पाँचौँ संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलका खेलहरु हुने

-


     पोखरा क्लिक     
     जेठ १५ गते २०८३ मा प्रकाशित


पोखरा, १५ जेठ,

पोखरामा जारी पाँचौँ संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता अन्र्तगत शनिबार दुई वटा सेमिफाइनल खेलहरु हुने भएका छन् । शनिबार बिहान ८ः०० बजे पहिलो सेमिफाइनल खेलमा एल.पी. देवकोटा मेमोरियल स्कुल र ढुङ्गेसाँघु बोर्डिङ स्कुल बिच प्रतिष्प्रर्धा हुने भएको हो ।

दोस्रो खेल बिहान ९ः३० बजे बालोदय बोर्डिङ स्कुल र स्पाइरल ग्लेक्सी स्कुल बीच हुने भएको म्याच कमिस्नर गोपाल थापाले बताउनु भयो । आइतबार हुने फाइनल खेलसंगै प्रतियोगिता समापन हुनेछ । आज (शुक्रबार) सम्पन्न क्वार्टर फाइनल खेलमा जित हासिल गरेका ३ वटा बिद्यालय एल.पी.देवकोटा मेमोरियल स्कुल, ढुङ्गेसाँघु बोर्डिङ स्कुल र बालोदय बोर्डिङ स्कुल सेमिफाइनलमा यात्रा बनाएका हुन । शुक्रबारको खेलमा एल.पी. देवकोटा मेमोरियल स्कुलले शिशु निकेतन स्कुललाई टाईब्रेकरमा ५—४ को गोल अन्तरले पराजित गर्यो । २५÷२५ मिनेटको निर्धारित समयमा दुबै तर्फ एक÷एक गोल भए पछि खेल टाईब्रेकरमा पुगेको हो । खेलमा एल.पी. देवकोटाका मिलन थारु म्यान अफ द म्याच घोषित हुनु भयो । अर्को खेलमा ढुङ्गेसाँघु बोर्डिङ स्कुलले शान्ति निकुञ्ज बोर्डिङ स्कुललाई ३—० को गोल अन्तरले पराजित गरी अन्तिम चारमा स्थान बनाएको हो । खेलमा ढुङ्गेसाँघु बोर्डिङ स्कुलका सुबास बि. के.म्यान अफ द म्याच घोषित हुनु भयो । शुक्रबारको अन्तिम खेलमा बालोदय बोर्डिङ स्कुलले जानकी माविलाई २—० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएको हो । खेलमा बालोदयका विकलेस बुड थापा म्यान अफ द म्याच घोषित हुनु भयो ।

हिमालयन बोर्डिङ स्कुल गत वर्षको उपाधि हो । चौथो संस्करणको फाइनलमा हिमालयनले एल.पी. देवकोटा मेमोरियल स्कुललाई २–० गोल अन्तरले हराउँदै विजेता बनेको थियो । स्पाइरल ग्लेक्सी स्कुलले गत वर्षको विजेता हिमालयन बोर्डिङ स्कुललाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । ड्यामसाइड क्लबका अध्यक्ष रमेश प्रसाद बरालले विद्यालयस्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्दै पोखराको फुटबल संस्कृतिलाई थप मजबुत बनाउन प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो । प्रतियोगितामा वडा नम्बर १७ भित्रका १९ सामुदायिक तथा निजी विद्यालयको सहभागिता रहेको छ । छ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १० हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्ने टोलीले ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक तथा उत्कृष्ट प्रशिक्षकलाई विशेष पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक विकास रानाभाटले जानकारी दिनुभयो ।