
पोखरा, ३१ साउन,
सहारा एकेडेमीको सहयोगार्थ पोखरामा आयोजित ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ अभियानलाई सहारा यूकेले एक लाख १८ हजार ९ सय २९ रुपैयाँ सहयोग गरेको छ । सहारा क्लब पोखराले सञ्चालन गर्दै आएको सहारा फुटबल एकेडेमीको दिगो व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले आयोजित हाइकिङ अभियानमा सहारा यूकेले उक्त रकम सहयोग गरेको सहारा यूकेका अध्यक्ष सारदा गुरुङले बताउनु भयो ।
सहारा क्लबले लामो समयदेखि कठिन परिस्थिति तथा विपन्न परिवारका बालकलाई आवासीय सुविधासहित फुटबल प्रशिक्षण र शिक्षाको अवसर प्रदान गर्दै आएको सहारा एकेडेमीको सञ्चालनमा हरेक वर्ष ठूलो आर्थिक भार पर्ने भएकाले त्यसमा सहयोग पु¥याउने उद्देश्यले हाइकिङ अभियानमा सहकार्य गरिएको उहाँले बताउनुभयो । पोखरा महानगरपालिका–९ को समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा शनिबार सम्पन्न ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ मा २ सय १५ जनाको सहभागिता रहेको थियो । पोखरा–९ स्थित महेन्द्रपुलबाट सुरु भएको हाइकिङ रानीपौवा, चापापानीचोक हुँदै पर्यटकीय गाउँ काहुँडाँडामा पुगेर समापन भएको थियो ।
हाइकिङबाट संकलित रकम सहारा एकेडेमीको सञ्चालन तथा व्यवस्थापनमा उपयोग गरिने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनु भयो । एकेडेमीमा हाल विभिन्न १६ जिल्लाका ३० जना बालकले फुटबल प्रशिक्षणसँगै उच्च शिक्षा हासिल गरि रहेको बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङले बताउनु भयो । क्लबको हाइकिङ अभियानमा सहयोग गर्ने घोषणा गरेको सहारा यूकेले प्रतिवद्धताअनुसार रकम उपलब्ध गराएकोे क्लबका पूर्वअध्यक्ष बिक्रम थकालीले जानकारी दिनुभयो । सहारा यूकेले पोखरा १७ दोभिल्लामा २६ रोपनीमा फैलिएको सहारा एकेडेमी निर्माण गर्न, आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता तथा एकेडेमीको अक्षयकोष स्थापना लगायतका अभियानमा विगतका बर्षदेखि नै निरन्तर सहयोग गर्दै आएको उहाँले जनाउनु भयो ।
स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देश एकैसाथ प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको हाइकिङ अभियानले सहारा एकेडेमीको निरन्तर सहयोगका लागि सकारात्मक वातावरण निर्माण गरेको आयोजकले जनाएको छ । सहारा क्लब पोखराले लामो समयदेखि आहा ! रारा पोखरा गोल्डकप, सामाजिक सेवाका विभिन्न गतिविधिसँगै सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । उक्त अभियानमा पोखरा महानगरपालिका–९, तमु धीं यूके, कास्की जिल्ला फुटबल संघ (एन्फा), सहारा यूकेका पूर्वअध्यक्ष एमबीई दिलीपकुमार गुरुङ, सहारा यूकेका निवर्तमान अध्यक्ष कृष्णकुमार गुरुङ,सदस्य एवं सहारा युकेका सल्लाहाकार चन्द्रबहादुर गुरुङ, सहारा यू.के.,क्लबका आजीवन सदस्य मनोज गुरुङ, मानार्थ सदस्य मुछेत्र गुरुङ, मनार्थ सदस्य लोकबहादुर गुरुङ, सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङ, सहारा हङकङका अध्यक्ष सरोज गुरुङ (खम), खेलकुदकर्मी नारायण गुरुङ, जयप्रकाश गुरुङ, सौन्दयकर्मी वविता केसी लगायतले सहयोग गर्नुभएको थियो ।




