
पोखरा खौलालाँकुरी पोखरा सम्पर्क समाजले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितलाई मंगलबार बेलुकाको खाना खुवाएको छ । संस्था स्थापनाको आठौं वर्ष प्रवेश गरेको अवसरमा समाजले यस्तो सहयोग गरेको हो । आश्रममा ९० जना (महिला) आश्रित छन् । उक्त कार्यक्रमको उद्घाटन गर्दै समाजका अध्यक्ष लालप्रसाद शर्माले समाजको आठौ वर्षको यात्रा केवल वर्ष गन्तीको मात्र यात्रा नभई सामाजिक भावना, आपसी एकता, सहकार्य र सेवाको यात्रासमेत रहेको बताए ।
‘समाज परिवर्तन ठूलो कामबाट मात्र हुँदैन । कहिलेकाहीँ एउटा व्यक्तिलाई दिएको सहयोग, एक छाक खाना, एक थोपा रगत वा आवश्यक परेको बेला उपलब्ध गराइएको औषधिले पनि कसैको जीवनमा ठूलो अर्थ राख्न सक्छ’, उनले भने, ‘त्यसैले हामीले सामाजिक सेवाका कामलाई आफ्नो दायित्वका रूपमा लिँदै आएका छौँ ।’ एक छाक खाना खुवाउने कार्यक्रमलाई मानवताप्रतिको सम्मान, दुःखमा रहेका मानिसप्रतिको संवेदनशीलता र समाजमा हामी एकअर्काका लागि छौँ भन्ने सन्देश दिने प्रयासकार रुपमा लिइएका उनले बताए । मानव सेवा आश्रमले बेसहारा, असहाय तथा सडकमा जीवन बिताउन बाध्य मानिसहरूलाई आश्रय दिएर जुन मानवीय काम अत्यन्त प्रशंसनीय रहेको र यस्तो पुण्य कार्यमा समाजले आफ्नो क्षमता र सामथ्र्यअनुसार सानो भए पनि हातेमालो गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । समाजले यसअघि पनि यस मानव सेवा आश्रमलाई करिब तीन लाख रुपैयाँ मूल्य बराबरको औषधि सहयोग गरेको थियो ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्रीलगायत पूर्वअध्यक्षहरु, सल्लाहकारहरु र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा आश्रमकी प्रमुख सम्झना बर्तौलालाई समाजका अध्यक्ष शर्माले एक छाक खानाको रकम २५ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । समाज जिल्ला प्रशासन कार्यालय कास्कीमा २०७६ साल साउन २६ गते गैरनाफामूलक सामाजिक संस्थाका रूपमा दर्ता भएको थियो । समाज पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीमा जन्मेर पोखरा आई स्थायी वा अस्थायी रुपमा बसोबास गर्दै आएकाहरुको संस्था हो ।




