पोखरा–९ को वडा कार्यालयद्वारा थकाली समुदायको समाजघरलाई फर्निचर सहयोग

-


     पोखरा क्लिक     
     असार ७ गते २०८३ मा प्रकाशित


पोखरा, असार ७,

पोखरा महानगरपालिका वडा नम्बर ९ कार्यालयले थकाली समुदायको सामाजिक तथा सांस्कृतिक गतिविधिलाई थप व्यवस्थित बनाउन फर्निचर सामग्री सहयोग गरेको छ। वडा कार्यालयले करिब एक लाख रुपैयाँ बराबरका फर्निचर सामग्री तीन गाउँले थकाली सेवा समाजलाई आज (आइतबार) हस्तान्तरण गरेको हो।

आइतबार आयोजित एक कार्यक्रममा वडा अध्यक्ष दीपेन्द्र मर्सानीले समाजका अध्यक्ष कमलप्रसाद थकाली, उपाध्यक्ष कृष्णलाल थकाली, सचिव आशबहादुर थकाली लगायतलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो। समाजघर तथा कार्यालय सञ्चालनलाई सहज बनाउन उक्त सहयोग गरिएको वडा अध्यक्ष मर्सानीले बताउनुभयो। कार्यक्रममा बोल्दै उहाँले कला, संस्कृति र परम्पराको संरक्षणमा सक्रिय सामाजिक संस्थाहरू समुदायका पहिचान जोगाउने महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो। वडा नम्बर ९ भित्र यस्ता समाजघर कम रहेको सन्दर्भमा छिमेकी वडामा रहेर पनि थकाली समुदायको संस्कृति संरक्षणमा योगदान पुर्‍याइरहेको संस्थालाई आवश्यक फर्निचर सामग्री उपलब्ध गराइएको उहाँले बताउनुभयो।

समाजका अध्यक्ष कमलप्रसाद थकालीले वडा कार्यालयबाट प्राप्त सहयोग समुदायका लागि महत्वपूर्ण भएको बताउँदै यसलाई समाजघर सञ्चालन र सामाजिक गतिविधिमा प्रभावकारी रूपमा उपयोग गरिने जानकारी दिनुभयो। उहाँले सहयोगप्रति वडा कार्यालय, वडा अध्यक्ष मर्सानी तथा समन्वयमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। समाजघरलाई समुदायले जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार, चाडपर्व तथा सामूहिक कार्यक्रम सञ्चालन गर्ने केन्द्रका रूपमा प्रयोग गर्दै आएको छ। हरेक वर्ष थकाली समुदायले आफ्नो परम्परागत नयाँ वर्ष ‘ल्सम’ तथा त्युङल लगायतका सांस्कृतिक पर्वहरू मनाउँदै आएको समाजले जनाएको छ। समुदायले पुस्तौंदेखि चलिआएको परम्परागत ‘तागा हान्ने’ (तारा हान्ने) खेललाई पनि निरन्तरता दिँदै आएको सल्लाहकार वसन्त थकालीले पोखराक्लिकलाई जनाउनु भयो । सहारा क्लवका पूर्व अध्यक्ष विक्रम थकालीले थकाली समुदायको ऐतिहासिक र महत्व रहेको समाज घरमा अर्को वडाले सहयोग गर्नू निकै प्रशंसनीय कार्य भएको बताउनु भयो ।