गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप भोलि शुक्रबारदेखि पोखरामा हुने, उद्घाटन खेलमा कास्कीको डायमण्ड बिरुद्ध पर्वतको मंगोलदय स्कुल भिड्ने

-


     पोखरा क्लिक     
     जेठ २१ गते २०८३ मा प्रकाशित


पोखरा, जेठ २१,

गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ भोलि शुक्रबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुने भएको छ। भोलिको उद्घाटन खेलमा कस्कीको डायमण्ड सेकेन्डरी स्कूल र पर्वतको मंगलोदय माध्यमिक विद्यालय बिच खेल हुने भएको संघले पोखराक्लिकलाई जनाएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका प्रतिनिधि विद्यालयहरूको सहभागिता रहने संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताए । प्रत्येक जिल्लाबाट विद्यालयस्तरीय प्रतियोगिताको विजेता विद्यालय मात्र यस प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस वर्षको प्रतियोगितामा सहभागी विद्यालयका खेलाडीहरूसँगै सम्बन्धित जिल्लाबाट छनोट गरिएका अतिरिक्त चार जना उत्कृष्ट खेलाडीलाई समेत टोलीमा समावेश गर्ने अवसर प्रदान गरिएको छ। यसले जिल्लाभित्र रहेका प्रतिभावान खेलाडीलाई प्रदेशस्तरीय प्रतिस्पर्धामा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतियोगितामा कास्कीबाट डायमण्ड सेकेन्डरी स्कूल, नवलपुरबाट भिमसेन आदर्श माध्यमिक विद्यालय, स्याङ्जाबाट भगवती माध्यमिक विद्यालय तथा पर्वतबाट मंगलोदय माध्यमिक विद्यालय सहभागी हुँदैछन्। लीग चरणका खेलहरू जेठ २२, २३ र २४ गते सञ्चालन हुनेछन् भने फाइनल खेल जेठ २५ गते हुनेछ। पहिलो खेल बिहान ९स्०० बजे र दोस्रो खेल दिउँसो १स्०० बजे सुरु हुनेछ। प्रतियोगिताको विजेता टोलीले आगामी असारको पहिलो सातादेखि काठमाडौंमा आयोजना हुने राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप मा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछ। साथै, यस प्रतियोगिताबाट छनोट हुने उत्कृष्ट चार खेलाडीले पनि विजेता विद्यालयको टोलीबाट राष्ट्रिय प्रतियोगितामा खेल्ने अवसर प्राप्त गर्नेछन्।

प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुन पाउनेछन्। साथै, जिल्ला स्तरीय प्रतियोगितामा सहभागी भई यस वर्ष एसईई परीक्षा उत्तीर्ण गरेका खेलाडीहरूलाई समेत प्रतियोगितामा सहभागी हुन अनुमति दिइएको आयोजकले जनाएको छ। विद्यालयस्तरमै क्रिकेटको आधार बलियो बनाउने, ग्रासरुट तहका प्रतिभाको पहिचान तथा विकास गर्ने तथा राष्ट्रिय प्रतियोगिताका लागि सक्षम टोली निर्माण गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको गण्डकी प्रादेशिक क्रिकेट संघले जनाएको छ।