रुपा गाउँपालिकामा कृषि तथा पशु सेवा शाखाको नवनिर्मित भवनको उद्घाटन

-


     पोखरा क्लिक     
     श्रावण ७ गते २०८३ मा प्रकाशित


oplus_0

पोखरा,

कास्कीको रुपा गाउँपालिका वडा नं. ६, फाल्भञ्ज्याङमा नवनिर्मित कृषि तथा पशु सेवा शाखा कार्यालयको भवन उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष नवराज ओझाले आज (बिहीबार) एक समारोहका बीच उक्त भवनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले पालिकाभित्र कृषि उत्पादन वृद्धिका लागि विशेष बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले कृषिलाई प्रत्यक्ष रूपमा उत्पादनसँग जोड्ने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको समेत बताउनुभयो ।

oplus_0

उद्घाटन कार्यक्रममा रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङ कृषकको प्रयासलाई पालिकाले पनि सक्दो सहयोग गदै आएको र आगामी दिनमा समेत किसानको भावना अनुसार काम गदैँ जाने बताउनुभयो । कार्यक्रममा बोल्दै पशु शाखा प्रमुख पशुचिकित्सक सुशील अर्यालले नयाँ सुविधासम्पन्न भवन निर्माण भएसँगै सेवा प्रवाह थप प्रभावकारी र सहज हुने अपेक्षा व्यक्त गर्नुभयो । त्यस्तै, कृषि विकास शाखा प्रमुख प्रकाश धानुकले कार्यालयले अबका दिनमा किसानहरूलाई थप नयाँ र परिमार्जित सेवासुविधा सहित सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ पौडेलले पालिकाबासीलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले स्थानीय सरकारले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिइरहेको बताउनुभयो ।

वडानम्बर २ का अध्यक्ष राजन सुवेदीले कृषकहरु पनि प्राविधिसंग जोडिनुपर्ने बताउनुभयो । उनले कृषि उत्पादनलाई बजारिकरणका वडा कार्यालयसगै पालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडानम्बर ५ का अध्यक्ष राजन खनालले पालिकाबाट प्राप्त भएको सुविधालाई कृषि उत्पादनमा भरपुर सदुपयोग गर्न आग्रह गर्नुभयो । समृद्ध रुपा गाउँपालिका बन्नका लागि कृषि उत्पादन बृद्धि हुनुपर्ने खनालको जोड थियो ।

कार्यक्रमा कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नयाँ भवन निर्माणसँगै स्थानीय कृषकहरूले अब एउटै थलोबाट सहज रूपमा कृषि तथा पशु सम्बन्धी सेवाहरू प्राप्त गर्न सक्नेछन् । भने कृषि र पशु सेवा सम्बन्धी प्राविधिक ल्याबको सुविधा समेत पालिमानै प्राप्त हुने भएको छ । कार्यक्रममा पालिकाले कृषि उत्पादनलाई बजारिकरणका लागि प्रविधिसंग जोड्ने प्रयास स्वरुप कृषि एप संचालनमा ल्याउने भएको छ । सो सम्बन्धमा कार्यक्रममा कृषकसंग छलफल समेत गरिएको छ । कृषकको सुझाव समेटेर एप मार्फत कृषि उत्पादनलाई बजारिकरण गरिने सूचना प्रविधि अधिकृत लक्ष्मण पंगेनीले जानकारी दिनुभयो ।