पोखरामा बीमा सचेतना र्‍याली सहित विविध कार्यक्रम आयोजना

-


     पोखरा क्लिक     
     जेठ १ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १ जेठ,

नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा पोखरामा बीमा सचेतना र्‍याली, बृहत रक्तदान कार्यक्रम तथा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। “बीमा गरौँ, सुरक्षित बनौँ” भन्ने मूल नारासहित आयोजित कार्यक्रमले बीमा क्षेत्रप्रति सर्वसाधारणमा जागरण फैलाउनुका साथै सामाजिक उत्तरदायित्वलाई समेत जोड दिएको आयोजकले जनाएको छ।

पोखरामा आज विहान प्रभातफेरी आयोजना गरिएको थियो । मानवअधिकार चोकबाट सुरु भएको प्रभातफेरी चिप्लेढुंगा, महेन्द्रपुल, अन्तर्राष्ट्रिय झण्डा पार्क, रानीपौवा, अस्पताल चोक हुँदै नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय परिसरमा पुगेर समापन भएको थियो। कार्यक्रममा बीमा कम्पनीका प्रतिनिधि, अभिकर्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो । बीमा सचेतना अभिवृद्धि गर्नुका साथै बीमा कम्पनी, अभिकर्ता र सरोकारवालाबीच भाइचाराको सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रले बताउनुभयो । उहाँले बीमा क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

यसै अवसरमा विहिबार आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रममा ९२ युनिट रगत संकलन भएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले मानव जीवनमा रगतको महत्वको बिषयमा चर्चा गर्नु भएको थियो । काक्रममा निसा कास्की च्याप्टरका संयोजक बुद्धिराज अधिकारी, निम्स पोखरा च्याप्टरका अध्यक्ष छबिलाल पौडेल लगायतले बीमा क्षेत्रको विकास, सामाजिक सहकार्य र मानवीय सेवाको महत्वबारे धारणा राख्नुभएको थियो । नेपाल बीमा प्राधिकरणले आफ्नो वार्षिकोत्सवलाई केवल औपचारिक उत्सवका रूपमा नभई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाइएको जनाएको छ।