राष्ट्रिय क्रिकेट खेलाडी अर्जुन कुमाल र रचना चौधरी कास्कीमा नगदसहित सम्मानित (भिडियो सहित)

-


     पोखरा क्लिक     
     जेठ ३० गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ३०, जेठ,

कास्की जिल्ला क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी अर्जुन कुमाल र रचना चौधरीलाई जनही १० हजार रुपैयाँ नगद सहित सम्मान गरेको छ । संघको शनिबार पोखरामा आयोजना भएको छैटौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन सत्रको अवसरमा जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै कास्कीको नाम उच्च बनाउने क्रिकेट खेलाडीहरूलाई नगदसहित सम्मान गरिएको संघले जनाएको छ ।

कार्यक्रममा अर्जुन कुमाललाई कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले नगदसहित सम्मान गर्नु भएको छ भने राष्ट्रिय महिला टोलीकी खेलाडी रचना चौधरी भने कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसकेको संघले जनाएको छ ।
कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले कास्की जिल्लाबाट प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुगेर जिल्लाको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पु¥याउने खेलाडीहरूलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको बताउनु भयो । कास्की क्रिकेटले उत्पादन गरेका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरिरहेकाले आगामी दिनमा पनि यस्ता सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइने उहाँले जनाउनु भयो ।

यसैगरी नेपाललाई विभिन्न उमेर समूह तथा राष्ट्रिय टोलीमार्फत प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको छ । नेपाल ‘बी’ राष्ट्रिय टोलीका विपिन खत्री तथा नेपाल अण्डर–१९ टोलीका सुभाष भण्डारी, सिब्रीन श्रेष्ठ र सोहेल कुँवरलाई प्रशंसापत्र, नगद सात हजार रुपैयाँ तथा दोसल्लासहित सम्मान गरिएको थियो । त्यसैगरी खेलाडी प्रोत्साहन पुरस्कारअन्तर्गत कृष्ण पौडेल, रोहित चन्द, यशोदा भुजेल र चन्द्रमाया बराललाई जनही पाँच हजार रुपैयाँ, प्रमाणपत्र तथा मालासहित सम्मान गरिएको संघले जनाएको छ । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, क्रिकेट अभियन्ता देवेन्सन प्रजू, दिपक कोइराला, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तिलक क्षत्री लगायतले विभिन्न विधाका सम्मान तथा पुरस्कार वितरण गर्नु भयो ।

संघले अन्तर्राष्ट्रिय अम्पायर तथा प्रशिक्षक सम्मानअन्तर्गत नेपाली महिला राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रिजन प्रजू, अन्तर्राष्ट्रिय अम्पायर सञ्जयकान्त सिग्देल तथा अन्तर्राष्ट्रिय स्कोरर आशिष बराललाई सम्मानपत्रसहित सम्मान गरेको थियो। यस्तै लेभल–१ प्रशिक्षक, अम्पायर, बोर्ड सदस्य, मैदान कर्मचारी तथा उत्कृष्ट योगदान पु¥याउने प्रशिक्षकहरूलाई समेत सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । उक्त कार्यक्रमले क्रिकेट क्षेत्रमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, अफिसियल तथा कर्मचारीहरूको मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताउनु भयो । क्रिकेट खेलको विकासको लागि सरोकारवाला निकाय जिम्मेवार हुन आग्रह गर्दै उहाँले प्रशासनिक रुपमा क्रिकेट खेलको विकासको लागि आवश्यक समन्वय गर्ने जनाउनु भयो ।