छैटौं अन्नपूर्ण म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवर र महिला तर्फ मञ्जु रावतलाई

-


     पोखरा क्लिक     
     जेठ २० गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २० जेठ,

साहसिक खेलकुद र हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित कास्कीको घान्द्रुकमा आयोजित छैटौं संस्करणको अन्नपूर्ण म्याराथन–२०८३ मा जुम्लाका धावक दलबहादुर कुँवर र धाविका मञ्जु रावत च्याम्पियन बन्न सफल हुनु भएको छ । पुरुषतर्फ जुम्लाका दलबहादुर कुँवरले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नुभयो । पाँचौं संस्करणमा तेस्रो स्थान हासिल गर्नु भएको यसपाली निर्धारित दूरी ४ घण्टा ४ मिनेट ११ सेकेण्डमा पूरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नुभयो । ४ घण्टा १० मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गरेका नेपाली सेनाका तिलकबहादुर सुनुवार उपविजेता हुनु भयो । उहाँले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नु भयो ।

त्यसैगरी स्थानिय धावक सचिन गुरुङ तेस्रो, सोमिन गुरुङ चौथो तथा राजन सिर्पाली पाँचौं स्थानमा आउन सफल हुनु भयो । त्यस्तै महिलातर्फ पनि जुम्लाका धाविकाहरूको वचश्र्वो रह्यो । मञ्जु रावतले ६ घण्टा १४ मिनेट १९ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि हात पार्नुभयो । उहाँले पनि नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नुभयो । राज्यलक्ष्मी रावल उपविजेता हुदै एक लाख प्राप्त गर्नु भयो भने कल्पना बुढा तेस्रो स्थानमा रहनुभयो । महिलातर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने तीनै जना धाविका जुम्लाकै हुनुहुन्छ । प्रतियोगिताका विजेता खेलाडीहरूलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी ले पुरस्कार वितरण गर्नुभएको थियो ।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वकै पहिलो ८ हजार मिटरभन्दा अग्लो हिमाल चढेको ऐतिहासिक दिनको ७६औँ वर्षगाँठको अवसरमा अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले प्रतियोगिता आयोजना गरेको हो । नेपालकै चर्चित अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म सञ्चालन भएको ४२.१९५ किलोमिटर दूरीको म्याराथनमा ८ विदेशीसहित ५१ जना धावकको सहभागिता रहेको अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष तथा म्याराथन संयोजक ललित गुरुङले पोखराक्लिकलाई जनाउनु भयो । स्थानीय धावकदेखि विभागीय टोलीका खेलाडीसम्मको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको उहाँले बताउनुभयो ।

समुद्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु भएको म्याराथन माछापुच्छ्रे आधार शिविर, देउराली, दोभान, बम्बो, सिनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, मेलाँचे, किम्रोङखोला हुँदै घान्द्रुकस्थित मेश्रोम वराह माध्यमिक विद्यालयको खेल मैदानमा पुगेर सम्पन्न भएको प्रसार संयोजक टंकराज अधिकारीले बताउनु भयो । हिमाली भूगोल, कठिन पदमार्ग र अनुपम प्राकृतिक सौन्दर्यका कारण अन्नपूर्ण म्याराथन नेपालकै चुनौतीपूर्ण तथा आकर्षक साहसिक दौड प्रतियोगितामध्ये एक मानिन्छ । प्रतियोगिताले साहसिक पर्यटनसँगै अन्नपूर्ण क्षेत्रको अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकको विश्वास छ ।

समापन समारोहलाई सम्बोधन गर्दै संयोजक ललित गुरुङले अन्नपूर्ण म्याराथनलाई भविष्यमा अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । प्रतियोगिताको प्राविधिक व्यवस्थापन हिमालयन एक्स्ट्रीले गरेको थियो । प्रतियोगिता सञ्चालनका लागि करिब ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ‘सबै मौसमका लागि पर्यटन’ भन्ने नारासहित आयोजित अन्नपूर्ण म्याराथनले साहसिक खेलकुद र हिमाली पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसीले बताउनु भयो । अन्नपूर्ण गाउँपालिकामा शहिद पार्क निर्माण गर्ने बताउदै उहाँले घान्द्रुक क्षेत्र सहित अन्नपूर्ण गाउँपालिकामा पर्यटकहरुको बसाई अवधि लम्बाउने योजना बनाउन लागेकोे जनाउनु भयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले अन्नपूर्ण दिवसको अवसरमा कास्की सहित म्याग्दी, लमजुङ लगायतका जिल्लामा अन्नपूर्ण दिवसमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको बताउनु भयो । खेलको माध्यमबाट यस क्षेत्रमा खेल पर्यटनको प्रबद्र्धन भई रहेको उल्लेख गर्दै आगामी बर्ष अझ धेरै विदेशी सहितका धावकहरु सहभागि गराउन आयोजकलाई सुझाव दिनुभयो ।