पोखरामा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ३ वटा टिप्पर सहित चालक पक्राउ

-


     पोखरा क्लिक     
     असार ३१ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ३१, असार,

पोखरामा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने टिप्पर सहित ३ जना चालक पक्राउ पर्नु भएको छ । पोखराको सेतीनदी किनारामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ३ वटा टिप्पर र चालकलाई पक्राउ गरी कार्वाही गरिएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–२५ स्थित सेती नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा तीन वटा टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाही गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । असार ३० गते राति करिब १०ः१५ बजे अवैध रूपमा बालुवा उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उक्त स्थानमा पुगेर बालुवा सवारी साधनमा लोड गरिरहेको अवस्थामा तीन वटा टिप्पर नियन्त्रणमा लिएको कार्यालयका सूचना अधिकारी विरेन्द्रकुमार पासवानले बताउनु भयो । नियन्त्रणमा परेका सवारी साधन तथा चालकलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालय पठाइएको उहाँले जनाउनु भयो । महानगरपालिकाले प्रत्येक टिप्परलाई १५ हजार रुपैयाँका दरले जरिवाना गरी छाडेको प्रहरीले उल्लेख गरेको छ ।

नियन्त्रणमा परेका चालकहरूमा गोरखा स्थायी घर भई हाल पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने २६ वर्षीय सुजन गुरुङ रहनु भएको छ । उहाँले ग १ क ४४७२ नम्बरको टिप्पर चलाउनु भएको थियो । त्यसैगरी रुकुम स्थायी घर भई हाल पोखरा महानगरपालिका–१ सिम्पानी बस्ने २६ वर्षीय विकास घर्तीले चलाएको जिएए ००७६ नम्बरको टिप्पर तथा ओखलढुंगा स्थायी घर भई हाल पोखरा महानगरपालिका–२५ याम्दी बस्ने २५ वर्षीय राजु मगरले चलाएको जिएए ०१२४ नम्बरको टिप्पर पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बर्र्षादको समयमा ३ महिना प्राकृतिक श्रोत साधन उत्खननमा रोक लगाएको अबस्थामा कसैले यस्तै गरी उत्खनन गरे पुनः कार्वाही हुने प्रशासनले जनाएको छ ।