
दीननाथ बराल,
पोखरा,
पोखरा रंगशालामा आहा–रारा पोखरा गोल्डकप चलिरहँदा लेकसाइड आसपासका होटल तथा रेस्टुरेन्टमा चहलपहल बढ्छ । सहारा क्लबले विगत २५ वर्षदेखि निरन्तर गर्दै आएको आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले फुटबल खेलसँगै पोखरा आसपास क्षेत्रको अर्थतन्त्रलाई समेत चलायमान बनाउँदै आएको छ ।

क्लबले हरेक वर्ष कम्तिमा दुईदेखि चार विदेशी टिमको सहभागितासहित आफ्नो मातृ संगठन सहारा युके, सहारा हङकङ र सहारा अस्ट्रेलियाबाट कम्तिमा ६० देखि ७० जनाको जम्बो टोली पोखरामा उतार्ने गरेको छ । उनीहरु कम्तिमा दुई साता पोखरामा बिताउने गरी आउँछन् । प्रति टिम २७ जनाका दरले नेपालका चर्चित ए’ डिभिजनका क्लबसहित कम्तिमा १२ टिमबीच हुने उक्त खेलको ११ दिनको अवधिमा ३ सयभन्दा बढी खेलाडी, अफिसियल, पाहुना र दर्शकको कुरा गर्दा यस क्षेत्रमा करिब १५ देखि २० करोड मूल्य बराबरको आर्थिक कारोबार हुने गरेको छ । उसो त क्लबले आफ्नो ढंगले मात्र करिब डेढदेखि दुई करोडको कारोबार गर्दै आएको छ भने क्लबले आहा रारा पोखरा गोल्ड कपको फाइनल खेलमा मात्र ८ देखि १० हजार दर्शक भित्र्याउन सफल भएको छ ।

सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा यस प्रतिष्ठित प्रतियोगिताले खेल पर्यटन प्रवद्र्धन गर्न विगत २५ वर्षदेखि महत्वपूर्ण रुपमा योगदान दिँदै आएको बताउँछन् । आगन्तुक पाहुनाले पोखरामा उत्पादन हुने गरेका वस्तु खरिद गर्दा यहाँको थप कारोबार हुने र यस वर्ष भारतीय पर्यटक पोखरासहित नेपालमा ठूलो संख्यामा भित्रिएको अवस्थामा पोखरामा भारत र पाकिस्तान जस्ता देशलाई लक्षित गरी यहाँ क्रिकेट खेल खेलाउन सके यसबाट यस क्षेत्रको अर्बौंको आर्थिक कारोबार हुने थापाको ठम्याइ छ । उनी भन्छन्, ‘विराट कोहलीले छक्का हान्दा माछापुच्छ्रेको ब्याकग्राउन्ड देखिँदा त्यो फोटोले विश्वमा कति चर्चा पाउला, हामीले कल्पना गरौं न ।’ निश्चित खेल संघ–संस्था एवं क्लबले निरन्तर विभिन्न प्रतियोगिता गर्दै आए पनि नीतिगत रुपमा सरकारले यसलाई अब स्पष्ट रुपमा अपनत्व लिँदै यसको ब्रान्डिङ र मार्केटिङसहित सहयोग गरेमा खेल पर्यटनबाट यस क्षेत्रमा ठूलो आर्थिक लाभ लिन सकिने उनको बुझाइ छ ।
(अन्नपूर्ण हिमशृंखलाको काखमा रहेको यो सहरसँग अन्तर्राष्ट्रिय विमानस्थल छ, एकै रातमा ४० हजार पर्यटकलाई राख्न सक्ने बेडसहितका प्रशस्त होटल छन्, खेल मैदान छन्, साहसिक खेलको विश्वव्यापी ब्रान्ड छ र खेलकुदप्रतिको सामाजिक संस्कार पनि बलियो छ ।)

पोखरामा विगत लामो इतिहास बनाउँदै खेल पर्यटनका माध्यमबाट पोखराको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउने काममा नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने सफल अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता र नेपाल हवाई खेलकुद संस्था (ना) ले आयोजना गर्दै आएको खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताले समेत दुई दशक पार गरेका छन् । यी प्रतियोगिताले यस क्षेत्रको खेलकुदसँगै अन्तर्राष्ट्रिय बजारमा पोखरा र नेपालको नाम ब्रान्डिङ गराउनुका साथै विदेशबाट खेलाडी भित्राउने काम गरेका छन्, जसले यस क्षेत्रको आर्थिक पर्यटनमा ठुलो टेवा पुगेको छ । पछिल्लो समयमा सफल म्याराथन प्रतियोगितामा १२ देखि १४ देशका धावक सहभागी भएसँगै उपाधि केही वर्षदेखि विदेशी धावकले जित्ने गरेका छन् । उक्त प्रतियोगितामा ८ देखि १० हजार धावक सहभागी हुने गरेको मञ्चको दाबी छ । युके र बोस्टन म्याराथनको अवधारणामा पोखरा म्याराथनलाई र आहा रारा पोखरा गोल्ड कपलाई पोखरा महानगरपालिकाले आफ्नो संरक्षकत्व लिँदै बजेट समेत उपलब्ध गराउँदै आएको छ ।
पोखरा खेल पर्यटनसँगै साहसिक खेलकुदको पनि हबको चर्चा चलिरहँदा पोखराको दिगो पर्यटनको लागि प्याराग्लाइडिङले निकै महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । प्याराग्लाइडिङका लागि विश्वकै पाँच उत्कृष्ट स्थानमा पर्ने सराङकोट क्षेत्रमा दुई दशकदेखि हुँदै आएको प्याराग्लाइडिङ प्रतियोगिताको प्रि–वल्र्ड कप र स्याङ्जाको स्वरेकमा वल्र्ड कप हुनुले यसबाट पोखराको विश्वसामु चर्चासँगै खेल पर्यटनबाट ठूलो आर्थिक लाभ दिइरहेको छ । कुनै समयमा २० भन्दा बढी विदेशी प्याराग्लाइडिङ पाइलटको सहभागितामा पोखरामा ६ दिन भएको प्रतियोगिताले यस क्षेत्रमा पारेको आर्थिक प्रभाव निकै सकारात्मक छ ।

पोखरामा हरेक दिन जसो करिब दुई सयभन्दा बढी व्यावसायिक प्याराग्लाइडिङ उडान हुने गरेका छन् । मौसम खुल्दा पोखरामा प्याराग्लाइडिङ उडान गर्दा न्यूनतम १७ लाख मूल्य बराबरको त यहाँ उडान शुल्कबाट मात्र आर्थिक कारोबार हुने गरेको छ । अब भन्न सकिन्छ, पोखरामा प्याराग्लाइडिङ गर्न भनी आएको हवाई उडानदेखि ट्याक्सी, बस, हुँदै होटल तथा रेस्टुरेन्ट र थप पर्यटकीय गन्तव्यमा घुमघाममा जाँदा उनीहरुले गर्ने खर्चले यस क्षेत्रको अर्थतन्त्रमा करिब दैनिक ५० लाखभन्दा बढीको कारोबार हुने गरेको छ । पोखरामा सञ्चालनमा रहेका ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनी तथा दुई सयभन्दा बढी प्याराग्लाइडिङ पाइलटले समेत नियमन उडान गर्दै आएका छन् । पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउने कडीको रुपमा प्याराग्लाइडिङले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपालले प्याराग्लाइडिङ क्रस कन्ट्रीतर्फको इभेन्टमा एसियन गेम्समा रजत पदक हात पार्न सफल भएको थियो । यो नेपाली इतिहासमा साहसिक खेलकुदमा ठूलो पदक हो ।
खेल र पर्यटनको अनुपम संगम
सामान्यतः पर्यटन र खेलकुदलाई अलग क्षेत्रका रुपमा हेरिन्छ । तर विश्वका विकसित मुलुकले यी दुई क्षेत्रलाई एउटै आर्थिक इन्जिनका रुपमा प्रयोग गरेका छन् । खेलकुद प्रतियोगिता हेर्न, खेल्न वा सहभागिता जनाउन हजारौं मानिस यात्रा गर्छन् । उनीहरुले होटलमा बस्छन्, रेस्टुरेन्टमा खान्छन्, यातायात प्रयोग गर्छन्, किनमेल गर्छन् र स्थानीय अर्थतन्त्रलाई प्रत्यक्ष चलायमान बनाउँछन् । पोखराले यही मोडेललाई सफल बनाउन सक्ने सबैभन्दा बढी सम्भावना बोकेको सहरका रुपमा केही उदाहरण दिइसकेको छ । अन्नपूर्ण हिमशृंखलाको काखमा रहेको यो सहरसँग अन्तर्राष्ट्रिय विमानस्थल छ, एकै रातमा ४० हजार पर्यटकलाई राख्न सक्ने बेडसहितका प्रशस्त होटल छन्, खेल मैदान छन्, साहसिक खेलको विश्वव्यापी ब्रान्ड छ र खेलकुदप्रतिको सामाजिक संस्कार पनि बलियो छ । यिनै कारणले पोखरा पर्यटनको राजधानीबाट खेल पर्यटनको राजधानी बन्ने यात्रामा अघि बढिरहेको छ ।

हिमाल, ताल, प्राकृतिक सौन्दर्य, साहसिक गतिविधि र बहुसांस्कृतिक जीवनशैलीका कारण विश्वभर परिचित पोखराले अब खेल पर्यटनमार्फत आर्थिक समृद्धिको नयाँ ढोका खोल्न सक्ने सम्भावना छ । पोखरासहित कास्की क्षेत्र केन्द्रित हरेक दिन जसो विभिन्न प्रतियोगिता हुने गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा ८ वटा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदा अधिकांश खेल पोखरा रंगशालामा भएका थिए । ४ सय १७ रोपनी क्षेत्रफलमा फैलिएको रंगशालामा हाल २१ वटा खेल मैदान तथा कोर्ट एवं कभर्डहल रहेका छन् । २०७६ मंसिर १५ देखि २४ गतेसम्म महिला क्रिकेट, महिला फुटबल, बिच भलिबल, ह्यान्डबल, आर्चरी, भारोत्तोलन, ट्रायथलन र ब्याडमिन्टन प्रतियोगिता पोखरा क्षेत्रमा भएका थिए । त्यसैगरी २०७९ असोज २८ देखि कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश राजधानी पोखरा केन्द्रित अधिकांश खेल पोखरासहित कास्कीमै भए । गण्डकी प्रदेश आफैंमा खेलकुदको शहर र सम्भावनासहित यहाँ उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी समेत रहेको नवौं राष्ट्रिय खेलकुदमा समग्रतामा चौथो र प्रदेशमा पहिलो हुन सफल हुनुले प्रस्टाएको छ । गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कांस्यसहित १ सय २० पदक जितेर प्रदेशमा पहिलो हुन सफल भएको हो । यसबाट यस क्षेत्रमा खेलकुदको उर्वर भूमिसँगै खेलाडी र नतिजा दिने गौरवशाली खेलाडी उत्पादन हुँदै छन् भन्ने संकेत गर्छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचन खेलकुद र खेल पर्यटनको दिगो विकासका लागि एकीकृत विकास योजना आवश्यक रहेको बताउँछन् । उनी खेलकुद र पर्यटन क्षेत्रका सरोकारवालालाई साझा दृष्टिकोणसहित दीर्घकालीन योजना ल्याउन आग्रह गर्दै सरकार आवश्यक पूर्वाधार निर्माण र नीतिगत सहयोग गर्न तयार रहेको स्पष्ट पार्छन् । उनले ढोरपाटनमा स्की तथा घोडा दौड, मुस्ताङमा गल्फ, पोखरामा साहसिक खेल तथा अन्तर्राष्ट्रिय प्रतियोगिता विकास गर्न प्रदेश सरकारले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री शेरचनको भनाइलाई समर्थन गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्मा पोखरासहित समग्र गण्डकी प्रदेशलाई खेलकुदको केन्द्र घोषणा गर्नुपर्ने माग गर्छन् । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङमा स्की, घोडचढी, अल्ट्रा म्याराथन, मोटरसाइकल रेस र गल्फ जस्ता खेलको अन्तर्राष्ट्रिय सम्भावना रहेको उल्लेख गर्दै उनले हिमालदेखि तराईसम्म खेल पर्यटनका असंख्य अवसर रहेको बताए । उनका अनुसार नारायणी नदीमा कायाकिङदेखि मुक्तिनाथ हुँदै कोरला नाकासम्म मोटरसाइकल रेस आयोजना गर्न सकिने सम्भावना छ । खेलकुदले पर्यटन मात्र नभई अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सम्बन्ध विस्तारमा समेत योगदान पु¥याउने उनको तर्क छ । प्रदेश सरकारले नीतिगत रुपमा खेलकुदलाई प्राथमिकता दिए पनि बजेट विनियोजन अत्यन्त न्यून रहेको उनको गुनासो छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब ९ करोड बजेट खेलकुद क्षेत्रमा विनियोजन गरेको उनले जनाए । परिषद्ले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा खुला एवं प्रदेशस्तरीय प्रतियोगिताको खेल सञ्चालनको लागि चालु वर्षमा करिब १ सय ५० वटा विभिन्न प्रतियोगिताको अनुमति लिएको छ ।
पोखराको खेल संस्कृति र पूर्वाधार
पोखरामा खेलकुद र पर्यटनलाई सँगसँगै लैजान सके पोखराको खेल पर्यटनबाट ठुलो आर्थिक लाभसहित यस क्षेत्रमा कायापलट गर्न सकिन्छ । सायद यहाँ सम्भावना भएरै होला गण्डकी विश्वविद्यालयले खेलकुदलाई प्राथमिकता दिँदै ब्याचलर स्पोट्र्स म्यानेजमेन्ट कोर्स सञ्चालन गरेको छ । सरकारी तथा निजी क्षेत्रबाट भएका पहल र केही प्रयासले गर्दा पोखरा क्षेत्र अब पर्यटनको राजधानी मात्र नभई खेलकुदको राजधानी बनाउन धेरै मद्दत पुग्ने विश्वास गरिएको छ । करिब २२ अर्बको ऋणमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान पनि खेलकुदको माध्यमबाट हुन सफल भयो । २०७९ पुस १७ गते सञ्चालनमा आएको पोखरा विमानस्थल ६ महिना पछि खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय उडान भएको हो । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको जहाज २०८० असार ६ गते पोखरामा अवतरण गर्दा त्यसले ड्रागन बोट रेस फेस्टिभलका खेलाडी लिएर आएको थियो ।

नेपाल ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङ पोखरा खेल संस्कृतिको शहर भएको बताउँछन् । पूर्व सैनिक तथा खेलप्रेमी समुदायको बाक्लो उपस्थिति, तालतलैया, पहाडी भूगोल र साहसिक खेलका सम्भावनाले पोखरालाई खेल पर्यटनको उत्कृष्ट गन्तव्य बनाएको उनको भनाइ छ । उनले प्याराग्लाइडिङ, पोखरा म्याराथन, आहा–रारा गोल्डकप, टाइगर कप, ड्रागन बोट रेस, ट्रायथलन, टेनिस प्रतियोगिता र अन्नपूर्ण म्याराथन लगायतले पोखरालाई खेलकुदको विशिष्ट पहिचान दिएको बताए । पोखराबाट प्रत्यक्ष अन्तर्राष्ट्रिय उडानको अभावले विदेशी खेलाडी र खेल पर्यटक आकर्षित गर्न चुनौती सिर्जना गरेको उल्लेख गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । पोखरामा पछिल्लो समयमा पर्वतीय दौडसहित अल्ट्रा म्याराथन हुनुले खेलकुदमा पोखरा अपरिहार्य भएको गुरुङले जनाए ।

गण्डकी प्रादेशिक क्रिकेट संघ तथा नाटा गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलका अनुसार पोखरामा देशकै दुर्लभ खेल पूर्वाधारको संयोजन छ । पोखरा रंगशालाभित्र क्रिकेट मैदान, फुटबल स्टेडियम, टेनिस कोर्ट, आर्चरी मैदान, ब्याडमिन्टन हल, बास्केटबल कोर्ट, भलिबल कोर्ट, ह्यान्डबल मैदान र बहुउद्देश्यीय कभर्डहल एउटै परिसरमा उपलब्ध छन् । सिग्देल भन्छन्, ‘यदि सही रणनीति बनाइयो भने सन् २०२७ मा नेपाल र बंगलादेशमा आयोजना हुने यू–१९ विश्वकप क्रिकेटका केही खेल पोखरामा ल्याउन सकिन्छ ।’ यसले पोखराको अन्तर्राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पु¥याउने उनको विश्वास छ । तर आवश्यक क्रिकेट पूर्वाधार निर्माणमा सरकारको उदासीनता रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । पोखराका फोटो पत्रकार सुदर्शन रञ्जितले पोखरा रंगशालामा क्रिकेट खेल्दै गरेको फोटो, जहाँ माछापुच्छ्रे हिमालको प्रतिविम्ब रहेको थियो, त्यसका आधारमा एसिया प्रशान्त स्तरीय ‘आइसिसी डेभलपिङ फोटो अफ दि इयर’ विधामा प्रथम भई ग्लोबल अवार्डमा समेत छनोट भए । यसले यहाँ खिचिने तस्बिर विश्व प्रतिस्पर्धामा उत्कृष्ट हुन सक्छन् भन्ने देखाउँछ, जसले यस क्षेत्रमा खेल पर्यटनको आकर्षण बढाउन सक्छ ।
पोखरा भ्रमण वर्ष कार्यसम्पादन समिति २०२५÷०२६ का संयोजक तथा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गोपीबहादुर भट्टराई खेलकुद र पर्यटनको सम्बन्ध नङ र मासु जस्तै भएको बताउँछन् । उनी भन्छन्, ‘जहाँ पर्यटक हुन्छन् त्यहाँ खेलकुद चलायमान हुन्छ, जहाँ खेलकुद हुन्छ त्यहाँ पर्यटक पुग्छन् ।’ खेल पर्यटनले मास टुरिजमदेखि गुणस्तरीय पर्यटकसम्म आकर्षित गर्न सक्छ । पोखरामा वर्षभरि खेल गतिविधि सञ्चालन गर्न सकिने मौसम, ८ सय मिटरदेखि ५ हजार मिटर उचाइसम्मका भौगोलिक विविधता र पर्याप्त प्राकृतिक पूर्वाधार भएकाले राज्यले रणनीतिक लगानी गरे दक्षिण एसियाकै प्रमुख खेल पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना रहेको उनको दाबी छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक प्रभाव
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने पर्यटनको राजधानी शहर पोखरामा पछिल्लो समयमा खेलकुदका विभिन्न गतिविधिले गर्दा यहाँको पर्यटनलाई खेलकुदले र खेलकुदलाई पर्यटनले चलायमान बनाएको बताउँछन् । उनी भन्छन्, ‘साउथ एसियन रिजनमा हेर्दा क्रिकेटमा भारत र पाकिस्तानको न्युट्रल भेन्यु नेपाल र पोखरालाई बनाउन सकिएमा एक खेलबाटै यस क्षेत्रको अर्थतन्त्रमा कति प्रभाव पर्छ, हामीले कल्पना पनि गर्न सक्दैनौं ।’ भारत र पाकिस्तानले एक देशका खेलाडी अर्को देशमा गएर नखेल्ने घोषणा गरेकोले छिमेकी मुलुक नेपालले त्यसको फाइदा उठाउने गरी त्यसको विकल्प पोखराले दिन सक्नुपर्ने उनको तर्क छ । बोर्डले स्थानीय र राष्ट्रियभन्दा अन्तर्राष्ट्रिय प्रतियोगितालाई प्रवद्र्धन गर्ने गरेको उनले जनाए ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी प्रकृति, संस्कृति र साहसिक खेलकुदका माध्यमबाट पोखरामा धेरै पर्यटक भित्रिने गरेको बताउँछन् । ड्रागन बोट रेस, क्रस कन्ट्री रेस र अल्ट्रा म्याराथन लगायतका प्रतियोगिताले खेल पर्यटनमा निकै आकर्षण थपेका छन् । सुवेदी भन्छन्, ‘पोखरामा हुने ठुला प्रतियोगिताका बेला अफसिजनमा पनि होटल अकुपेन्सी बढ्छ, जसले यस क्षेत्रका पर्यटन व्यवसायीलाई धेरै राहत पुग्छ ।’ तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका निर्वतमान अध्यक्ष राजन पौडेल भने संरचना नबनाई खेलकुदको राजधानी बनाउँदा समस्या हुने ठान्छन् । उनी भन्छन्, ‘पोखरालाई पर्यटनको राजधानी बनाउन जुन रुपमा हतार गरियो, संरचना नबनाई खेलकुदको राजधानी बनाउँदा यहाँको खेल मैदान अन्तर्राष्ट्रिय स्तरको हुनुप¥यो ।’ सार्वजनिक स्थलमा शौचालय र पार्किङ जस्ता आधारभूत विषय बिना राजधानी घोषणा गर्ने तर राज्यले पूर्वाधार निर्माणमा उदासीन हुने हो भने त्यसको अर्थ नहुने उनको तर्क छ । पौडेलले फेवाताल किनारमा बिच भलिबल, बिच तथा मड फुटबल र बिच बास्केटबल जस्ता खेलको राम्रो सम्भावना रहेको औंल्याएका छन् ।

फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले सन् १९५० जुन ३ मा अन्नपूर्ण हिमालको कीर्तिमानी आरोहण गरेको विषयले आज विश्वमा यस क्षेत्र चर्चामा रहेको छ । यसले यहाँ रहेका आठ हजार मिटरभन्दा अग्लो हिमालसँगै खेल पर्यटनको सम्भावनालाई उजागर गरिदिएको छ । उनै मौरिसको सम्झनामा कास्कीमा अन्नपूर्ण म्याराथन र म्याग्दीमा मौरिस हर्जोग दौड प्रतियोगिता सञ्चालन भएको छ । १३ औं सागका बेला तत्कालीन राखेप सदस्य राजेश गुरुङको सक्रियतामा एक अर्ब २८ करोडको लगानीमा पोखरा फुटबल रंगशाला निर्माण भएको छ । अन्य खेलकुदका ठूला संरचनामा प्रायः निजी क्षेत्रको उल्लेख्य योगदान रहेको छ । २०७५ सालमा नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएसँगै स्विमिङ र सुटिङको योजना पोखरामा आयो । तर समयमै टेन्डर आह्वान नहुँदा पटक पटक परेको बजेट समेत फ्रिज हुँदा हालसम्म यी दुई योजना अलपत्र परेका छन् । संघीय सरकारको बजेटमा आउँदो वर्षको लागि क्रिकेट मैदानको स्तरोन्नति र पोखरा रंगशालाको फुटबल स्टेडियममा फ्लड लाइट जडानको लागि ५–५ करोड बजेट विनियोजन भएको छ ।

खेलकुदले चलाउने अर्थतन्त्र टिकट बिक्रीमा मात्र सीमित हुँदैन । एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदा होटल, होमस्टे, रेस्टुरेन्ट, क्याफे, यातायात, ट्राभल कम्पनी, खेल सामग्री व्यवसाय, मिडिया, विज्ञापन, हस्तकला तथा स्मृति–वस्तु बजार सबै चलायमान हुन्छन् ।
पोखरामा वर्षभरि खेल गतिविधि सञ्चालन गर्न सके हजारौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुन सक्ने विज्ञको आकलन छ । रात्रिकालीन खेलकुदको सम्भावनालाई पनि पोखराले प्रमाणित गरिसकेको छ । गत चैतमा भएको रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी भए, जसले खेलकुदलाई मनोरञ्जन र उत्सवसँग जोड्न सकिने देखाएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालका सचिव डिबी नेपाली टाइगर कप भलिबल प्रतियोगिताले खेलकुदलाई सही व्यवस्थापन गर्न सके प्रत्यक्ष आर्थिक प्रतिफल दिने उद्योगका रुपमा विकास गर्न सकिन्छ भन्ने प्रमाणित गरेको बताउँछन् । प्रतियोगिताले ९ दिनमा करिब १ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो भने यसले १० करोडभन्दा बढीको आर्थिक कारोबार गराउन मद्दत पु¥याएको थियो । संस्थाले थाइल्यान्ड, भुटान र भारत लगायतका देशबाट खेलाडीको टिम ल्याउने गरेको र यसको शाखा जापान, पोर्चुगल, क्यानडा र अस्ट्रेलियामा समेत विस्तार भएको उनले बताए ।

भविष्यको मार्गचित्र र नयाँ पहिचान
यति धेरै सम्भावना हुँदाहुँदै पनि केही चुनौती भने बाँकी छन् । सबैभन्दा ठुलो चुनौती पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुनु हो । फ्लाई दुबई कम्पनीले आउँदो असोज ७ देखि कार्तिक ७ सम्म एक महिना पोखरादेखि सिधा दुबई फ्लाइट गर्ने गरी परीक्षणको लागि अनुमति लिएकोले यो निकै सकारात्मक कदम भएको खेलकर्मीको भनाइ छ । पोखरा केवल प्राकृतिक सौन्दर्यका लागि मात्र होइन, खेल पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्ने अवसरको पर्खाइमा छ । यहाँ हिमाल छन्, ताल छन्, खेल मैदान छन्, साहसिक खेल छन्, खेल संस्कृति छ र खेलप्रेमी जनशक्ति पनि छ । अब आवश्यक छ—स्पष्ट दृष्टिकोण, दीर्घकालीन रणनीति र बलियो राजनीतिक प्रतिबद्धता । यदि खेलकुदलाई खर्च नभई लगानीका रुपमा हेर्न सकियो भने त्यसको प्रतिफल पर्यटन, रोजगारी, कर राजस्व र अन्तर्राष्ट्रिय पहिचानका रुपमा प्राप्त हुनेछ ।

गण्डकी प्रदेशको विशेषता भौगोलिक विविधता हो । मुस्ताङ र मनाङमा हाई अल्टिच्युड प्रशिक्षण, स्की, स्नो रन र मोटरसाइकल रेसको सम्भावना छ । ढोरपाटन क्षेत्रमा स्की तथा घोडा दौड विकास गर्न सकिन्छ । मुक्तिनाथदेखि कोरला नाकासम्म साहसिक मोटरसाइकल रेस आयोजना गर्न सकिने सम्भावना छ । नारायणी नदी र कालीगण्डकी क्षेत्रमा कायाकिङ र ¥याफ्टिङका अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ । पोखरा केन्द्रित खेल पर्यटनले सम्पूर्ण गण्डकी प्रदेशलाई आर्थिक रुपमा जोड्न सक्छ । त्यस दिन खेल मैदानमा गुन्जिने सिट्टीको आवाज केवल खेलको संकेत मात्र हुनेछैन, त्यो गण्डकी प्रदेशको अर्थतन्त्रमा आएको नयाँ परिवर्तनको संकेत पनि हुनेछ । पोखराका ताल, हिमाल र मैदानले सँगै घोषणा गरिरहेका हुनेछन्—पर्यटनको राजधानी अब खेलकुदको राजधानी पनि बनिरहेको छ । पहिलो तष्विर आईजेनेरेट ।





