
पोखरा, १० भदौ,
भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पोखरा–काठमाडौं सडकमार्ग प्रभावित भएपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–काठमाडौं हवाई सेवा थप गर्न बुद्ध एयर, श्री एयर लायन्स , यति एयरलायन्स तीनवटै कम्पनीलाई आग्रह गर्नुभएको छ । बाढीका कारण स्थलमार्गबाट काठमाडौं जाने अवस्था असहज बनेपछि पोखरामा रहेका स्वदेशी तथा विदेशी पाहुना र अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने महानगरवासीलाई सहज बनाउन हवाई उडान बढाउन आग्रह गरिएको उहाँले जनाउनु भयो ।
मेयर आचार्यले पोखरा–काठमाडौं रुटमा आवश्यकता हेरेर थप उडान सञ्चालन गर्न तीनवटै एयरलाइन्स कम्पनीसँग आग्रह गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार एयरलाइन्स कम्पनीहरूले समेत आवश्यक सेवा थप गरी उडान सञ्चालन गर्न सहमति जनाएका छन् । मौसमका कारण उडान रोक्नुपर्ने अवस्था बाहेक अत्यावश्यक यात्रुका लागि हवाई सेवा थप सञ्चालन गर्न उहाँले आग्रह गर्नु भएको हो । उहाँले अत्यावश्यक कामबाहेक पोखराबाट पूर्वतर्फ यात्रा नगर्नसमेत सुझाव दिनु भएको छ ।
“भोटेकोशी र त्रिशूली नदीमा आएको अकल्पनीय बाढीका कारण पोखरा–काठमाडौं सडक आवागमनमा समस्या उत्पन्न भएको छ । यस्तो अवस्थामा अत्यावश्यक यात्रुका लागि सम्भव भएसम्म हवाई सेवाको उपयोग गर्न अनुरोध गर्दछु,” मेयर आचार्यले भन्नुभएको छ । उहाँले विपद्को समयमा नागरिकको सुरक्षा पहिलो प्राथमिकता भएको भन्दै सबैलाई सतर्क र संयमित रहन आग्रह गर्नुभएको छ । पोखराबाट पूर्वतर्फ जाने सबै सवारी साधनलाई तत्काल रोक लगाइएको जानकारी दिँदै उहाँले सम्बन्धित सबैलाई आवश्यक सावधानी अपनाउन अपिल गर्नुभएको छ ।
यसैबीच पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पोखराले पनि बाढी तथा प्राकृतिक विपद्का कारण उत्पन्न विषम परिस्थितिमा नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्न अपिल गरेको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लाका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्को अवस्था सिर्जना भएको जनाउँदै कम्पनीले सम्भावित जनधनको क्षति न्यूनीकरणका लागि सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
कम्पनीले भोटेकोशी, त्रिशूलीलगायतका नदी तथा खोलाका तल्लो तटीय क्षेत्र र आसपास बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा नदी र खोलाको आसपास नजान आग्रह गरेको छ । विशेषगरी नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन कम्पनीले अनुरोध गरेको छ । यसैबीच पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा आबद्ध ग २ ख ११५२ नम्बरको बस गोर्खाको पालुङटारबाट गोसाइँकुण्ड गई फर्कने क्रममा नुवाकोटको गेर्खुटारबाट बुधबार बिहान करिब ९ः२० बजेदेखि यात्रुसहित सम्पर्कविहीन भएको कम्पनीले जनाएको छ । बसमा करिब ३५ जना यात्रु रहेको प्रारम्भिक जानकारी प्राप्त भएको कम्पनीको भनाइ छ ।
सम्पर्कविहीन बस तथा त्यसमा सवार यात्रुको खोजी कार्य सम्बन्धित निकाय र सुरक्षाकर्मीको समन्वयमा भइरहेको कम्पनीले जनाएको छ । बसमा सवार यात्रु तथा चालक र सहचालकको सकुशल उद्धारका लागि तत्काल प्रभावकारी खोज तथा उद्धार कार्यलाई तीव्रता दिन कम्पनीले सम्बन्धित निकायसँग आग्रह गरेको छ । विपद्को यस कठिन समयमा सम्भावित थप क्षति न्यूनीकरण, खोज तथा उद्धार एवं राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले आवश्यक सम्पूर्ण संयन्त्र तत्काल परिचालन गर्नुपर्ने कम्पनीको भनाइ छ ।
कम्पनीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, नागरिक समाज, स्वयंसेवक, यातायात व्यवसायी, चालक तथा सहचालक र सम्बन्धित सबै निकायलाई जोखिमयुक्त क्षेत्रमा आवश्यक तयारीसहित उद्धार तथा राहत कार्यमा जुट्नसमेत आग्रह गरेको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा आबद्ध व्यवसायी तथा कर्मचारीलाई यात्रु र आमनागरिकको जीवन सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न तथा जोखिमयुक्त सडक र क्षेत्रमा आवश्यक सतर्कता अपनाउन निर्देशन दिइएको छ । साथै सम्बन्धित सुरक्षा निकाय र प्रशासनको निर्देशन पूर्ण रूपमा पालना गर्न कम्पनीले आग्रह गरेको छ ।
कम्पनीका अध्यक्ष एनकुमार साईले विपद्को यस घडीमा नागरिकको जीवनरक्षा नै सबैभन्दा ठूलो प्राथमिकता भएको बताउनुभएको छ । उहाँले नागरिकलाई आत्तिनुभन्दा संयमित र सुरक्षित रहन तथा एकअर्कालाई सहयोग गर्न आग्रह गर्नुभएको छ । रात्रिकालीन उद्धार तथा राहत कार्यलाई समेत प्रभावकारी बनाउन आवश्यक जनशक्ति, सवारीसाधन तथा स्रोतसाधन परिचालन गर्न सम्बन्धित सबै पक्षसँग कम्पनीले अपिल गरेको छ । पोखराबाट काठमाडौं जाने मुख्य स्थलमार्ग बाढीका कारण जोखिमपूर्ण बनेपछि हवाई सेवामार्फत अत्यावश्यक यात्रुलाई आवतजावतको विकल्प उपलब्ध गराउने प्रयास भएको छ भने यातायात व्यवसायीले समेत यात्रुको सुरक्षा र जोखिमयुक्त सडकमा यात्रा नगर्ने विषयलाई प्राथमिकतामा राखेका छन् । यसले एकातर्फ पोखराबाट काठमाडौं जाने यात्रुका लागि तत्काल हवाई विकल्प खोजिएको छ भने अर्कोतर्फ भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित सडक तथा तटीय क्षेत्रमा थप मानवीय क्षति हुन नदिन उच्च सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ ।तष्विर एआइ जेरेटेरेड





