेन्डरमा बोसिया खेललाई समेट्ने बताए। विद्यालयमा आवश्यक खेलमैदान तथा पूर्वाधार निर्माणका लागि समेत पहल गर्ने उनको भनाइ छ।
अपाङ्गता भएका व्यक्ति र अपाङ्गता नभएका व्यक्तिलाई एउटै गतिविधिमा सहभागी गराउँदै समावेशी वातावरण निर्माण गर्नुपर्नेमा पनि सहभागीहरूले जोड दिएका छन्। नेपालका लागि बोसिया खेलको विकाससँगै समावेशी खेलकुदको अवधारणालाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। छलफलमा अपाङ्गता भएका व्यक्तिको क्षमता र रुचिअनुसार खेल छनोट गर्ने, खेल सञ्चालनअघि खेलाडीको इच्छा र आवश्यकता बुझ्ने तथा विद्यालय, पुनःस्थापना केन्द्र र समुदायस्तरमा खेलको पहुँच विस्तार गर्नुपर्ने सुझावसमेत दिइएको थियो।
सहभागीहरूले अपाङ्गता भएका व्यक्तिलाई खेलकुदको दर्शक मात्र नभई खेलाडीका रूपमा विकास गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्। बोसियाजस्ता खेललाई नियमित रूपमा सञ्चालन गर्न सके अपाङ्गता भएका व्यक्तिको शारीरिक सक्रियता, मानसिक विकास, आत्मविश्वास र सामाजिक सहभागिता बढाउन महत्वपूर्ण योगदान पुग्ने उनीहरूको निष्कर्ष थियो। प्रदेश खेलकुद परिषका पूर्व सदस्य अमृत बरालले क्षमता भएका व्यक्तिहरुको लागि विभिन्न खेलकुद पूतियोगितामा सहभागितागराउनु पर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रमले धेरै संघ संस्था र व्यक्तिलाई खेलकुद प्रतिको क्रेज बढेको संघका कर्मचारी बर्षा अधिकारीले बताउनु भयो ।




