सरस्वती प्रतीक्षा पोखरा प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त

-


     पोखरा क्लिक     
     श्रावण १३ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा–प्रतिष्ठानको नयाँ नेतृत्व चयन गरेको छ। चर्चित कवि तथा उपन्यासकार सरस्वती प्रतीक्षा प्रतिष्ठानको कुलपतिमा नियुक्त भएकी छन्। आज (बुधबार) महानगर प्रमुख धनराज आचार्यले नवनियुक्त पदाधिकारीहरूलाई नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रम तय गरिएको छ।

महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा गठित सिफारिस समितिले कुलपति, उपकुलपति, सदस्य–सचिवसहित प्राज्ञसभा सदस्यहरूको नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सरस्वती प्रतीक्षालाई कुलपतिको जिम्मेवारी दिइएको हो।प्रतिष्ठानको उपकुलपतिमा तिलक पुन पुर्जा र सदस्य–सचिवमा जीवन दाहाल नियुक्त भएका छन्। त्यसैगरी परिषद् सदस्यका रूपमा हरेराम जोजिजू, सीता पहारी, दिलीप गायक र श्रीजंग गुरुङ चयन भएका छन्। प्रतिष्ठानमा सात सदस्यीय परिषद् र १७ सदस्यीय प्राज्ञसभा रहने व्यवस्था छ।

अघिल्ला कुलपति पदमराज ढकालको कार्यकाल समाप्त भएपछि करिब डेढ वर्षसम्म प्रतिष्ठान नेतृत्वविहीन अवस्थामा रहेको थियो। नयाँ पदाधिकारी नियुक्त भएसँगै कला, साहित्य, भाषा, संस्कृति तथा सिर्जनात्मक क्षेत्रका गतिविधिलाई थप प्रभावकारी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ। सिफारिस समितिका सदस्यमा तीर्थ श्रेष्ठ र ज्ञानबहादुर गुरुङ रहेका थिए। समितिले १७ जना प्राज्ञसभा सदस्यको नाम छनोट गरी तीमध्येबाट कुलपति, उपकुलपति, सदस्य–सचिव तथा परिषद्का सदस्यहरूको सिफारिस गरेको जनाएको छ। सिफारिस गरिएका व्यक्तिमध्ये कसैले जिम्मेवारी नस्वीकारेमा आवश्यक निर्णय गर्ने अधिकार महानगर प्रमुखलाई दिइएको समितिले जनाएको छ। पोखरा प्रज्ञा–प्रतिष्ठान पोखरा महानगरपालिका क्षेत्रभित्र कला, साहित्य, भाषा, संस्कृति तथा सिर्जनात्मक गतिविधिको संरक्षण, संवर्द्धन र विकासका लागि स्थापना गरिएको संस्था हो। नयाँ नेतृत्वको आगमनसँगै प्रतिष्ठानका कार्यक्रमहरू थप सक्रिय र परिणाममुखी बन्ने विश्वास गरिएको छ।