
पोखरा, ८ असार,
पोखरा महानगरपालिका–६ बुलौदीको ओरालोमा गयराति शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक किशोरी गम्भीर घाइते भएकी छन्। शनिबार राति करिब ११ः२० बजे हल्लनचोकबाट जिरोकिलोमिटर तर्फ आउदै गरेको ९ प ९४२५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–३३ बागमाराका २३ वर्षीय बिबस मल्ल ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी विरेन्द्रकुमार पासवानले बताए । टाउको र छातीमा चोट लागेका उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा चिकित्सकले १२ः१३ बजे मृत घोषणा गरेका हुन्।
मोटरसाइकलको पछाडि सवार सिन्धुली कमलामाई नगरपालिका–९ घर भई हाल काठमाडौं मुलपानी बस्दै आएकी १७ वर्षीया रबिना ढुङ्गेल गम्भीर घाइते भएकी छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि वडा प्रहरी कार्यालय बैदाम र अस्थायी ट्राफिक प्रहरी पोस्ट बैदामबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुघटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तष्विर एआई जेनेरेटेड





