
दीननाथ बराल,
पोखरा, २६ असार,
पोखराको पर्यटकीय क्षेत्र सेदीमा सफ्टवेयर कम्पनीको आवरणमा सञ्चालन भइरहेको अनलाइन सट्टेबाजी केन्द्रमा प्रहरीले छापा मार्दै आठ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त समूह भारतीय नेटवर्कसँग आबद्ध रहेर क्रिकेट, फुटबल र क्यासिनो खेलमा अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको तथा करोडौं रुपैयाँ बराबरको कारोबार भएको हुन सक्ने कास्कीका प्रहरी उपरीक्षक एसपी नवीन कार्कीले बताउनु भयो ।
गोप्य सूचनाको आधारमा शुक्रबार बिहान गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले पोखरा महानगरपालिका–१८ सेदीस्थित जीवन श्रेष्ठको घरमा छापा मार्दा सात कोठाको उक्त घरलाई कार्यालय र बसोबास दुवै प्रयोजनका लागि प्रयोग गरी अनलाइन बेटिङ सञ्चालन भइरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिइएको उहाँले शुक्रबार पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक गर्नु भएको हो ।
पक्राउ पर्नेमा दार्चुला घर भई पोखरा बस्दै आउनु भएको ३१ वर्षीय दिनेशसिंह बोहोरा तथा भारतका विभिन्न स्थानका ३४ वर्षीय सत्यम सिंह, २४ वर्षीय हर्ष उसरेटे, २३ वर्षीय विशाल चाउ, २२ वर्षीय जमानसिंह तामार, २७ वर्षीय विक्रान सिंह, २६ वर्षीय अजितेश कुमार मिश्र र २४ वर्षीय सत्यम राजपूत रहनु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सत्यम सिंह नै उक्त केन्द्रका मुख्य सञ्चालक हुनुहुन्छ । प्रहरीले घटनास्थलबाट सात थान ल्यापटप, छ थान मनिटर, ३१ थान मोबाइल फोन, नौ थान किबोर्ड, ३४ थान भारतीय सिमकार्ड, दुई थान राउटर, एक थान यूपीएस, एक थान १२ भोल्ट ब्याट्री, १६ थान चार्जर तथा अन्य विद्युतीय उपकरण बरामद गरेको प्रेस विज्ञेप्ति मार्फत जनाएको छ । ती सामग्री अनलाइन सट्टेबाजी सञ्चालनमा प्रयोग भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा उक्त समूहले २०८२ चैत १८ गतेदेखि घर भाडामा लिएर गतिविधि सञ्चालन गरेको खुलेको छ । टेलिग्राम र ह्वाट्सएपमार्फत विभिन्न लिंक ग्राहकलाई पठाई रकम जम्मा गराउन लगाउने, त्यसपछि प्रयोगकर्ताको दर्ता गरी क्रिकेट, फुटबल तथा क्यासिनो खेलमा अनलाइन सट्टेबाजी गराउने गरेको प्रहरीको भनाइ छ । खेलको नतिजाअनुसार हारजितको हिसाब गरी रकम पनि अनलाइनमार्फत नै भुक्तानी गर्ने गरिएको थियो । प्रहरीले बरामद गरेका कम्प्युटरहरूको प्रारम्भिक परीक्षणका क्रममा तीन फरक विवरणमा क्रमशः एक करोड ११ लाख ९९ हजार ११८ रुपैयाँ, नौ करोड दुई लाख २२ हजार २६ रुपैयाँ र १० करोड ५५ लाख ६८ हजार ६९० रुपैयाँ बराबरको क्रेडिट कारोबार देखिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । यद्यपि, यो वास्तविक कारोबार रकम हो वा प्रणालीमा देखिएको हिसाब मात्रै हो भन्ने विषयमा प्राविधिक अनुसन्धान जारी रहेको उहाँले जनाउनु भयो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको बयानबाट गिरोहले दैनिक तीनदेखि चार लाख भारतीय रुपैयाँसम्म आम्दानी गर्ने गरेको खुलेको छ । सम्पूर्ण आर्थिक कारोबार भारतीय बैंक खाता तथा डिजिटल वालेटमार्फत हुने गरेको र एक्सिस बैंक, आईडीएफसी बैंक, कनरा बैंक, तेलङ्गाना ग्रामीण बैंक, २४ पे, पे बजार, गुगल पे तथा नक्सन पेजस्ता भुक्तानी प्रणाली प्रयोग भएको विवरण फेला परेको छ । अनुसन्धानले यो केन्द्र भारतीय नागरिकद्वारा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय नेटवर्कको २७औँ शाखाका रूपमा सञ्चालनमा रहेको संकेत गरेको प्रहरीले जनाएको छ । त्यहाँ कार्यरत प्रत्येक व्यक्तिले मासिक २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउने गरेको समेत खुलेको छ ।
प्रहरीले घटनामा संगठित अन्तरदेशीय सञ्जालको संलग्नता हुन सक्ने आशंकासहित विद्युतीय उपकरण, बैंकिङ विवरण तथा डिजिटल अभिलेखको प्राविधिक परीक्षण अघि बढाएको जनाएको छ । पक्राउ परेका सबैमाथि विद्युतीय माध्यमबाट सञ्चालित अवैध सट्टेबाजीसम्बन्धी कसुरमा थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।







