अमेरिकी दर्ताको हल्का चार्टर विमान पोखरामा, इन्धन भरेर लाहोर हुँदै अमेरिका प्रस्थान गर्ने

-


     पोखरा क्लिक     
     श्रावण ५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ५ साउन,

अमेरिकी दर्ताको हल्का चार्टर विमान आज (मंगलबार) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । बैंकक र ढाका हुँदै पोखरा आएको उक्त विमानले यहाँ इन्धन भरेर चालक दलको विश्रामपछि भोलि(बुधबार) पाकिस्तानको लाहोरतर्फ उडान भर्ने तालिका रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

अमेरिकी दर्ता नम्बर एन–५५५–भीजी भएको सिरस एसआर–२२ विमान बैंककबाट ढाका हुँदै पोखरा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले बताउनु भयो । विमानमा चालक दलका दुई सदस्य बाहेक अन्य यात्रु नरहेको समेत उहाँले जानकारी दिनुभयो। नियमित व्यावसायिक उडान नभई चार्टर उडानका रूपमा सञ्चालन गरिएको निरौलाले जनाउनु भयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी सूचना अधिकारी तथा प्रवक्ता जसोदा अधिकारी सुवेदीले सानो आकारको विमान भएकाले लामो दूरीको उडानमा इन्धन व्यवस्थापनका लागि विभिन्न देशमा ट्रान्जिट गर्दै यात्रा गर्नुपर्ने भएकोले नेपालको पोखरामा उक्त विमान आएको बताउनु भयो । “यो विमान मुख्य रूपमा रिफ्युलिङका लागि पोखरा अवतरण गरेको हो । सानो विमान भएकाले एकै पटक लामो दूरी पार गर्न सम्भव हुँदैन, त्यसैले विभिन्न मुलुकमा इन्धन भर्दै गन्तव्यतर्फ अघि बढ्ने योजना अनुसार पोखरा आएको हो,“ उहाँले भन्नुभयो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सीएएएन–एफपी–६६३÷२०२६ नम्बरबाट उक्त उडानका लागि अनुमति दिएको छ । अनुमति पत्रमा यसलाई चार्टर उडानका रूपमा उल्लेख गरिएको छ । विमान ओएसी एभिएसन प्रालिमार्फत सञ्चालन गरिएको हो। यसको अधिकतम उडान तौल एक हजार ५४२ किलोग्राम रहेको छ भने उडानको नेतृत्व क्याप्टेन याङ कुआङ यिङले गरिरहनुभएको छ । सिरस एसआर–२२ एकल इन्जिनयुक्त हल्का विमान भएको बतायनछ । यस्ता विमान निजी यात्रा, व्यावसायिक चार्टर, हवाई निरीक्षण, व्यवसायिक भ्रमण तथा विशेष प्रयोजनका उडानमा व्यापक रूपमा प्रयोग गरिन्छ । यसअघि पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय चार्टर तथा निजी विमानहरूले प्राविधिक अवतरण र इन्धन भर्ने उद्देश्यले सेवा लिँदै आएका छन् । पछिल्लो समय यस्ता ट्रान्जिट उडान बढ्दै जानुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई क्षेत्रीय र अन्तर्राष्ट्रिय हवाई मार्गमा प्राविधिक अवतरण केन्द्रका रूपमा प्रयोग गर्ने सम्भावना विस्तार हुँदै गएको देखिएको छ ।