पोखराबाट अन्तर्राष्ट्रिय उडान विस्तारमा सरकारको ठोस कदम, फ्लाई दुबई अभियानलाई थप बल पुग्ने विश्वास

-


     पोखरा क्लिक     
     श्रावण ७ गते २०८३ मा प्रकाशित


पोखरा,

नेपाल सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने नियमित अन्तर्राष्ट्रिय हवाई उडानलाई प्रोत्साहन गर्न प्रदान गर्दै आएको सहुलियतलाई थप दुई वर्ष निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले २०८५ साल भदौ मसान्तसम्मका लागि यी दुई विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क शतप्रतिशत छुट दिने तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

सरकारको यो निर्णयसँगै आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सुरु गर्न लागेको फ्लाई दुबईको अभियानलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो निर्णयलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सरकारको निर्णयप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यसले पोखरा–दुबईसहित अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न तथा नयाँ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई नेपाल भित्र्याउन सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले लामो समयदेखि गरिएको पहल र समन्वयपछि आएको यो निर्णय पर्यटन प्रवद्र्धन, हवाई पहुँच विस्तार तथा समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो।

यसैगरी, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनलाई प्रोत्साहन गर्ने सरकारको निर्णय अत्यन्त सकारात्मक र स्वागतयोग्य भएको बताउनुभयो। उहाँले यसबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, नयाँ गन्तव्य तथा वायुसेवा आकर्षित गर्न र नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले सरकारले दिएको शुल्क छुटको निर्णयले आगामी असोज ७ गतेदेखि सुरु हुन लागेको फ्लाई दुबईको पोखरा–दुबई सिधा उडान अभियानलाई सफल बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। लामो समयदेखि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा यो निर्णयले पोखरा क्षेत्रका पर्यटन व्यवसायीमा नयाँ उत्साह थपिएको उहाँको भनाइ छ ।

फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सञ्चालन गर्दैछ । दुबई विश्वकै प्रमुख अन्तर्राष्ट्रिय ट्रान्जिट हब भएकाले यो उडान सुरु भएपछि पोखराबाट युरोप, अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने यात्रुहरूलाई सहज पहुँच मिल्ने, यात्राको समय छोटिने र खर्चसमेत कम हुने अपेक्षा गरिएको छ ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको थियो । सोही योजनाअनुरूप फ्लाई दुबईले नियमित उडान अनुमति पाएसँगै सरकारको पछिल्लो शुल्क छुटको निर्णयले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढाउने तथा पर्यटन र आर्थिक गतिविधिलाई नयाँ गति दिने विश्वास गरिएको छ ।