व्यवसायमा सफल, व्यवसायी नेतृत्वको नजिक बुद्धाचार्य

-


     पोखरा क्लिक     
     भाद्र १७ गते २०८३ मा प्रकाशित


पोखरा,

विक्रमको २०४२/०४३ सालतिर अहिले पोखराको मुटु भनेर चिनिने चिप्लेढुङ्गा बजार यस्तो गुल्जार थिएन । उसो त, दिउँसै स्याल डुल्ने, फाट्टफुट्ट घरहरु भएको चिप्लेढुङ्गाले बजारकै उपमा गुथ्न पनि बाँकी नै थियो । अहिलेको चिप्लेढुङ्गालाई ‘पोखराको मुटु’ उपमाले सजाउन अनेकौ व्यवसायीका दुरदृष्टि, पसिना र संघर्षका कथाहरु छन् ।

चालिसको दशकदेखि आजसम्म निरन्तर चिप्लेढुङ्गामै उभिएको र उसले प्राप्त गरेको उपमामा केहि योगदान गरेको एउटा व्यवसाय हो– ‘एलिगेन्स ट्रेड सेन्टर’ र सुनचाँदी व्यवसायीको पुस्तैनी पृष्ठभूमि भन्दा बाहिर फ्लोरिङ् तथा फर्निसिङ् व्यवसाय शुरु गर्ने व्यवसायी हुन् उत्तममान बुद्धाचार्य । सो बेला पोखरामा विस्तारै पर्यटकीय गतिविधिको चहलपहल शुरु हुँदै थियो । अहिलेजस्तो बाटोको सहज सुविधा थिएन । ढुवानीका लागि न त पर्याप्त सवारी साधन नै थिए । आधुनिक सिप भएका कामदार पाउनु फलामको च्युरा चपाउनुसरह थियो । यद्यपी, पोखरामा होटल व्यवसाय फस्टाउँदै गयो र त्यहाँ सोफा, कुर्ची लगायतका सामानको आवश्यकता बढ्दै गयो । होटल मात्रै होइन, विभिन्न अफिससहित घरायासी प्रयोजनका लागि समेत फर्निचरको माग बढन थाल्यो । उत्तमले फर्निचरसँगै आधुनिकता पछ्याउँदै गरेको पोखराका लागि पर्दा, कार्पेट, डोरम्याटलगायतका सामाग्रीहरु भारतदेखि मगाएर परिपूर्ति गर्न थाले । पोखरा आधुनिक बन्दै गयो, आवश्यकताहरु थपिँदै गए । उनी भन्छन, ‘त्यो बेला मैले इलेक्ट्रिक सामानहरु फ्रिज, पंखा, कटलरी सामानहरु समेत थप गरेर व्यापार गर्न थालेँ।’ उत्तम व्यापार, व्यवसायमा मात्रै होइन, सानैबाट सामाजिक कार्यमा समेत सहभागी भइरहन्थे ।१४÷१५ वर्षकै उमेरमा उनी पोखरा कै मोहोरिया टोलमा रहेको ‘मोहोरियाटोल चिल्ड्रेन क्लब’ मा आवद्ध भए । पछि सोहि टोलमा ‘संगम युथ ग्रुप’ स्थापना भएपछि उनी यसमा पनि सक्रिय रहे । सो ग्रुपमा रहेर बुद्धिचाल प्रतियोगिता, धुम्रपान विरुद्धको सचेतनामुलक कार्यक्रम, सडकमा स्पिड ब्रेकर अभियानको थालनीजस्ता पूर्वस्मृतिले उत्तम नोस्टाल्जिक बन्छन् ।

आध्यात्मिक स्वभावका उत्तमले बुद्ध दर्शन अध्ययन गरेका छन् । ‘बुद्ध धर्म संघ’ नामक संस्था स्थापना गरेका उत्तमले अहिलेपनि सक्रिय रुपमा सो संस्थामार्फत गतिविधिहरु गरिरहेका छन् र्। संगीत क्षेत्रमा झुकाव राख्ने उत्तमको नाम पोखराको ‘संगित प्रशिक्षण केन्द्र’को संस्थापकमा समेत जोडिन्छ । यति मात्रै होइन, उनी लायन्स क्लब, रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र, पोखराको अनदु डाडाँमा रहेको विश्व शान्ति स्तुप लगायत विभिन्न संस्थाको समितिमा रहेर काम गरिसकेका छन् । उत्तमको व्यवसायिक र सामाजिक सक्रियता देखेर उद्योग वाणिज्य संघमा जोडिन उनलाई साथीभाई र परिवारले घच्घच्याउन थाले । छोराहरुले विस्तारै व्यवसायमा हातेमालो गर्न थालेपछि उत्तमले संघमा जोडिएर काम गर्ने मनसाय बनाए । वि. सं. २०७३ मा कार्यसमिति सदस्यका रुपमा उद्योग वाणिज्य संघमा उम्मेदवारी दिएका उत्तम अत्याधिक मत ल्याएर विजयी भए । एक कार्यकाल सदस्यका रुपमा रहेर काम गरेपछि उनी वाणिज्य उपाध्यक्षका रुपमा निर्वाचित भए । हाल उनी संघको वरिष्ठ उपाध्यक्ष हुन् । यतिबेला पोखरा उद्योग वाणिज्य संघलाई चुनावी रन्को छ । संघको ३६ औं महाधिवेशनमा उत्तमले आफूलाई अध्यक्षको दावेदारका रुपमा प्रस्तुत गर्दै उमेद्वारी घोषणा गरेका छन् ।

उत्तमलाई लाग्छ, ‘व्यवसायिक हक हितका लागि पोखरा उद्योग वाणिज्य संघ सही स्थान हो र यसले व्यवसायीकै हितका लागि काम गर्छ ।’ उत्तमका अनुसार पोखरा उद्योग वाणिज्य संघसंग आवद्ध करिब २० वटा अन्य व्यवसायिक संघसंस्था छन् । व्यवसायीलाई केही समस्या परेको अवस्थामा कानुनीदेखि अन्य विभिन्न समस्याको समाधानमा संघ उभिन्छ । संघमा आवद्ध नभएका व्यवसायीको समस्यामा पनि संघले प्रभावकारी भूमिका खेल्नुपर्ने उनी बताउँछन् । उत्तम संघमा अध्यक्षको लागि आफ्नो उमेद्वारी कुनै व्यक्ति वा समूहविरुद्ध नभएको दावी गर्छन् । आफुँ अहिले संघको वरिष्ठ उपाध्यक्ष भएकोले अध्यक्षमा स्वत ः आफ्नो उम्मेदवारी रहने, बलियो व्यवसायिक उपस्थिती, लामो समयको व्यवसायिक अनुभव र आफ्नो सामाजिक छवि उम्मेदवारीको बलियो आधार रहेको उत्तमको तर्क छ । अध्यक्षका लागि निर्वाचन अघि टिम बनाउनेतर्फ नलागि संघका सदस्यको विश्वास जितेर निर्वाचित भएर आउने साथीहरुलाई एकतावद्ध गरि अघि बढनु संघको हितमा रहेको उत्तमको ठम्याई छ ।

पोखरा उद्योग वाणिज्य संघलाई आधुनिक, पारदर्शी प्रविधि एवं व्यवसायीमैत्री र परिणाममुखी संस्थाका रुपमा अगाडि बढाउन आफू प्रतिबद्ध रहेको उनी बताउँछन् ।‘व्यवसायीको आवाजलाई नीतिसँग, अवसरलाई उद्यमसँग र पोखराको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा काम गर्नेछु ।’ उनी भन्छन, ‘मैले यो चुनाव जितेर आएको खण्डमा हाम्रा साना–ठूला व्यवसायी, जसको समस्या सुन्ने र समाधानमा संघले नै पैरवी गर्ने मेकानिजम बनाउँछु ।’ पोखरामा रहेका साना तथा ठूला व्यवसायीको समस्याको रुपमा उत्तम ट्राफिक व्यवस्थापन तथा सामान ढुवानीलाई समस्याका रुपमा लिन्छन् । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्राय व्यवसायी यो समस्याबाट गुज्रिरहेको उनको अनुभव छ । ‘यो विषयमा स्थानीय सरकारसंग हाम्रो छलफल भइरहेको छ, यसलाई वैज्ञानिक र सुव्यवस्थित तरिकाले पार्किङको व्यवस्थापन गर्नु एकदमै जरुरी छ ।’ उनी भन्छन् ‘व्यापारी र घरधनीबीच बहाल सम्बन्धी समस्या देखिन्छ, उहाँहरुलाई संगै राखेर समस्याको समाधान गर्ने प्रक्रिया जारी छ ।’
उमेद्वारी दिने निर्णय आफ्नो र पदको लागि मात्रै नभएर पोखरामा रहेर पोखरा उद्योग वाणिज्य संघसंग आवद्ध भएका वा नभएका सानाठूला व्यवसायीका लागि भएको उनको भनाई छ ।

कुनै पनि सानाठूला व्यवसायीको लडाईँ एक्लो व्यवसायीको लडाईँ मात्र नभएर सम्पूर्ण यस क्षेत्रसंघ सम्बन्धित व्यक्तिको भएको उनको ठम्याईँ छ । यसका लागि एकजुट हुनै पर्नेमा उनी जोड दिन्छन् । यो समयमा आउने सल्लाह, सुझाव सहित आलोचनाको लागि समेत तयार छन् उनी । सबैको सल्लाह सुझाव र आलोचनालाई शिरोपर गर्दै अगाडि बढ्ने उनले बताए । ‘नयाँ अवसर पहिचान गर्ने, व्यवसायीलाई प्रविधि र बजारसँग जोड्ने तथा नीतिगत तहमा प्रभावकारी भूमिका खेल्ने संस्थाका रूपमा अघि बढ्नुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ ।’ उनले भने, ‘एआईको जमानामा पोखरामा रहेका व्यवसायीलाई प्रविधिमैत्री बनाउँदै उहाँहरुको हकहितका लागि लड्ने र समस्या आइपर्दा एकजुट भएर हिड्ने मेरो नेतृत्वको योजना हुनेछ ।’