
पोखरा, भदौ १३,
पाँचौ मञ्जुबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा पालिखेचोकस्थित प्रतिभा मावि च्याम्पियन भएको छ । कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा पोखरामा शनिबार भएको फाइनल खेलमा प्रतिभा मावि च्याम्पियन बनेको हो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा प्रतिभाले गुरूकुल मावि विरुद्ध झिनो १ गोलको अन्तरले जित हात पर्न सफल भएको हो । फाइनल खेलमा प्रतिभाले १२ गोल गर्दा गुरुकुलले ११ गोल गरेको थियो ।
प्रतिभा च्याम्पियन भएसँग नगद २० हजार र गुरुकुलले नगद र १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् । त्यस्तै सो प्रतियोगितामा प्रगती माबि र पोखरा एकेडेमीले तेस्रो स्थान हात पारे । दुईदिन सम्म सञ्चालन भएको प्रतियोगितामा गुरुकुलका संस्कार गुरूङ वेष्ट प्लेयर, प्रतिभाका सुजल पुन सर्वाधिक गोलकर्ता, गुरुकुलकै सितल गुरुङ बेष्ट गोल गोलकिपर तथा प्रतिभाका विशाल नेपाली उत्कृष्ट प्रशिक्षक घोषित हुँदै ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको मुख्य प्रायोजन स्व। बस्नेतको नाउँमा स्थापित मञ्जु बहादुर बस्नेत मेमोरियल ट्रष्टले गरेको थियो । स्वर्गिय बस्नेतका छोरा विशाल बस्नेत राष्ट्रिय ह्याण्डबल टिमका कप्तान तथा नेपाली जुनियर ह्याण्डबल टिमका प्रशिक्षक समेत् हुन् । बिजेता टिम तथा खेलाडीहरुलाई कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्रबहादुर थापा, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरूङलगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । समापन तथा फाइनल खेलको शुभारम्भ जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले गरेका थिए । प्रतियोगितामा बाग्लुङसहित विभिन्न जिल्लाका ८ टिमको सहभागिता रहेको थियो । प्रतिभा माबिका निर्देशक राकेश जोशिले प्रतिभाले खेल क्षेत्रमा हरेक वर्ष उत्कृष्ट खेल प्रर्दशन गरेको बताए ।





