
दीननाथ बराल,
पोखरा, साउन २१,
सशस्त्र प्रहरी बल सहितको साहसिक टोलीले कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा बाटो बिराएर तीन दिनदेखि अलपत्र परेका पोखराका तीन जना युवाको आज (विहिबार) सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयको संयुक्त प्रयासपछि उहाँहरुलाई अन्नपूर्ण गाउँपालिका–११ अन्तर्गत छुमरुङ फेदी नजिकको मोदी खोलाको पारिपट्टिबाट सुरक्षित उद्धार गरिएको स्थानियले बताउनु भयो ।
उद्धार गरिएका युवामा पोखरा महानगरपालिका–१४ खसिबजारका २६ वर्षीय करण लामा, २४ वर्षीय अजित जिसी र २३ वर्षीय युकेश गुरुङ रहनु भएको कास्की प्रहरीले जनाएको छ । प्रारम्भिक सूचनामा दिपेश गुरुङ उल्लेख गरिए पनि पछि उनी करण लामा रहेको पुष्टि भएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ । तीनै जना साउन १९ गते मर्दी हिमाल पदयात्राका लागि जानु भएको थियो । साउन २० गते बिहान करिब ८ बजेसम्म परिवारसँग सम्पर्कमा रहनु भएको यहाँहरु त्यसपछि सम्पर्कविहीन हुनु भएको थियो । स्थानीय होटल व्यवसायी प्रेम अधिकारी सहितको टोलीले खोजी गरे पनि फेला पार्न नसकेपछि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) कास्कीमार्फत सुरक्षा निकायलाई सूचना गरिएको थियो ।
सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा १० सदस्यीय विपद् व्यवस्थापन टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ परिचालन गरिएको थियो । नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा र जनप्रतिनिधिको समेत समन्वयमा व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो । खोजीका क्रममा बिहीबार साँझ करिब ६ः२० बजे उहाँहरु मोदी खोलाको पारिपट्टि सम्पर्कमा आउनु भएको थियो । तर वर्षाका कारण मोदी खोलामा पानीको बहाव अत्यधिक भएकाले तत्काल उद्धार सम्भव नभए पनि विहिबार मात्र उद्धार गरिएको हो । सुरक्षाकर्मीहरूले निर्माणाधीन अपर मोदी जलविद्युत् आयोजनाको एक्साभेटरको सहयोगमा अस्थायी फड्के निर्माण गर्ने तथा खोलाको पानीको बहावलाई एकीकृत गरी सुरक्षित बनाउने प्रयास गर्नु भएको थियो । अन्धकार र जोखिमका कारण राति उद्धार स्थगित गर्दै युवाहरूलाई सुरक्षित स्थानमै बस्न आग्रह गरिएको थियो ।
शुक्रबार बिहानदेखि पुनः उद्धार अभियान सुरु गरियो । प्रतिकूल मौसम र दुर्गम भौगोलिक अवस्थाका कारण हेलिकोप्टरमार्फत उद्धारसमेत सम्भव नभएपछि सशस्त्र प्रहरीले जोखिम मोलेरै उहाँहरुलाई उद्धार गरेको स्थानियले बताउनु भयो । उद्धारका क्रममा सशस्त्र प्रहरी जवान सुमन नेपालीले निर्माणाधीन घान्द्रुक जलविद्युत् आयोजनाको हाईटेन्सन लाइनको करिब १०० मिटर लामो तारको सहारा लिएर जोखिमपूर्ण मोदी खोला पार गर्नु भएको थियो । त्यसपछि विभिन्न प्रकारका डोरी प्रयोग गरी सुरक्षित रोप प्रणाली (रोप बेस) तयार गरिएको थियो । सोही प्रणालीको सहारामा सशस्त्र प्रहरी जवान देवराज खनाल र शंकर चौधरीसमेत खोलापार पुग्नु भएको थियो । उद्धारपछि एमएफआर (मेडिकल फस्र्ट रेस्पोन्डर) तालिम प्राप्त सशस्त्र प्रहरीका स्वास्थ्यकर्मीले घटनास्थलमै प्राथमिक उपचार गराइएको थियो । प्रारम्भिक स्वास्थ्य परीक्षणअनुसार तीनै जनाको अवस्था सामान्य रहेको टोलीले जनाएको छ । उहाँहरुलाई हाल पोखरा ल्याइएको छ । प्रशासनले वर्षायाममा हिमाली पदयात्रामा निस्कँदा मौसम, पदमार्गको अवस्था र सुरक्षा मापदण्डबारे पर्याप्त जानकारी लिएर मात्रै यात्रा गर्न सबैमा आग्रह गरेको छ । टान गण्डकीले समेत कुनै पनि पदमार्गमा जादा ट्रेकिङ गाइडहरु र राम्रोसंग लोकेसन हेरेर बुझेर मात्र यात्रा गर्न पर्यटकहरुमा आग्रह गरेको छ । आफुहरुले पटक पटक पदमार्गमा जादा धेरै कुरामा ख्याल गर्न आग्रह गर्दै आउदा यस्तो समस्या आइ रहेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनु भयो ।





