भोटेकोशी बाढी प्रभावितका लागि पोखरा यातायात प्रालिले ४ लाख रुपैयाँ सहयोग गर्ने

-


     पोखरा क्लिक     
     भाद्र १६ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १६ भदौ

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पोखरा यातायात प्रालिले ४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरिएको प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले पोखराक्लिकलाई जानकारी दिनुभयो।

प्रालिले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष गुरुङले बताउनुभयो। “देशमा विपत्ति परेको बेला हाम्रो तर्फबाट पनि केही सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले यो निर्णय गरेका हौं,” उहाँले भन्नुभयो। पोखरा यातायात प्रालिले हाल करिब ३ सय ५० वटा माइक्रोबस सञ्चालन गर्दै आएको छ। सार्वजनिक यातायात क्षेत्रमा सेवा दिँदै आएको प्रालिले पछिल्लो समय पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विरौटा तथा लेकसाइड क्षेत्रसम्मका लागि दुईवटा स्तरीय बस सेवासमेत सञ्चालनमा ल्याएको छ।

तर विमानस्थल–विरौटा–लेकसाइड रुटमा सञ्चालन गरिएको उक्त बस सेवा अपेक्षाअनुसार प्रभावकारी हुन नसक्दा मासिक घाटा व्यहोर्नुपरेको अध्यक्ष गुरुङले बताउनुभयो। यात्रुको अपेक्षित चाप नहुँदा सञ्चालन खर्च धान्नसमेत कठिन भइरहेको उहाँको भनाइ छ। सार्वजनिक यातायातलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकायले आवश्यक सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। पोखरा यातायात प्रालिले एकातर्फ सार्वजनिक यातायात सेवा विस्तार गर्दै आएको छ भने अर्कोतर्फ सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ।