
दीननाथ बराल,
पोखरा, १४ असार,
पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा–३० शिशुवा देउरालीखोला किनारमा आज (आइतबार) २१औँ असारे रोपाइँ महोत्सव–२०८३ मा आन्तरिक पर्यटक सहित विदेशी पर्यटक हिलोमा रमाउँदै रोपाई महोत्सवमा सहभागि हुनु भएको छ । ’पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ वडा स्तरीय कृषि सञ्जालको स्थानीय व्यवस्थापनमा सम्पन्न महोत्सवले कृषि, पर्यटन र स्थानीय संस्कृतिलाई एउटै मञ्चमा जोड्दै ग्रामीण पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थपेको परिषदले जनाएको छ ।
विभिन्न देशका विदेशी पर्यटकहरूले स्थानीयसँगै धान रोप्दै, असारे भाका गाउँदै र हिलोमा खेल्दै नेपाली गाउँघरको मौलिक जीवनशैलीको प्रत्यक्ष अनुभव लिदै रमाउनु भएको थियो । महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्न महानगरले सबै वडामा कृषि सञ्जाल स्थापना गरी किसानलाई बीउबिजन, प्राविधिक सहयोग तथा विभिन्न सहुलियत उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले निकट भविष्यमा पृथ्वीचोक क्षेत्रमा ‘पोखरा घर’ स्थापना गरिने जानकारी दिँदै त्यहाँ पोखराको जेठोबुढो धानसहित स्थानीय कृषि उत्पादन र कोशेली सामग्रीको बिक्री–वितरण गरिने बताउनुभयो । यसबाट स्थानीय उत्पादनको बजारीकरणसँगै कृषकको आय वृद्धि र कृषि पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उहाँको विश्वास थियो । तीव्र सहरीकरणका कारण लोपोन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणालीको संरक्षण, खेतीयोग्य जमिनको सदुपयोग, युवापुस्तालाई कृषिप्रति आकर्षित गर्ने तथा कृषकको सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिएका थिए ।

महोत्सवमा हलगोरु दौड, असारे भाकासहित रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, स्वदेशी तथा विदेशी महिला–पुरुष हिलो दौड, पत्रकार खुला हिलो दौड, पुरुष–महिला रस्साकस्सी तथा विविध सांस्कृतिक कार्यक्रमले सहभागीलाई दिनभर मनोरञ्जन प्रदान गरेका थिए । विदेशी पर्यटकहरू नेपाली युवासँगै हिलोमा रमाएको दृश्य महोत्सवको प्रमुख आकर्षण बनेको थियो । यस अवसरमा पोखरा महानगरपालिकाले उत्कृष्ट कृषक सम्मानअन्तर्गत कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञानबहादुर कार्की (पोखरा–२१) तथा हेब्रोन लाइभ स्टक फार्मकी सञ्चालक कमला पाल्पाली खड्का (पोखरा–२७) लाई नगदसहित सम्मानपत्र प्रदान गरेको छ । कार्कीले ६५ रोपनी क्षेत्रफलमा मकै, तरबुजा, विभिन्न तरकारी तथा पशुपालन गर्दै व्यावसायिक कृषि गर्दै आउनुभएको छ । त्यस्तै खड्काद्वारा सञ्चालित हेब्रोन लाइभ स्टक फार्म आधुनिक तथा वैज्ञानिक प्रविधिमा आधारित नमुना दुग्ध उत्पादन केन्द्रका रूपमा परिचित छ । ३२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्ममा उन्नत घाँस खेती, आधुनिक गोठ, दूध दुहुने कक्ष, दाना भण्डारण गृह, मल व्यवस्थापन संरचना तथा प्रशासनिक भवन निर्माण गरी व्यावसायिक पशुपालनलाई प्रवद्र्धन गरिएको छ ।

वर्षमा एकपटक मनाइने असारे रोपाइँ महोत्सवले नेपाली कृषि संस्कृतिलाई जीवन्त राख्दै कृषकको सम्मान, स्थानीय उत्पादनको प्रवद्र्धन र पोखरालाई सबै मौसमका लागि उपयुक्त पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको पोखरा ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले बताउनु भयो । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कँडरियाले महोत्सवले कृषि पेशाप्रति सम्मानभाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । पोखरामा हाल करिब ३५ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ भने ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको उहाँले जनाउनु भयो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली तथा कृषि सञ्जाल पोखरा–३० का संयोजक बाबुराम ढकाल, परिषदका महासचिव जीवनराज सापकोटा लगायतले महोत्सवले कृषि संस्कृतिको संरक्षण, ग्रामीण पर्यटनको विस्तार तथा स्थानीय उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भएको थियो ।
विगत वर्षहरूमा राष्ट्रिय धान दिवसको अवसर पारेर असार १५ गते आयोजना गरिँदै आएको महोत्सव यस वर्ष भने हिन्दू परम्पराअनुसार पूर्णिमाका दिन हलगोरु नजोत्ने चलन रहेकाले एक दिनअघि कार्यक्रम आयोजना गरिएको परिषदले जनाएको छ ।

आइबतार दिनभरजसो हिलोमा खेल्दै रमाइरहेका विदेशी पर्यटक महोत्सवको मुख्य आकर्षण बने । अष्ट्रेलियाकी केडीले पहिलो पटक नेपाली रोपाइँ महोत्सवमा सहभागी हुन पाउँदा अत्यन्तै उत्साहित भएको पोखराक्लिकलाई बताउनु भयो । “हिलोमा खेल्दै धान रोप्नु मेरो जीवनकै अविस्मरणीय अनुभव बन्यो । नेपालको प्राकृतिक सुन्दरता र यहाँका मानिसहरूको आत्मीयताले निकै प्रभावित बनाएको छ,“ उहाँले भन्नुभयो । त्यसै गरी इजिप्टका मोहम्मदले नेपाल सानो देश भए पनि विविध संस्कृति र समुदायबीचको एकता निकै प्रेरणादायी लागेको बताउनु भयो । “एउटै कामलाई पनि फरक–फरक शैलीमा गर्ने संस्कृतिले मलाई आकर्षित गर्यो । रोपाइँ महोत्सवमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ,“ उहाँले प्रतिक्रिया दिनुभयो ।





