
दीननाथ बराल,
पोखरा, १० असार,
काठमाडौंमा भोलि (विहिबार) देखि सुरु हुने ३० औं राष्ट्रिय पुरुष ११ औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा पदक जित्ने गण्डकी प्रदेशका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ । यससँगै प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेश बक्सिङ टोलीलाई बुधबार पोखराबाट औपचारिक रूपमा विदाई गरिएको हो ।
पोखरा रङ्गशालामा आयोजित विदाई कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्यानीले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशको गौरव बढाउने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने घोषणा गर्नुभयो । उहाँका अनुसार स्वर्ण पदक विजेताले जनही १५ हजार रुपैयाँ, रजत पदक विजेताले १० हजार रुपैयाँ तथा कास्य पदक विजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । वडाध्यक्ष मर्सानी सहित गण्डकी प्रदेश बक्सिङ सङ्घका अध्यक्ष विद्या मर्यानी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, प्रदेश खेलकुद परिषद्का सदस्य इन्द्रा मल्ल लगायतले खेलाडी तथा प्रशिक्षकलाई सफलताको शुभकामना दिँदै विदाई गर्नुभएको थियो । नेपाल बक्सिङ सङ्घको आयोजनामा काठमाडौंमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीसहित १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । गण्डकी प्रदेशबाट पुरुष र महिलातर्फ गरी ९ जना खेलाडी सहभागी हुँदैछन् । टोलीको नेतृत्व मुख्य प्रशिक्षक लोकबहादुर गुरुङले गर्नुभएको छ भने सहायक प्रशिक्षकको जिम्मेवारी अपिल क्षत्रीले सम्हाल्नुभएको छ ।
टोलीमा राष्ट्रिय खेलाडी किरण बिके पनि सहभागी हुनुहुन्छ । विगत नौ वर्षदेखि बक्सिङमा सक्रिय बिकेले २०८०÷८१ मा चितवनमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको थियो भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्य पदक हात पार्नुभएको थियो । उहाँ विभिन्न राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएको खेलाडीका रूपमा परिचित हुनुहुन्छ । महिलातर्फ ५१ केजी तौल समूहकी देविका गुरुङ, ६० केजी समूहकी अन्तर्राष्ट्रिय खेलाडी निशिका गुरुङ र जोशिका श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ राजेश पाण्डे, साहिल लिम्बु, निशान गुरुङ, अमिश थापा, किरण बिके र सौगात गुरुङले आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्नुहुने भएको छ । विदाई कार्यक्रममा सहभागी वक्ताहरूले गण्डकी प्रदेशका खेलाडीहरूले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदकसहित फर्किने विश्वास व्यक्त गर्नु भएको छ । गण्डकी प्रदेश बक्सिङ सङ्घले पनि यसपटकको प्रतियोगितामा टोलीबाट उत्साहजनक नतिजाको अपेक्षा गरिएको जनाएको छ ।





