
दीननाथ बराल,
पोखरा, २८ साउन,
पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा हालै निर्माण भएको बहुउद्देश्यीय भवन ‘पोखरा घर’ भोलि (शुक्रबार) देखि सञ्चालनमा आउने भएको छ । उक्त भवनको निर्माण सम्पन्न भएसँगै साउन २९ गते एक समारोहबीच भवनको औपचारिक उद्घाटन गर्ने तयारी गरिएको पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखराक्लिकलाई जानकारी दिनुभयो ।

पर्यटक, यात्रु तथा सर्वसाधारणलाई लक्षित गरी निर्माण गरिएको ‘पोखरा घर’मा स्नानघर, सार्वजनिक शौचालय, कोसेली घर, सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी लगायतका सुविधा उपलब्ध रहेको अध्यक्ष मर्सानीले उल्लेख गर्नुभयो । पृथ्वीचोकमा लामो समयदेखि देखिँदै आएको सार्वजनिक शौचालय तथा यात्रु सुविधाको अभावलाई समेत यसले सम्बोधन गर्ने अपेक्षा गरिएको उहाँले विश्वास व्यक्त गर्नुभयो । अब यसलाई व्यवस्थित रूपमा सञ्चालन गरेर यहाँबाट स्थानीयवासी, यात्रु र पर्यटकले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण बनाउनेछौँ,” मर्सानीले भन्नुभयो । पोखराको सहारा क्लवले पृथ्वीचोक क्षेत्रमा लामो समयदेखि सौचालय संचालन गर्दै आए पनि महानगरले केही महिना अघि सार्वजनिक जमिनमा निर्माण भएको भन्दै भत्काय पछि हाल सौचालय नभएको अबस्थामा उक्त पोखरा घरमा रहेको सौचालय प्रभावकारी रुपमा संचालनमा आउने विश्वास गरिएको स्थानियले बताउनु भयो ।

‘पोखरा घर’को भुइँतलामा यात्रु तथा सर्वसाधारणका लागि स्नानघर, शौचालय, सूचना केन्द्र र कोसेली घरको व्यवस्था गरिएको छ । एकैपटक पाँचदेखि सात जनासम्मले स्नान गर्न सक्ने तथा १० देखि १२ जनासम्मले शौचालय प्रयोग गर्न सक्ने गरी संरचना तयार गरिएको महानगरको भवन तथा पूर्वाधार शाखाले जनाएको छ । महिला, पुरुष तथा अपाङ्गता भएका व्यक्तिका लागि छुट्टाछुट्टै र अपाङ्गमैत्री शौचालय निर्माण गरिएको छ । यात्रुको सुविधालाई ध्यानमा राख्दै सशुल्क शौचालयको व्यवस्था गरिएको छ भने भुइँतलामै पृथ्वीराजमार्ग सञ्चालक कम्पनीको टिकट काउन्टर समेत रहनेछ । स्थानीय उत्पादन तथा हस्तकलाका सामग्री बिक्रीका लागि कोसेली घर सञ्चालनमा आउनेछ । कोसेली घर सञ्चालनका लागि सम्झौता भइसकेको महानगरले जनाएको छ । यसबाट पोखरा आउने पर्यटकलाई स्थानीय उत्पादनसँग जोड्नुका साथै स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

‘पोखरा घर’मा महेन्द्रपुलमा सञ्चालन हुँदै आएको पुस्तकालय र आर्ट ग्यालरीसमेत स्थानान्तरण गरिने भएको छ । महेन्द्रपुलको पुस्तकालयमा रहेका पुराना तथा ऐतिहासिक पुस्तकहरू नयाँ भवनमा व्यवस्थापन गरिनेछ । त्यस्तै, महेन्द्रपुलमा रहेको आर्ट ग्यालरीलाई समेत ‘पोखरा घर’मा स्थानान्तरण गरी सञ्चालन गरिनेछ। पुस्तकालय र आर्ट ग्यालरीसँगै पोखरा प्रज्ञाका लागि कक्ष तथा बैठक र कार्यक्रम सञ्चालनका लागि आवश्यक हलको समेत व्यवस्था गरिएको छ । यसले पोखराको साहित्य, कला, संस्कृति र सिर्जनात्मक गतिविधिलाई एउटै आधुनिक पूर्वाधारमा समेट्ने अपेक्षा गरिएको छ ।
‘जेड’ आकारमा निर्माण भएको ‘पोखरा घर’मा भूमिगत पार्किङ, लिफ्ट तथा अपाङ्गमैत्री संरचनासहितका सुविधा रहेको भवनको उत्तर र पूर्वतर्फ आकर्षक घण्टाघर निर्माण गरिएको छ । ‘पोखरा घर’ निर्माणका लागि करिब ७ करोड ४६ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । निर्माण कम्पनीले करिब ५ करोड ४२ लाख ६६ हजार रुपैयाँमा ठेक्का पाएको महानगरले जनाएको छ । कोजुई आरुसी आरुसु एबी–एसी जेभीले भवन निर्माणको जिम्मा पाएको हो। हालसम्म महानगरपालिकाले निर्माण कम्पनीलाई ५ करोड १२ लाख २६ हजार रुपैयाँ भुक्तानी गरिसकेको इन्जिनियर लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो। उक्त रकममा भ्याट तथा अन्य करसमेत समावेश रहेको उहाँले बताउनुभयो। भूमिगत पार्किङका लागि करिब ३१५ वर्गमिटर क्षेत्रफल छुट्याइएको छ । भवनका विभिन्न तलामा पुस्तकालय, आर्ट ग्यालरी, कोसेली घर, सूचना केन्द्र, बैठक तथा कार्यक्रमका लागि आवश्यक संरचना निर्माण गरिएको छ । ‘पोखरा घर’ सञ्चालनमा आएपछि पृथ्वीचोकमा यात्रुका आधारभूत आवश्यकता पूरा गर्ने सुविधासँगै स्थानीय उत्पादन, कला, साहित्य र संस्कृतिको प्रवद्र्धन गर्ने साझा केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ ।




