
लेखनाथ, १६ जेठ,
लेखनाथ उद्योग वाणिज्य संघले लमजुङ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई शुक्रबार एक कार्यक्रमका विच स्वागत गरेको छ । संघमा शुक्रबार आयोजित कार्यक्रममा संघका पदाधिकारीहरु एवं सदस्यहरुको टोलीलाई स्वागत गर्दै अध्यक्ष जानुका पराजुली अधिकारीले संस्था व्यक्तिको हैन विधिको आधारमा सञ्चालन हुनुपर्नेमा जोड नेतृत्वको दासताको आधारमा संञ्चालन हुन नहुने सुझाव दिंदै सदैव व्यवसायिहरुको हितमा कार्य गर्न संघ सफल हुने विश्वास व्यक्त गरेकी थिईन ।
कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठले यो आफुहरुको पहिलो अध्ययन अवलोकन भ्रमण भएको वताउँदै यो भ्रमण पनि नेपालकै उत्कृष्ट वाणिज्य संघको रुपमा स्थापित भएको लेखनाथ उद्योग वाणिज्य संघमा गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।श्रेष्ठले महोत्सवको पनि महोत्सवको रुपमा परिचय बनाउन सफल भएको लेखनाथ महोत्सव देशकै नमुना महोत्सव भएको र जिल्लाको आर्थिक चलायमान गराउन र पर्यटन क्षेत्रमा टेवा पुर्याउन सफल भएकोमा प्रशंसा व्यक्त गरेका थिए ।
अध्यक्ष श्रेष्ठले लमजुङ उद्योग वाणिज्य संघका विषयमा जानकारी गराउँदै २०३२ सालमा स्थापना भई ३ हजार २ सय सम्म सदस्य रहेको संघमा हाल नविकरण भएका ७ सय ५० सदस्य मात्र रहेको वताए । व्यवसायीहरुका लागि अहिलेको विषम परिस्थीती र गिरेको मनोबलका कारण यस्तो अवस्था आएको उनको भनाई थियो । उनले १० वटा बजार एकाई रहेको संघमा १ ईकाई थप गर्ने योजना रहेको पनि वताएका थिए ।भ्रमण टोलीमा रहेका मकवानपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवं एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदीय कृष्ण कटुवालले जिल्ला÷नगर उद्योग वाणिज्य संघ, प्रदेश केन्द्र जुन ठाउँमा रहे पनि देशमा कति उद्योगधन्दा स्थापना भए, कति व्यवसाय फस्टाए, कति व्यवसायीहरु लाभान्वित भए भन्ने कुराले नै व्यवसायीक संघ संस्थाको सफलतालाई मापन गर्ने वताएका थिए ।
उनले सदस्य संख्या वृद्धि गर्नमा मात्रै ध्यान दिनुभन्दा पनि गुणस्तरीय सदस्यहरुको संख्या कायम राख्नमा ध्यान दिनुपर्ने वताउँदै महासंघमा पनि विभिन्न खालका वेथितिहरु रहेको वताउँदै त्यसका विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । उक्त अवसरमा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले नेपाल उद्योग वाणिज्य संघको हालै सम्पन्न ६० औं निर्वाचनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित मकवानपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण कटुवाललाई बधाईपत्रका साथ वधाई ज्ञापन गरेकी थिईन ।
यस्तै लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठले नेपाल उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्य पदमा निर्वाचित संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय, केन्द्रीय सदस्य पदमा निर्वाचित मकवानपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण कटुवाललाई र गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित संघका पूर्व बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।






