
दीननाथ बराल,
पोखरा, १७ जेठ,
लगातार चार दिनको सार्वजनिक बिदाले पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ । विहिबार बकर ईद, शुक्रबार गणतन्त्र दिवस तथा शनिबार–आइतबारको सार्वजनिक बिदाका कारण विगत तीन दिनदेखि पोखराका पर्यटकीय स्तरका होटलहरू भरिभराउ भएको व्यवसायीहरुले बताउनु भयो ।
पोखरामा हाल होटल अकुपेन्सि करिब ९० प्रतिशत पुगेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । जेठ १४ गते बकर ईदको सार्वजनिक बिदा, जेठ १५ गते गणतन्त्र दिवस तथा त्यसलगत्तै शनिबार र आइतबार गरी लगातार चार दिनको बिदाले पोखरामा आन्तरिक पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको उहाँले जनाउनु भयो । अध्यक्ष सुवेदीका अनुसार हाल पोखरामा करिब ४५ प्रतिशत आन्तरिक, ३५ प्रतिशत भारतीय तथा २० प्रतिशत तेस्रो मुलुकका पर्यटक रहेका छन्।
“लगातारको बिदाले घुमघामका लागि पोखरा रोज्नेको संख्या बढेको छ । विशेषगरी लेकसाइड क्षेत्रका अधिकांश होटलहरू लगभग भरिएका छन्,” अध्यक्ष सुवेदीले भन्नुभयो । होटल संघ पोखरा नेपालमा आबद्ध करिब ४ सय होटल रहेका छन्। पोखरा क्षेत्रमा करिब ४० हजार शय्या क्षमता रहेको र पूर्ण अकुपेन्सि हुँदा एकै रातमा ४० देखि ५० हजार पर्यटकलाई व्यवस्थापन गर्न सकिने संघको दाबी छ ।
लेकसाइड केन्द्रित होटलहरू मात्र नभई पोखरा आसपासका विभिन्न डाँडाकाँडा क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा होमस्टेहरूमा समेत पर्यटकको उल्लेख्य चहलपहल देखिएको छ । सराङकोट, धम्पुस, अस्ती, पुम्दीकोट, कास्कीकोट लगायतका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको भीड बढेको व्यवसायीहरूले बताएका छन् । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिन सुरु गरेसँगै शनिबार र आइतबार लगातार दुई दिनको बिदाले पर्यटन व्यवसायीहरू थप उत्साहित बनेका छन्। बिदाको अवसर पारेर परिवार, साथीभाइ तथा विभिन्न संघसंस्थाका समूहहरू घुमघामका लागि पोखरा आउने क्रम बढेको छ ।
पोखरा बैदामस्थित होटल व्यवसायी शिवराज पहारीका अनुसार पछिल्ला तीन–चार दिनयता पोखरामा होटलका कोठा पाउन नै मुस्किल हुने अवस्था सिर्जना भएको छ । “लगातारको सार्वजनिक बिदाले सरकारी कर्मचारी, विभिन्न संघसंस्थाका पदाधिकारी तथा परिवारसहित घुम्न निस्कनेहरूको संख्या बढेको छ । त्यसैले पोखरामा शनिबार र आइतबार अझ बढी चहलपहल देखिएको छ,” उहाँले भन्नुभयो । पर्यटन व्यवसायीहरूका अनुसार लगातारको बिदाले पोखराको पर्यटन क्षेत्रलाई चलायमान बनाउनुका साथै होटल, रेष्टुरेन्ट, यातायात, मनोरञ्जन तथा अन्य पर्यटनसँग सम्बन्धित व्यवसायमा समेत सकारात्मक प्रभाव परेको छ ।
नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले सरकारी दुई दिन विदाका कारण पोखरा सहित देशका पर्यटकीय गन्तव्यम पर्यटकहरुको चहल पहल बढ्न थालेको बताउनु भयो । माग र आपुर्तिको सिद्धान्त अनुसार विकेण्डमा भन्दा अन्य दिनमा होटल आवासमा केही सहुलियत गराउन सके सार्वजनिक बिधामा धेरै पर्यटकहरु एकै पटक घुमघाममा निस्कने क्रम केही घट्ने र अन्य दिनमा पनि पर्यटक चहल पहल कायम हुने उहाँको भनाई छ । सरकारले पेट्रोलिय पदार्थ कम खपत गर्ने उद्धेश्यले आइतबार सार्वजनिक बिदा दिए पनि पेट्रोलिय पदार्थको मुल्यमा भारी बृद्धि भए पनि घुमघाम गर्नेहरुको सङख्यामा खासै कमी नआएको लामिछानेले जनाउनु भयो । पहिला देश त्यस पछि परदेश भन्ने नाराका साथ कोभिड पछि सुरु भएको अभियान हाल देशमा लागु भएको प्रमुख लामिछानेले बताउनु भयो । देशमा हाल घुमघाममा निस्कने प्रचलन बढेको उहाँले जनाउनु भयो ।





