
पोखरा, १६ भदौ,
पोखरा जाभा कफी हाउसले पाँच दिनको सम्पूर्ण बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्दैछ । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कफी हाउसले यस्तो अभियान सञ्चालन गरेको हो।

पोखरा जाभाले भदौ १४ देखि १८ गतेसम्म सञ्चालन गर्ने अभियानअन्तर्गत पाँच दिनमा बिक्री हुने सबै सामग्रीको बिल बराबरको रकम सिधै सरकारी कोषमा जम्मा हुने व्यवस्था मिलाएको संचालक एवं पर्यटन व्यवसायी ममता न्यौपाने तथा एकराज न्यौपानेले बताउनु भयो । अभियानमा ग्राहकले बिल भुक्तानी गर्दा विशेष क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। उक्त क्यूआर कोडमार्फत गरिएको भुक्तानी पोखरा जाभाको बैंक खातामा नभई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा सिधै जम्मा हुने व्यवस्था गरिएको न्यौपाने परिवारले पोखराक्लिकलाई जनाएको छ।
उक्त अभियान लेकसाइडस्थित हल्लनचोक र जरेबर शाखामा सञ्चालन भइरहेको छ भने आज उक्त अभियानको तेश्रो दिन हो । ‘संकटको यो घडीमा थोरै भए पनि बाढी प्रभावित परिवारको पीडामा मलम लगाउन सकियोस् भन्ने उद्देश्यले यस्तो अभियान सुरु गरेका हौं,’ एकराज न्यौपानेले भने। उनका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु गरिएको अभियानमा सहभागी भई बाढी प्रभावितको सहयोगमा साथ दिन सबै ग्राहक तथा शुभेच्छुकलाई आग्रह गरिएको छ। कफिको चुस्कीसंगै सामाजिक उत्तरदाहित्वको बोध गराउन सानो अभियान संचालन गरिएको महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष समेत रहनु भएकी एवं संचालक ममता न्यौपानेले जनाउनु भयो ।




