अन्नपूर्ण आधार शिविरमा दोस्रो अन्नपूर्ण हर्जोग दौड सम्पन्न, रमेश लिम्बु र सुनशरी रोकाले जिते उपाधि

-


     पोखरा क्लिक     
     जेठ २० गते २०८३ मा प्रकाशित


पोखरा,

अन्नपूर्ण आधार शिविर म्याग्दी खण्ड तर्फ बुधबार दोस्रो अन्नपूर्ण हर्जोग दौड सम्पन्न भएको छ। पुरुषतर्फ ताप्लेजुङका रमेश लिम्बु र महिलातर्फ डोल्पाकी सुनशरी रोक्काले विजयी भएको गण्डकी एथ्लेटिक्स संघका महासचिव मनबहादुर थापाले बताए ।

फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले अन्नपूर्ण हिमाल सफल आरोहण गरेको ७६ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको प्रतियोगितामा रमेशले २ घण्टा १४ मिनेटमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे। महिलातर्फ सुनशरीले २ घण्टा ४७ मिनेट १६ सेकेन्डमा दौड समाप्त गरी उपाधि जितिन्। दुवैले समान १ लाख २५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। पुरुषतर्फ काठमाडौंका मनकुमार रोक्का २ घण्टा १६ मिनेट ११ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए भने सोलुखुम्बुका अर्जुन कुलुङ राई २ घण्टा २३ मिनेट ८ सेकेन्डमा तेस्रो भए। क्रमशः ७५ हजार र ४५ हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरियो। महिलातर्फ पाँचथरकी पुष्पा श्रेष्ठ २ घण्टा ५२ मिनेट ७ सेकेन्डमा दोस्रो स्थानमा रहिन् भने खोटाङकी निर्मला राई ३ घण्टा ५३ मिनेट ३० सेकेन्डमा तेस्रो भइन्।

पुरुषतर्फ चौथोदेखि छैटौँ स्थान क्रमशः सोलुखुम्बुका लोकेन्द्र राई, रामेछापका होमलाल श्रेष्ठ र तनहुँका सनम गुरुङले हासिल गरे। महिलातर्फ चौथोदेखि छैटौँ स्थान जुम्लाकी सनदेवा बुढा, रोल्पाकी आश्मा विक र जुम्लाकी मिमु बुढाले पाइन। यस समूहका खेलाडीहरूले जनही १२ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगिता अन्नपूर्ण गाउँपालिका–४, नार्च्याङस्थित अन्नपूर्ण युवा क्लबको आयोजनामा सम्पन्न भएको थियो। प्रत्येक वर्ष फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको ऐतिहासिक योगदानको सम्मानमा आयोजना हुँदै आएको दौड यस वर्ष “अन्नपूर्ण ७६स् साहसको इतिहास, दिगो भविष्यको आह्वान” भन्ने नारासहित सम्पन्न भएको थियो। प्रतियोगितामा ६० भन्दा बढी खेलाडी सहभागी भए। आयोजकहरूले स्थानीय लोकसांस्कृतिक कार्यक्रम र खानाका परिकारमार्फत खेलाडी तथा पाहुनाहरुलाई स्वागत गरेका थिए।

अन्नपूर्ण पर्यटन महोत्सव समिति र अन्नपूर्ण गाउँपालिका–४ नार्च्याङको आयोजनामा हुने आगामी अन्नपूर्ण डे माराथन प्रतियोगिता जेठ २० गते ३८ किलोमिटर दौडको रूपमा सञ्चालन हुने तयारी गरिएको छ। दौड पञ्चकुण्ड तालबाट सुरु भई नारच्याङ गाउँमा टुंगिनेछ। समुद्री सतहदेखि करिब ४,१०० मिटर उचाइमा रहेको आधार शिविरबाट सुरु हुने दौड मौरिस हेर्जोग पदमार्ग हुँदै सञ्चालन हुनेछ। प्रतियोगिता संयोजक लोकबहादुर फगामीका अनुसार, “अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्षे ऐतिहासिक सन्दर्भलाई खेल पर्यटनसँग जोड्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको हो। यसले म्याग्दीको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।” सचिव तेजबहादुर गुरुङले पनि प्रतियोगितालाई केवल खेलकुदमा सीमित नराखी, पर्यटन, संस्कृति र स्थानीय पहिचानसँग जोडिएको विशेष उत्सवको रूपमा मनाउन लागिएको बताए। “अन्नपूर्ण क्षेत्रको प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र स्थानीय संस्कृतिलाई विश्वसामु चिनाउने हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो। हरेक वर्ष जस्तोसुकै रुपमा, मौरिस हर्जोग नेतृत्वको टोलीले विसं २००७ जेठ २० गते अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण गरेको दिनको सम्झनामा अन्नपूर्ण डे मनाइँदै आएको छ। पछिल्ला वर्षमा यस क्षेत्रको खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अन्नपूर्ण रेस महोत्सवको मुख्य आकर्षणको रूपमा अघि बढाइएको छ।