प्रदेश खेलकुद परिषद् गण्डकीको पदक वितरणमा गम्भीर त्रुटि, छानविन समितिले बुझायो प्रतिवेदन

-


     पोखरा क्लिक     
     भाद्र २ गते २०८३ मा प्रकाशित


पोखरा,

प्रदेश खेलकुद परिषद् गण्डकी (गखेप) ले गरेको पदक वितरण प्रक्रियामा गम्भीर कमजोरी र कार्यविधिको उल्लंघन भएको निष्कर्षसहित छानविन समितिले प्रतिवेदन सरकारलाई बुझाएको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलको संयोजकत्वमा गठित समितिले सोमबार मन्त्रीलाई प्रतिवेदन बुझाएको हो।

परिषद्ले पदक वितरण गर्दा सम्बन्धित सिफारिस समितिको निर्णय र सिफारिसलाई बेवास्ता गरेको विषय सार्वजनिक भएपछि मन्त्रालयले छानविन समिति गठन गरेको थियो । छानविनका क्रममा पदक वितरणको प्रक्रिया, कानुनी व्यवस्था, सम्बन्धित कार्यविधि तथा निर्णय प्रक्रियाको अध्ययन गर्दा विभिन्न चरणमा गम्भीर त्रुटि र लापरवाही देखिएको समितिको निष्कर्ष रहेको स्रोतले जनाएको छ । विशेषगरी गखेपका सल्लाहकार तथा संघसंस्था समन्वय उपसमिति संयोजक केशव पाठकलाई परिषद्कै पदक प्रदान गरिएको विषयलाई समितिले प्रश्न उठाएको छ। पदक सिफारिस समितिको आमन्त्रित सदस्यका रूपमा सहभागी भएर आफ्नै नाम पदकका लागि सिफारिस गर्नु कार्यविधिको मर्मविपरीत भएको समितिको ठहर छ।

त्यसैगरी, परिषद्को बोर्ड सदस्य तथा निमित्त सदस्य सचिवसमेत रहेको अवधिसँग जोडिएको पदक आफैंले लिनु र दिनु नैतिक तथा प्रक्रियागत दृष्टिले उचित नदेखिएको प्रतिवेदनमा उल्लेख रहेको स्रोतको भनाइ छ। छानविन समितिले पदक सिफारिस समितिका आमन्त्रित सदस्यहरू हरि पराजुली र केशव पाठक आबद्ध नेपाल भूतपूर्व खेलाडी मञ्च तथा चित्रबहादुर थापा र केशव पाठक आबद्ध नेपाल ह्याण्डबल संघलाई पुरस्कार प्रदान गरिएको विषयसमेत स्वार्थ बाझिने अवस्थाका रूपमा औंल्याएको छ। सिफारिस समितिबाट औपचारिक निर्णय नै नभएको अवस्थामा पदक वितरण गरिएको विषयलाई समितिले थप गम्भीर त्रुटिका रूपमा लिएको छ। पदक वितरणजस्तो संवेदनशील विषयमा तोकिएको प्रक्रिया पूरा नगरी निर्णय कार्यान्वयन गरिएको देखिएको प्रतिवेदनको निष्कर्ष रहेको बताइएको छ।

यसैबीच, पदक सिफारिस समितिको बैठक भदौ २५ गते बसेको भन्ने परिषद्को दाबीसमेत छानविनको दायरामा परेको छ। देशभर कर्फ्यु तथा आगजनीको अवस्था रहेको समयमा बैठक बसेको भनिए पनि त्यससम्बन्धी माइन्युटको मिति र तयार पारिएको समयबारे प्रश्न उठेको स्रोतले जनाएको छ। पुरानो माइन्युटमा पछि मिति राखेर कागजात तयार गरिएको हुन सक्ने आशंकासमेत समितिले अध्ययन गरेको बताइएको छ।छानविन समितिका संयोजक सचिव पौडेलले भने प्रतिवेदन तयार गर्दा पदक वितरणसँग सम्बन्धित कानुन, कार्यविधि र प्रक्रियालाई आधार बनाएर काम गरिएको बताए।

“पदक वितरणमा गरिएको कार्य र कार्यविधिबीचको ग्याप पहिचान गरेका छौं। कानून, विधि र प्रक्रिया पालना भए–नभएको विषयलाई आधारसहित स्पष्ट रूपमा औंल्याएका छौं,” पौडेलले भने। उनका अनुसार प्रतिवेदनको करिब आधा हिस्सा छानविनको प्रक्रिया, विधि र भेटिएका त्रुटिसँग सम्बन्धित छ। बाँकी भागमा सरोकारवालाका बयान तथा विभिन्न अनुसूची समेटिएका छन्। पौडेलले विगतमा तयार भएका उत्कृष्ट छानविन प्रतिवेदनको समेत अध्ययन गरी त्यसमा अपनाइएका न्यूनतम मूल्य र मान्यतालाई आधार बनाएर प्रतिवेदन तयार गरिएको बताए। उनका अनुसार प्रतिवेदन यथार्थपरक, वस्तुगत र वैज्ञानिक ढंगले तयार गरिएको छ।

समितिले पदक वितरणमा भएका कमजोरी र प्रक्रियागत त्रुटिसँगै सरकारबाट अब के निर्णय गर्ने भन्ने विषयमा समेत स्पष्ट आधार प्रस्तुत गरेको जनाएको छ। यद्यपि प्रतिवेदनमा उल्लेख सबै विषय तत्काल सार्वजनिक गर्न नमिल्ने पौडेलको भनाइ छ। मन्त्रालय स्रोतका अनुसार सामाजिक विकास, युवा तथा खेलकुदमन्त्रीले अहिले प्रतिवेदन अध्ययन गरिरहेकी छन्। प्रतिवेदन अध्ययनपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग परामर्श गरी आवश्यक निर्णय लिने तयारी रहेको स्रोतको भनाइ छ। पदक वितरण प्रक्रियामा स्वार्थ बाझिने अवस्था र गम्भीर लापरवाही देखिएको निष्कर्ष आएपछि सम्बन्धित व्यक्तिमाथि कारबाहीको प्रक्रिया अघि बढ्न सक्ने मन्त्रालय स्रोतले जनाएको छ। तष्विर एआइ जेनेरेटेड