
पोखरा,
पोखरा उद्योग वाणिज्य संघको कार्यालय र गैह्रापाटनस्थित एउटा चिया पसलबीचको दूरी खासै लामो छैन । तर, यही छोटो दूरी पार गर्न शोभा गौतमलाई जीवनको लामो संघर्ष गर्नुपर्यो ।
२०३७ सालमा कास्कीकोटको सामान्य परिवारमा जन्मिएकी शोभाको १६ वर्षकै उमेरमा विवाह भयो । विवाहपछि जीवनले नयाँ मोड लियो । श्रीमान् वैदेशिक रोजगारीमा रहेका बेला उनी पोखरा आइन् र छोरालाई गर्भमा राखेरै व्यवसायिक यात्रा सुरु गरिन् । गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय कास्कीको अगाडि उनले चिया पसल सञ्चालन गरिन् । द्वन्द्वकालको कठिन समय थियो । व्यवसाय चले पनि एकल महिलाले चिया पसल चलाएको भन्दै समाजबाट अनेक टिप्पणी र प्रश्न सामना गर्नुपर्यो । तर, ती प्रश्नले उनलाई रोक्न सकेनन् । पारिवारिक र आर्थिक कठिनाइबीच उनले चिया पसलबाट व्यवसाय परिवर्तन गर्दै करिब ६० हजार रुपैयाँ लगानीमा ‘पुष्पाञ्जली हर्बल ब्युटी पार्लर’ सुरु गरिन् । त्यसबेला ब्युटिसियन पेशा आजजस्तो स्थापित थिएन । यो क्षेत्रप्रति समाजको दृष्टिकोण पनि सहज थिएन । तर, शोभाले ती सामाजिक धारणालाई चुनौती दिँदै आफ्नो व्यवसायलाई निरन्तरता दिइन् । व्यवसायसँगै उनले छोरा हुर्काइन्, पढाइलाई निरन्तरता दिइन् र आफ्नो पहिचान निर्माण गरिन् । आर्थिक अभाव, सामाजिक टिप्पणी र पारिवारिक चुनौतीबीच उनले व्यवसायलाई विस्तार गर्दै लगिन् ।
आज शोभा ‘पुष्पाञ्जली फेसन एन्ड इभेन्ट’ तथा सफल एड्भर्टाइजिङ कम्पनी सञ्चालन गरिरहेकी छन् । व्यवसायसँगै उनी महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि र सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय छिन् । मानव सेवा आश्रमसँगको आबद्धताले उनको सामाजिक सक्रियतालाई समेत निरन्तरता दिएको छ । सानैदेखि पढ्ने इच्छा भए पनि बीचमा रोकिएको उनको अध्ययन पछि पुनः सुरु भयो । उनले कानुन संकायमा स्नातक तह पूरा गरिन् । व्यवसायिक यात्रासँगै पोखरा उद्योग वाणिज्य संघमा पनि सक्रिय हुँदै उनी कार्यसमितिको सदस्य, विभिन्न जिम्मेवारी हुँदै महासचिवसम्म पुगिन् । संघमा काम गर्दै गर्दा उनले उद्योगी व्यवसायीका समस्या, सम्भावना र संस्थागत आवश्यकतालाई नजिकबाट बुझ्ने अवसर पाइन् । यही अनुभवका आधारमा अहिले उनी पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशनमा अध्यक्ष पदकी उम्मेदवार बनेकी छन् । अध्यक्ष पदको उम्मेदवारीसँगै शोभाले आफ्नो लामो व्यवसायिक तथा संस्थागत अनुभवलाई संघको नेतृत्वमा उपयोग गर्ने बताएकी छन् । व्यवसायीका समस्या सुन्ने मात्र नभई समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने, महिला तथा युवा उद्यमीलाई थप अवसरसँग जोड्ने र संघलाई अझ व्यवसायीमैत्री बनाउने उनको प्राथमिकता छ ।
“संघमा मैले पाएका हरेक जिम्मेवारीलाई पदका रूपमा होइन, व्यवसायीको सेवा गर्ने अवसरका रूपमा लिएकी छु,” शोभा भन्छिन्, “अबको नेतृत्वमा पनि सबै व्यवसायीलाई साथमा लिएर संघलाई अझ बलियो, पारदर्शी र परिणाममुखी बनाउने मेरो प्रयास हुनेछ ।” उनको उम्मेदवारीलाई व्यक्तिगत यात्राको अर्को खुड्किलोका रूपमा मात्र होइन, व्यवसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय एक महिला उद्यमीको नेतृत्व दाबीका रूपमा पनि हेरिएको छ । कुनै समय जिल्ला प्रहरी कार्यालय अगाडि चिया बेच्ने शोभा अहिले त्यही क्षेत्रको नजिक रहेको पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि प्रतिस्पर्धामा छिन् । सडक वारपारको यो दूरी भौगोलिक रूपमा छोटो भए पनि उनको जीवन यात्रामा भने दशकौँ लामो संघर्ष, मेहनत र आत्मविश्वासको कथा जोडिएको छ । चिया पसलबाट सुरु भएको उनको व्यवसायिक यात्रा अहिले उद्योग वाणिज्य संघको अध्यक्ष पदको उम्मेदवारीसम्म आइपुगेको छ । अब उनको यात्रा व्यवसायीको साझा संस्थालाई कसरी नेतृत्व दिने भन्ने नयाँ अध्यायतर्फ अघि बढेको छ ।




