पोखराबाट सरुवा भएका काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत अर्यालले कार्यभार सम्हाले, कार्यवाहक प्रमुख ढंगोलबाट सुशासन र क्षेत्रगत समन्वयको अपेक्षा

-


     पोखरा क्लिक     
     श्रावण २७ गते २०८३ मा प्रकाशित


काठमाडौं,

पोखरा महानगरपालिकाबाट सरुवा भई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएका मुक्तिराम अर्यालले बुधबार कार्यभार सम्हालनु भएको छ। महानगरपालिकाले उहाँसँग आज परिचयात्मक कार्यक्रमसमेत सम्पन्न गरेको छ।

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत अर्याललाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वागत गर्दै चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न परिणाममुखी नेतृत्वको अपेक्षा गर्नुभएको छ। कार्यवाहक प्रमुख डंगोलले महानगरको सेवा प्रवाहलाई थप प्रभावकारी, कर्मचारी प्रशासनलाई अनुशासित तथा मर्यादित र समग्र प्रशासनिक कार्यलाई नतिजामुखी बनाउन प्रमुख प्रशासकीय अधिकृतको समन्वयकारी नेतृत्व आवश्यक रहेको बताउनुभयो। ‘सेवा प्रवाह, अनुशासित र मर्यादित कर्मचारी प्रशासनका लागि समन्वयकारी नेतृत्व आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘महानगरका स्वीकृत नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै महानगरवासीका अपेक्षा पूरा गर्ने गरी काम गर्नुपर्छ।’

उहाँले काठमाडौं महानगरपालिकाले अघि बढाएका ठूला तथा प्राथमिकताका आयोजनालाई गति दिन संघीय सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिनुभयो। विशेषगरी पार्किङ व्यवस्थापनका लागि बहुतले पार्किङस्थल निर्माण, भृकुटीमण्डपमा मेगाहल निर्माण तथा नेपाल सरकारसँग यसअघि भएका सम्झौताबमोजिम महानगरले प्राप्त गर्नुपर्ने सम्पत्ति प्राप्त गर्ने विषयमा संघ सरकारसँग आवश्यक समन्वय र सहजीकरण गर्नुपर्ने उहाँको भनाइ छ। कार्यवाहक प्रमुख डंगोलले केही योजना तथा कार्यक्रम अपेक्षित गतिमा अघि बढ्न नसकेको उल्लेख गर्दै त्यस्ता योजनाको कार्यान्वयनलाई तीव्रता दिन प्रमुख प्रशासकीय अधिकृत अर्यालको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

उहाँले कर्मचारी र जनप्रतिनिधिबीच प्रभावकारी समन्वय तथा सहजीकरण कायम गर्नुपर्नेमा समेत जोड दिनुभयो। महानगरको प्रशासनिक कामलाई चुस्त बनाउँदै जनप्रतिनिधिले तय गरेका नीति तथा कार्यक्रमलाई परिणाममा रूपान्तरण गर्न कर्मचारी प्रशासन र जनप्रतिनिधिबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत अर्यालले महानगरपालिकाको प्रशासनिक नेतृत्वको जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले महानगरका नीति, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार, कर्मचारी व्यवस्थापन तथा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो। पोखरा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत अर्यालको काठमाडौं महानगरपालिकामा सरुवा भएको हो।