
दीननाथ बराल,
पोखरा, १८ असार,
के तपाई व्यवसायीक कफी खेति गर्न चहानुहुन्छ ? के तपाई कफीको पारखी हुनुहुन्छ ? साच्चै हामीले कस्तो कफी खाने वा स्वास्थ्यका लागि कफीको महत्व लगायतका बिषयमा बृहत बहस, छलफल र अन्तरक्रिया सहितको राष्ट्रिय कफी प्रदर्शनी यही असार २० गते शनिबार पोखरामा हुने भएको छ । माथि उल्लेखित प्रश्नको गतिलो जबाफ दिने उद्धेश्यले शनिबार पोखरा मालेपाटन (डुमि«बोट) मा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय परिसरको कफी बगैचामा राष्ट्रिय कफी प्रदर्शनी हुने जसले उपभोक्तादेखि कफी उत्पादन र कफी बिक्रेतासम्मलाई एकै थलोमा भेला गराउने भएको हो ।
नेपाली कफीको उत्पादन, गुणस्तर, उपभोग तथा बजार प्रवद्र्धन गर्ने उद्देश्यले चिनौँ, चाखौँ, अपनाऔँ, प्रवद्र्धन गरौँ” भन्ने मूल नारासहित कार्यालयको कफी बगैँचामा उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउनु भएको हो ।बोर्डको आयोजना तथा नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी संघको सहकार्यमा हुने कार्यक्रमका मुख्य आकर्षणमा उत्कृष्ट नेपाली कफीको प्रर्दशनी तथा निःशुल्क कफी स्वाद लिने व्यबस्था, स्पेसियालिटी कफी ब्रुइङ प्रदर्शन, कफी बार तथा उपकरण प्रदर्शनी, कफी नर्सरी र बगैँचा अवलोकन, निःशुल्क स्वाद परीक्षण, बीउदेखि कपसम्मको सम्पूर्ण कफी मूल्य शृङ्खलाको प्रदर्शनी, गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया, विज्ञबाट प्राविधिक परामर्श तथा मनोरञ्जनात्मक गतिविधि हुने भएको उहाँले बताउनु भयो । कार्यक्रममा प्रवेश निःशुल्क हुने बोर्डले जनाएको छ ।

नेपाली कफी विश्व बजारमा स्पेसियालिटी कफी का रूपमा स्थापित हुँदै गएको उहाँले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार ८० प्रतिशत वा सोभन्दा बढी कपिङ स्कोर प्राप्त गर्ने कफीलाई स्पेसियालिटी कफी मानिन्छ र नेपाली कफीले नियमित रूपमा सो मापदण्ड पूरा गर्दै आएको छ । नेपालको भौगोलिक अवस्था, ८०० देखि १,६०० मिटर उचाइ, अनुकूल हावापानी, माटो तथा प्रायः अर्गानिक खेती प्रणालीका कारण नेपाली अरेबिका कफीको स्वाद र गुणस्तर विशिष्ट रहेको उहाँको भनाइ थियो । उहाँले विदेशी मुलुकबाट आयात हुने सामान्य गुणस्तरको कफी प्रतिकिलो ७०० देखि ७५० रुपैयाँसम्ममा नेपाल भित्रिने गरेको उल्लेख गर्दै नेपाली स्पेसियालिटी कफी भने अन्तर्राष्ट्रिय बजारमा करिब दुई हजार एक सय रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने दाबी गर्नुभयो । गुणस्तरमा नेपाली कफी विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेकाले यसको उत्पादन र बजारीकरणमा थप लगानी आवश्यक रहेको उहाँले बताउनुभयो ।
बोर्डका अनुसार हाल नेपालका ४३ जिल्लामा कफी खेती विस्तार भएको छ भने ३० हजारभन्दा बढी कृषक यस व्यवसायमा आबद्ध छन्। आर्थिक वर्ष २०८१÷८२ मा पाँच हजार ५०१ हेक्टर क्षेत्रफलबाट ६४२ मेट्रिक टन ग्रिन बिन कफी उत्पादन भएको छ । यद्यपि स्वदेशी उत्पादन पर्याप्त नहुँदा सोही अवधिमा १४ करोड ४१ लाख रुपैयाँ बराबरको २३० मेट्रिक टन कफी आयात गरिएको तथ्याङ्क रहेको छ । पछिल्ला वर्षहरूमा युवाहरूको आकर्षण पनि कफी खेतीतर्फ बढ्दै गएको बोर्डले जनाएको छ । पोखरा पछिल्लो समय नेपाली स्पेसियालिटी कफीको प्रमुख केन्द्रका रूपमा विकास भइरहेको उल्लेख गर्दै पुरीले यस कार्यक्रमले नेपाली कफीको विशिष्ट स्वाद, गुणस्तर र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा देशभरका कफी उत्पादक किसान, प्रशोधनकर्ता, व्यवसायी, सहकारी संस्था, क्याफे सञ्चालक, उपभोक्ता तथा सरोकारवाला निकायको सहभागिता रहने जनाइएको छ ।

कफी सहकारी संघ लि., ललितपुर कफी कपिङ च्याम्पियनसिपमा उत्कृष्ट
राष्ट्रिय कफी कपिङ च्याम्पियनसिपमा कफी सहकारी संघ लि., ललितपुर उत्कृष्ट भएको छ । ३२ वटा विभिन्न प्रतियोगिहरु मध्यबाट ८६.२५ अंकसहित कफी सहकारी संघ लि., ललितपु प्रथम हुन सफल भएको नि.प्रमुख पुरीले जनाउनु भयो । त्यसै गरी महाभारत साना किसान कृषि सहकारी संस्था, काभ्रे ८६.०० अंकसहित दोश्रो हुन सफल भएको उहाँले जनाउनु भयो । त्यसै गरी कोट थोक कफी उत्पादक कृषक समूह, गोरखा, महादेवटार धोग कृषि फर्म, काभ्रे तथा गुल्मी कफी स्टेट प्रालि., गुल्मी समान ८४.७५ अंक प्राप्त गर्दै तेश्रो हुन सफल भए । विजेतालाई १० हजार तथा दोश्रो हुनेलाई ८ हजार अन्य तेश्रो हुने ३ समुहलाई जनही ६ हजार साथमा अवार्ड समेत वितरण गरिने भएको पुरीले जनाउनु भयो ।
वि.सं. १९९५ मा सन्त हिरा गिरीले तत्कालीन बर्मा (हाल म्यानमार) बाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपेपछि नेपालमा कफी खेतीको सुरुआत भएको इतिहास छ । अहिले नेपाली कफी किसानको महत्वपूर्ण नगदे बालीका रूपमा स्थापित हुँदै गएको छ भने यसको अन्तर्राष्ट्रिय माग पनि निरन्तर बढिरहेको बोर्डको भनाइ छ । यसैबिच, कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
यसैबिच, जिल्ला कफी संघ कास्कीका अध्यक्ष आनन्द सुवेदीले मनाङ, मुस्ताङ र नवलपुरबाहेक गण्डकीका अन्य आठ जिल्लामा व्यावसायिक कफी खेती विस्तार गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनु भयो । उहाँले भन्नुभयो “निर्यातको तुलनामा नेपालले करिब चार गुणा बढी कफी आयात भएको अवस्था छ, पोखरामा हुन लागेको राष्ट्रिय प्रदर्शनीले कफीको आर्थिक महत्व, उत्पादन प्रविधि, प्रशोधन, बजार र उपभोग संस्कृतिबारे आम नागरिकलाई जानकारी दिने मात्र होइन, स्वदेशी कफीको प्रवद्र्धनमा कोशेढुङ्गा सावित हुनेछ । ”






