पुरानो पोखरा : विमानस्थलसँगै सुरु भएको गोरुगाडा सेवा

-


     पोखरा क्लिक     
     जेठ २१ गते २०८३ मा प्रकाशित


पोखराको विकासको रोचक पक्ष के हो भने यहाँ सडक यातायातभन्दा पहिले हवाई यातायातले गति लिएको थियो। २०११/१२ सालतिर पोखराका व्यापारीहरूले भैरहवा र काठमाडौंबाट हवाईजहाजमार्फत सामान मगाउन थालेका थिए। विमानस्थलमा अवतरण भएका ती सामान व्यापारीका घर–घर र पसलसम्म पुर्‍याउन गोरुगाडाको प्रयोग गरिन्थ्यो।

कथनअनुसार गोरुगाडाका केही सामग्रीसमेत हवाईजहाजबाटै पोखरा ल्याइएको थियो। सामान ढुवानी गरेबापत पोखरा व्यापार संघले प्रत्येक पोका वा बोरामा सेवा शुल्क लिने गर्थ्यो। यही शुल्क संघको मुख्य आम्दानीको स्रोत बनेको थियो, जसबाट विद्यालय, कलेज तथा बालमन्दिर सञ्चालनमा समेत सहयोग पुग्थ्यो। यो शुल्क संकलनको परम्परा २०५० सालसम्म कायम रह्यो।

तर समयसँगै प्रविधिको विकास भयो। २०३३/३४ सालतिर पावर टिलर पोखरा भित्रिएपछि गोरुगाडा विस्तारै विस्थापित भयो। आज गोरुगाडा पोखराको इतिहास बनेको छ, तर एक समय यही साधनले विमानस्थलबाट आएका सामान बोकेर शहरको व्यापारिक गतिविधिलाई चलायमान बनाएको थियो।


(तस्बिर: सुनिल उलक)