
दीननाथ बराल,
पोखरा, २६ असार,
पोखरामा हालै निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजनाको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका–३३ मा आयोजित समारोहमा उक्त परियोजनाको शुक्रबार उद्घाटन गर्दै युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले सुरुदेखि नै स्थानीयको साथ र सहयोग प्राप्त गरेको उल्लेख गर्दै यही कारण आयोजना अपेक्षाकृत छोटो अवधिमा सम्पन्न हुन सफल भएको बताउनुभयो ।
स्थानीय समुदायको साथ, राजनीतिक प्रतिबद्धता र युरोपेली गुणस्तरीय प्रविधिको संयोजनले आयोजना दीर्घकालसम्म दिगो रूपमा उक्त परियोजना सञ्चालन हुने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
कुनै पनि जलविद्युत आयोजना सफल हुन स्थानीय समुदायको विश्वास र राजनीतिक तहको सहयोग अपरिहार्य हुने उल्लेख गर्दै राजदूत लोरेन्जोले स्विडेन र नेदरल्याण्ड्ससँग आबद्ध डोल्मा इम्प्याक्ट फण्डमार्फत भएको लगानीले नेपालमा दिगो ऊर्जा विकासमा महत्वपूर्ण योगदान पु¥याउने दाबी गर्नुभयो । स्वच्छ ऊर्जामा गरिएको यस्तो लगानीले नेपालको ऊर्जा सुरक्षासँगै हरित विकासलाई समेत टेवा पुग्ने उहाँको भनाइ थियो । “गुणस्तरीय प्रविधि, स्थानीय समुदायको सहयोग र सबै पक्षबीचको विश्वासका कारण यो आयोजना सफल बनेको हो । युरोपेली साझेदारबाट भित्रिएको आधुनिक प्रविधिले यसलाई दीर्घकालीन र भरपर्दो परियोजनाका रूपमा स्थापित गर्नेछ,“ राजदूत लोरेन्जोले भन्नुभयो।
सेतीखोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष अनुप आचार्यले आयोजना सफल हुनु कुनै एक संस्था वा व्यक्तिको उपलब्धि नभई सबै पक्षको साझा प्रयासको परिणाम भएको बताउनुभयो । स्थानीय समुदायको सहयोगबिना यस्ता पूर्वाधार आयोजना सफल बनाउन सम्भव नहुने उल्लेख गर्दै उहाँले निर्माण अवधिभर स्थानीयवासीले देखाएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । “हामीले स्थानीय समुदायसँग विश्वासको सम्बन्ध निर्माण गर्दै आयोजना अघि बढायौं। उहाँहरूको साथ र सहयोगकै कारण चुनौतीपूर्ण परिस्थितिका बीच पनि आयोजना सफलतापूर्वक सम्पन्न गर्न सकेका हौं,“ अध्यक्ष आचार्यले भन्नुभयो ।
कार्यक्रममा डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टिम गोचर, तनहुँ शुक्लागण्डकी नगरपालिका–२ का वडाध्यक्ष सुमनबहादुर राना, पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, ईप्यानका सल्लाहकार डा. आत्माराम घिमिरे, निर्देशक ई. दीपक बराल लगायतले आयोजनाले स्थानीय विकास, रोजगारी सिर्जना र नेपालको स्वच्छ ऊर्जा उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको थियो। करिब पाँच अर्ब पाँच करोड रुपैयाँको लगानीमा निर्माण भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजनाले हाल परीक्षण उत्पादन गरिरहेको छ भने व्यावसायिक रूपमा विद्युत उत्पादन तथा बिक्रीको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय प्रसारण प्रणालीमा थप स्वच्छ ऊर्जा आपूर्ति हुनुका साथै गण्डकी प्रदेशको ऊर्जा उत्पादन क्षमता समेत उल्लेखनीय रूपमा वृद्धि हुने अपेक्षा गरिएको छ । यही असार १५ गतेदेखि परिक्षणका रुपमा हाल बिद्युत उत्पादन भएको छ ।
आयोजनाको बाँध पोखरा–३३ टिक्लाङमा निर्माण गरिएको छ भने पावरहाउस तल्लो पुँडीटारमा रहेको छ । आयोजनाका लागि ३ हजार १ सय ६ मिटर लामो सुरुङ निर्माण गरिएको छ भने १ हजार २ सय मिटर लामो पेनस्टकमार्फत पानी पावरहाउससम्म पु¥याइएको छ । पावरहाउसमा ११–११ मेगावाट क्षमताका दुईवटा टर्बाइन जडान गरिएका छन्, जसबाट कुल २२ मेगावाट विद्युत उत्पादन हुन सूरु भएको छ । उत्पादित विद्युत करिब २ किलोमिटर लामो प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सेतीखोला हाइड्रोपावर लिमिटेडमा डोल्मा इम्प्याक्ट फण्डमार्फत विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाको लगानी रहेको छ । कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी समेत गरेको कम्पनीले पोखराक्लिकलाई जनाएको छ । पोखरालाई ऊर्जा उत्पादनको दृष्टिले थप आत्मनिर्भर बनाउनुका साथै स्थानीय आर्थिक गतिविधि, लगानी र पूर्वाधार विकासमा समेत उक्त परियोजनाले महत्वपूर्ण योगदान दिने निर्देशक ई. बरालले विश्वास व्यक्त गर्नुभयो ।







